
यात्रा संस्मरण
दोश्रो मिथिला मिसन
विजयभक्त श्रेष्ठ
“यात्रामा मन मिलेकाहरु जोडिदै जान्छन् , नमिलेकाहरु छोडिदै जान्छन्” यात्राकै क्रममा सवारी साधनमा कुँदिएको देखेको थिएँ । पढेर धेरै बेर मनन गरें । वाह क्या गजवको लाइन ।
मेरो पहिलो मिथिला मिसन अन्तर्गत “बौद्धिकता शैक्षिक र कला : मिथिला शैक्षिक सिकाइ मेला” को नारा रहेको मिथिला शैक्षिक सिकाइ मेला पार्वती अमरावती तेतरावती मा.वि, तारापट्टी धनुषामा २०८० साल माघ ५ गतेका दिन आयोजना गरिदा आगन्तुक सहभागीका रुपमा पुगेको थिएँ ।
धनुषाको मिथिलेश्वर मौहवा मा.वि.मा टिच फर नेपालको फेलो भएर अंग्रेजी विषयको शिक्षिकाको भुमिकामा २ वर्ष अनुभव संगालेकी छोरीलाई मैले नेपाल बार एशोसिएसनले मानवअधिकार राष्टिय गोष्ठी र कार्यकारिणी परिषद्को बैठक मिति २०८२।०८।२४ र २५ गते जनकपुरमा आयोजना गरिदैछ म पनि जानेछु भनि जानकारी गराएको थिएँ ।
‘तपाई अवश्य पनि मैले पढाएको स्कुलमा पनि जानुहोस है ।’
छोरीको चाह थियो आफुले अध्यापन गरेको विद्यालयमा बाउ जाओस ।
मैले छोरीलाई भनें –‘अवश्य जान्छु छोरी’ ।
छोरीले मिथिलेश्वरमा अवस्थित कल्चरल भिलेज रिसोर्टमा बस्नु राम्रो छ,त्यहाँ देवनारायण सरलाई फोन गरेर रुम बुक गरिराख्नु पनि भनिन् । मैले फोन पनि गरें । वहाँले स्वागत छ भन्नुभयो । यो वातचित भएको दुईहप्ता पश्चात मंसिर २३ गते हामी जनकपुरका लागि निस्क्यौं ।
कहिँ कतै कार्यक्रम हुँदा को को जाने ? कसरी जाने ? के मा जाने ? कति दिन हुने हो ? आदि इत्यादि प्रश्न र जिज्ञासाहरु रुमल्लिन्छन् । त्यस्तै भयो । काभ्रे बारका साथीहरुको मेसेञ्जर ग्रुपमा छलफल पनि चलाइयो । अध्यक्ष हरिशरण दाहाल, उपाध्यक्ष निरोज प्रसाद नेपाल, सदस्य महेन्द्र तामाङ, सदस्य दिपेन्द्र दनुवार, पार्षद रामप्रसाद मानन्धर, पेशागत प्रगतिशिल कानुन व्यवसायी समुह काभ्रेका अध्यक्ष मधुसुदन वाग्ले र म समेत सातजनाको टोली जाने भयो ।
स्कार्पियो गाडीमा दिनको दुईबजे धुलिखेलबाट छुट्यौं । सोहि दिन अदालतमा केहि काम भएका साथीहरु विहानदेखि केहि नखाई काम सकेर हतारहतार गरि गाडी चढ्नासाथ भोक लागेको छ खाजा खाएर जानुपर्छ है भनिहाल्नु भयो । हामीले पात्लेखेतस्थित नारायण लामाको खाजाघर रोज्यौं । होमस्टे सम्वन्धमा राम्रो जानिफकार नारायण लामा सर पश्चिमतिर होमस्टे सम्वन्धी तालिम सकाएर भरखर मात्र घर आउनुभएको फेसबुक मार्फत थाहा पाएको थिएँ । वहाँको खाजाघरमा पुग्नासाथ वहाँलाई कल गरें । वहाँ त धुलिखेलतिर पो लाग्नु भएको रहेछ । वहाँकी धर्मपत्नीले मीठो खाजा पस्कनुभयो । थपीथपी खायौं । सोमरस लिने साथीहरुले हल्का सोमरस पनि लिनुभयो । म पनि पिउँथे एकदशक अघिसम्म । नपिएको धेरै भयो । पिउन मन नि लाग्दैन ।
