
लघुकथा
किताब
रुपा रिसाल
हेर भाई मलाई त गीता पाठ गर्दै विहान पूजा गर्नाले मलाई धेरै उर्जा मिल्छ । भगवत कृपाले नै यो हाम्रो जीवन सफल भएको छ । पठन कार्यले नै मेरो दैनिकीको चर्या चलेको छ यसले हामीलाई धेरै राम्रो प्रभाव पारेको छ । अहिलेको संचारमाध्यम र सूचना प्रविधिको जवानामा पनि आँखालाई सेक्न ती अक्षरका लामा मालाहरुमा नै मन जाने हुँदा मलाई किताबका पाना पल्टाउन नै रमाइलो लाग्छ । पठन संस्कृतिले नै विद्वान बनाउँछ पनि । मेरो छोराछोरी पनि किताब पढ्न खुब मन पराउँछन्।
कुनै राम्रा बिषयहरु त म बिहान मोबाइलमा पनि पढ्छु, बिषयको जानकारी र ज्ञान विना लेख्न पनि त गाह्रो हुन्छ नै । अफिसका कार्यहरुको व्यस्थताका बाबजुद दिउँसो लेखन कार्य गर्न पाए त झनै जाती लाग्छ । राती सुत्ने बेलामा ओछ्यानमा पल्टेर पनि निदाउनु अघि हालैसालै बजारमा निस्केका र नव साहित्यकार तथा लेखकहरुका रोजाईका किताब पढ्न रुचाउँछु ।
कहिलेकाहीं कफी सपमा गएको बेला पनि म झोलाबाट किताब निकाले पढिरहँदा अर्कै छुट्टै कफिको स्वाद पाइन्छ । हाते झोलामा किताब र साहित्यिक पत्रिका प्रायः सधैं हुन्छ अनि गाडीमा जाँदा र अन्य अपबादमा बाहेक नियमित रुपमा पढ्दा नै शान्तिको सास फेर्नु जस्तै लाग्छ ।
यति कुरा सकिन नपाउँदै छोरो केटो कलेजबाट घरभित्र पस्यो । गह्रौं होला लेऊ तिम्रो झोला लेउ समाइदिन्छु भने । तपाईले बोक्न सक्नु हुन्न भनेर हामी बसेको नजिकै सोफामा व्याग फालेर कोठामा गयो । झोलाबाट चिप्स र कुर्ककुरे खाँदै ल्यापटप झिकेर गेम खेल्न थाल्यो ।
अनि होमवर्क गर्नु पर्दैन बाबु भनी सोध्दा, यति धेरै किताब १२ वटा छन्, राम्ररी सरले पढाउनु नै हुँदैन आफैं यूटुबमा हेरेर पढ अनि होमवर्क गर भन्नु हुन्छ । हैन यति किताब बोकेर अनि धेरै पढेर को ठूलो मान्छे हुन्छ र । अनि अहिले दनदनी आगोको भुङ्गोमा दन्केको काठमाडौंमा को नै बस्छ र । म त अष्ट्रेलिया जाने हो उसले भन्यो ।