पात्लेखेतबाट मनोरम हिमालमा अस्ताउन लागेको सूर्यको पहेलो किरणले बनाएको सुनको पहाड मनमोहक देखिदै थियो । तर गाडीको हुँइक्याइले सुनको पहाड छोपियो। समथर भकुण्डेबेसी बजार हुँदै जादैगर्दा नौविसेस्थित श्रेष्ठ थकाली खाजाघरमा सानो भेटघाट गर्नुपरेकोले गाडी रोकियो । चिसोचिसो मौसममा तातोपानीको स्वागतले दिलखुश भैहाल्यो ।त्यहाँकी साहुनीले के खानुहुन्छ भनि हार्दिकता देखाउँनु भयो । हामीले भरखर खाजा खाएर आएको पर्सी जनकपुरबाट फर्कदा तपाईकोमा खाजा खाउँला भनि निस्कियौं ।
हिउँदको दिन छोटो छ । साँझ परेको पत्तै भएन । बत्ति बाल्दै रोशीको वगरमा गाडीले हल्लाउनु हल्लायो ।पिउनेलाइ पनि र नपिउनेलाई पनि । गाउँदै रमाउँदै साथीले साथीलाई समाउँदै अँध्यारोलाई छिचोल्दै नेपालथोकमा पाण्डे खाजाघरमा केहिबेर विश्राम गर्ने सल्लाह भयो ।
भकुण्डे चौकिडाँडादेखि नेपालथोकसम्मको बाटो पोहोरको बाढीले विगारेको हो । फेरि यसपाली पनि थप विग्रीयो । बाटो बन्ने तथा बनाउने र विग्रने क्रम निरन्तर चलि नै रहन्छ यहाँ । काभ्रे र सिन्धुली जोड्ने बाटो मात्र होइन यो त नेपालको पुर्वीभागलाई राजधानी जोड्ने द्रुतमार्ग पनि हो। राजनीतिज्ञ वी.पी.कोइरालाको जन्मस्थल दुम्जा भएर जाने पथ वी.पी.ले सत्रसालमा शिलान्यास गर्नुभएकाले यो मार्गको नाम वहाँकै नाममा राखिएको हो । जापान सरकारको सहयोगमा निर्मित यो हाइवे बहुआयामिक छ ।
साँझको सात नाघिसकेको थियो । नेपालथोकमा केहिथोक त खाएरै जाउँ भन्ने सल्लाह भयो । बास बस्न बर्दिवास पुग्दा निकै अवेर हुने अनुमान गरियो । तातो र झोलिलो खाएर होटल यस बर्दिवासमा फोन गरेर भरखर नेपालथोकबाट हिडेको जानकारी गराईयो । बाटोमा पर्ने शित्खा बजार, मुलकोट बजार र खुर्कोट बजार झलमल देखिन्थ्यो ।
खन्याखर्कमा भने रोकियौं रसिलो जुनार र सुन्तलाको बजार देखेर । चिसो भएपनि सुन्तला र जुनार चाख्यौं । गढीको सेल्फीडाँडामा कोही भेटेनौं रात भएकोले, उज्यालोमा त यहाँ भाइरल हुने सोचका साथ जो कोही पनि अनेकानेक पोजमा कलाकार झै हाउभाउ गरिरहेका भेटिन्छन् । निन्द्रामा रहेको सिन्धुली बजारलाई शुभरात्री भन्दै कमलामाईलाई दुरदर्शन गरेर भीमान बजार छिचोल्दै गौरीडाँडा स्थित होटलमा पुग्दा रातको १०ः३० बजेको थियो । उक्त होटल बर्दिवासका मित्र महेश पौडेलले सिफारीस गर्नुभएको थियो ।
केहिबेर बर्दिवासमा गएर रमाइलो भेटघाट हुने दोहोरी वा त्यस्तै नाचगान हुने स्थलहरु छन् कि भनि होटल यसका मित्रलाई सोध्दा डिस्को क्लव रहेको जानकारी गराउनु भयो । डिस्को क्लवका मान्छे हामीलाई लिन पनि आउनुभयो । हामी क्लवमा पुग्नासाथ बस्नै नसकी फर्किहाल्यौं । डिस्को भन्दा नि त्यो त नशामा झुमेर धुँवा उडाउँदै हल्लिने ढिस्को जस्तोमात्र थियो । फर्कि आई खानाखाइवरी गुडनाइट भन्दै कोठामा थुनियौं ।
२४ गते विहान छिटै उठी जनकपुरमा हुने प्रभातफेरी कार्यक्रममा सहभागी हुने हिसावले वकिलको ड्रेसकोड पहिरेर स्कार्पियोमा सवार भयौं ।
ढल्केवरदेखि जनकपुरको बाटो त झनै त विशाल चौडाको रहेकोले गति द्रुत हुने नै भयो । नेपाल बारले तोकेको स्थानमा निर्धारित समयमा हामी पुग्यौं । धेरै वकिल मित्रहरु पुगिसक्नु भएको रहेछ । फोटोहरु खिच्दै प्रभातफेरीमा हिड्दै गयौं । नेपाल बारले आफ्नो सम्मेलन तथा यस्ता गोष्ठी, पार्षद बैठकहरु आयोजना गर्दा प्रभातफेरी कार्यक्रम राख्ने गरेको छ । अक्सर सहभागीहरुको आन वान शान भनेकै प्रभातफेरीमा सहभागीता हुने गर्छ । रमाइलो पनि त्यही हो । अन्य कार्यक्रमहरुमा त उही आसन ग्रहण र लामो मन्तव्यले वाक्क बनाइहाल्छ । प्रभातफेरी चाहि जति लामो भयो त्यति नै धेरै मजा लाग्ने । जानकी, राम र राजदेवी मन्दिर, गंगासागर परिसर परिक्रमाले प्रभातफेरीलाई तिर्थयात्रा बनाइरहेको थियो ।
परिक्रमा पश्चात महेन्द्रनारायणनिधी साँस्कृतिक केन्द्रमा उद्घाटन सत्र शुरुगर्ने तयारी भयो । नाम दर्ता गर्नेको लाइन, नास्ता गर्नेको लाइन, किताव किन्नेको लाइन र फोटो खिच्न अनेक पोज दिदैगरेका वकिल साथीहरुको चेहराको हर्षित लाइन हेर्न लायक थियो । लाग्छ लाइन नै हाम्रो नियति हो देशमा । तर उद्घाटन सेरमोनी हेरम न भनि हलभित्र पसेपछि कहिले बाहिरिउँ जस्तो लाग्ने । यस्तै हुन्छ पट्यारलाग्दो हुन्छ नेबाएको उद्घाटन कार्यक्रम । धन्न मिथिला कलाकारिताले भरपुर आनन्द दियो । वक्ता र प्रस्तोताका त कमी कमजोरी मात्र देख्ने बानी बसीसक्यो हामीलाई । त्यसमाथि जागरण एकेडेमी र नरोज्जल एकेडेमीबाट सञ्चालित पब्लिक स्पिकिङ सम्वन्धी अनलाइन क्लास के लिएको थिएँ,आफु त धेरै जान्ने छु जस्तो लाग्ने ।
उद्घाटन कार्यक्रम पश्चात् हामी लाग्यौ मिथिला विहारी । कल्चरल भिलेज रिसोर्ट । धनुषगेटबाट ९ कि.मि. भित्र अवस्थित उक्त रिसोर्टमा पुग्नासाथ पुर्नताजगी महसुस भयो । जनकपुरको कोलाहल, धुलो धुँवा र फोहर बिर्साउने खालको रहेछ । नाम चरितार्थ गर्ने खालको रहेछ । १६ विगाहा भन्दा वढी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टमा दुधजन्य पदार्थ, माछा, कुखुरा,अन्न,तरकारी, फलफुल त्यहीँ उत्पादन भएकोले पुग्ने रहेछ अतिथिलाई सत्कार गर्न । हेर्दा सानो गाउँ, झुपडी झै लाग्ने घरभित्र अत्याधुनिक सुविधा सम्पन्न एसी पंखा सहितको बेडरुम, वासरुम, वेसन, टिभी र नेटवर्क सबैसबैको सुविधा । मिथिला थालीसेट सफाचट गरेर साथीहरुलाई रिसोर्टमा छोडेर छोरीले २ वर्ष अध्यापन गराएको विद्यालय गएँ , रिसोर्टकै साइकलमा सवार भई ।
आन्तरिक परिक्षा चलिरहेको रहेछ । तर परिक्षा जस्तो लागिरहेको थिएन मलाई । कक्षाकोठामा होहल्ला थियो । म देखेर केहि शिक्षक र विद्यार्थीहरु अलि शान्त र सतर्क भएको भान भएथ्यो मलाई ।
एकजना शिक्षिकाले ‘तपाईलाई त कहिल्यै देखेको थिएन त भन्नुभयो ।’
‘म शिक्षाबाट होइन । हेडसर भेट्न आएको कहाँ हुनुहुन्छ ?’भनेर सोधें । हेडसरको अफिस पनि अस्तव्यस्त थियो । मैले परिचय दिदै आफ्नो छोरीले २ वर्ष पसिना बगाएको स्कुल भिजिट गर्न आएको सुनाएँ । वहाँ हेडसर हुनुभएको भरखर ६-७ महिनामात्र भएको रहेछ । तराईमा यस्तै हो रे छिटोछिटो हेडसर चेञ्ज भईरहने ।
‘सन्तोष सरलाई सबै थाहा छ वहाँ पुरानो टिचर हुनुहुन्छ ।’ भनेर सन्तोष सर भएको ठाउँ देखाउनुभयो । मलाई सन्तोष सरले चिन्नुभयो । मिथिला शैक्षिकमेलामा भेट भएको थियो । वहाँसंगै रहनुभएका देवनारायण सरले प्रजिना मिस यस्तो उस्तो भनि सकारात्मक वर्णन सुनाउँनुहुँदा मेरा आँखा अनायासै प्रेमरसले भरिएर आए । मैले छोरीलाई कल गरें । सन्तोषसर र देवनारायणसर संग छोरीको कुराकानी भयो ।अनि मलाई छोरीले हर्षित प्रेमभावले मिल्छ भने मेरा बच्चाहरुको फोटो खिचेर पठाउनु ल बिजयवावु भनिन् । मैले खै के बोलें याद भएन । अनि केहिबेरमा सन्तोष सरलाई भनें छोरीले यसो भनेकी थिइन् भनेर ।
जाँच चलिरहेकै थियो । सन्तोष सर र देवनारायण सरले मलाई आउनुस् भनि कक्षाकोठामा लिएर जानुभयो र प्रजिना मिसलाइ मिसगरिरहेका तिमीहरु को को छौ उठ त वहाँको अंकल आउनुभएको छ भनेर भन्नासाथ म म गर्दै उठे विद्यार्थीहरु । मैले भिडियो बनाउने अनुमती मागें । सबैले लव यु प्रजिना मिस, वि मिस यु भनेर हात हल्लाए । मैले धेरै बोल्न चाहेको थिएँ तर सकिनँ । तिमीहरुलाई पनि धेरैधेरै सम्झेको छ तिमीहरुलाई भेट्न आउछु भनेको छ ल धन्यवाद भन्दै कोठाबाट निस्किएँ अनि अर्काे कक्षाकोठामा लगियो मलाई । त्यसैगरि ३-४ कोठामा त्यहि क्रमले निरन्तरता पायो । परिक्षा नभएको भए एकै कोठामा सबै भेटिने थिए । बाहिर सरहरुसंग विद्यालय सरसफाइको बारेमा केहि बोलिरहेको थिए कक्षा ८ कि जानवी मेरो नजिकै आई प्रजिना मिस कहिले आउनुहुन्छ यता भनेर सोधिन् । मैले छोरीलाई कल गरें । जानवी र प्रजिना मिसको वातचित भयो । मैले नि छोरीसँग वातचित गर्न खोजें । तर कल कट भयो ठिकै भयो । हामी बाबा छोरी यस्तै हौं , कहिलेकाँहि बातचित हुँदाहुँदै कल कट गर्नेगरेका छौ हामीले । सरहरुसंगै नास्ता लिएर विदावारी हुँदै छोरी २ वर्ष बसोबास गरेको घर चै कुन कहाँ हो भनि सोधेर त्यो घरसम्म पनि पुगें । घरपेटी बा आमा त भेटभएन वहाँहरुका छोरालाई भेटेँ, तर उनी पनि प्रायः काठमाण्डौमै बस्ने रहेछन । उही घरमा रहेको औषधी पसलमा ग्यासको एक गोली दवाइ किनेर खाएँ । अनि साथीहरुकोमा पुगेर मिथिला मिसन २ अन्तर्गत छोरीले अध्यापन गरेको विद्यालयमा सद्भावमुलक भेटघाट गरिआएको वृतान्त सुनाएँ । राम्रो गर्नुभयो भनेर भन्नुभयो सबै साथीहरुले ।
भिलेज रिसोर्टबाट पुनः सिटीतर्फ लाग्यौं हाम्रै स्कार्पियोमा । राम मन्दिर, जानकी मन्दिर, भुतनाथ बावाको मन्दिर परिक्रमा गर्ने, गंगा आरती पनि दर्शन गर्ने योजना थियो । परिक्रमा सकेर थाकेको चेहराहरुले विश्राम र मसाजको जरुरी ठानेर हामी कंगारु मसाजमा पुग्यौं । पालैपालो सबैले मसाज लियौं । पुरुष महिला दुवैका लागि दुवैले सेवादिने प्रवन्ध रहेछ कंगारुमा । एकघण्टाको एकहजार रुपैया लिने रहेछ । तर एकघण्टा चाहिँ भित्र पसेको समयदेखि गणना हुँदो रहेछ । भित्र पसेर पनि १०-१५ मिनेट कुरेको समयपनि उही एकघण्टामै समाहित हुनेरहेछ । यसर्थ एकघण्टा सम्मै निरन्तर मसाज हुने होइन रहेछ । तथापि निकै आनन्दित र थकान हटी ताजगी महशुस गरेर सिटीबाट पुनः भिलेजतर्फ लाग्यौं । झिलिमिली बत्तिहरु र ठाउँठाउँमा लागिरहेका हटिया मेलाले मिथिला सँस्कृतिको रौनकता प्रदर्शन गरिरहेथ्यो । हेर्दै रम्दै रिसोर्टको सभाकक्षमा पुगि नाच्दै खाँदै पुनः थकित हुँदै सुकला हुन लाग्यौं ।
२५गते विहान छिटै उठ्यौं हामी कोठा नं.३०६मा रहेका गुरुजी,दिपेन्द्रजी र म।३१०नं.मा रहनुभएका मधुसुदन सरलाई कलगरें,कल उठेन । ३०४ मा रहनुभएका निरोज सर र महेन्द्र सरलाई कुनै डिस्टर्व नगरी हामी ३०६ वाला धनुषाधाम लाग्यौं । रामजानकी विवाह सन्दर्भमा रामले भाँचेको धनुको एक टुक्रा स्वर्ग (आकाश) तिर उडेर गएको, एक टुक्रा पताल (जमिन) मा भासिएको र एक टुक्रा नेपाल मत्र्यमन्डलको उक्त स्थानमा उछिट्टिएर पुगेको किंवदन्ति सुनि आएकोमा त्यहाँका पुजारीको मुखारवृन्दबाट पनि त्यही व्यहोरा श्रवण गरियो । हामी उताबाट फर्केर आउँदा हरिशरण सर र रामप्रसाद सर समेत तयार भैसक्नु भएको रहेछ । ३०४ का साथीहरुलाई पनि तयार हुन झक्झकायौं । अव हामी विदावारी भएर जान लागेको । हिसाव गरम भन्यौं । हिसाव किताव मिल्यो । मन मिलेपछि नमिल्ने के नै छ र । खुशीका साथ विदावारी भयौं भिलेजबाट ।
सिटीमा पुनः जानकीमन्दिर दर्शन गरियो । कार्यक्रमस्थल पुग्यौं । कार्यकारिणी परिषद्को बैठकको सहभागिता पुस्तिकामा उपस्थिति जनायौं । अघिल्लोदिन मानवअधिकार गोष्ठिको पुस्तिकामा पनि दस्तखत दच्काएका थियौं । अव हाम्रो दुवैदिनको हाजिरी भइसकेपछि जनकपुर सिटी छोड्ने सल्लाह भयो र हल्ला नगरी सवारीसाधनमा बसि बाटो नाप्न थाल्यौं । उहि जनकपुर ढल्केवरको चौडा सिधा बाटो हुँदै बर्दिबासबाट सिन्धुलीतर्फ बाँगियौं । २३ गते राती बास बसेको होटल यसलाई सि यु लेटर गर्दै गौरिडाँडा काटेर भिमान कमलामाई हुँदै सिन्धुली २ नं. बजारमा रहेको पसल घरको अघिल्तिर गाडि रोकी पालैपालो उत्रियौं । बुवा हाम्रै प्रतिक्षामा हुनुहुन्थ्यो । राम्रै दर्शनभेट भयो । बुवा भनेको बुवा नै हो । वहाँले खानेकुराको प्रवन्ध के कसो छ यतै खाम खुवाम भनि भन्नुभयो । भाई बिमललाई अघि नै फोन गरेको थिएँ । माथि होटल एवन थकालीमा खान्छौं बुवा भनि हामी थकाली भान्साघर पुग्यौं । होटल परिसरमा पुर्व सांसद राजन दाहालसँग वातचित गरिरहेका थिए भाई । हामीले पनि अभिवादन गर्यौं कमरेडलाई ।
जिल्ला कानुनी सहायता समिति सिन्धुलीका विद्वान मित्र अधिवक्ता प्रविण हायु र अधिवक्ता राम तामाङ पनि संयोगवश भेटभयो । हामी उक्त होटलमा रहुञ्जेल प्रविनले मित्रताको अनुपम आतिथ्यता प्रदर्शन गर्नुभयो । मैले जनकपुरमा हामी नि आउदैछौ है मित्र भनेर जिल्ला कानुनी सहायता समिति धनुषाका अधिवक्ता मित्र नवल किशोर लाई फोन गरेथें । जनकपुरमा पुगेर नि कल गरेथें । भेट हुन सकेन । कार्यक्रममा सहभागी हुन आउनुभएका ईलामका मित्र फुलथुंगा बराल, पोखराका कमल पौडेल, भक्तपुरका निर्मला दिदी, ललितपुरका दिपा बहिनी र मकवानपुरका गिता बहिनी पनि भेटिएको थियो । कार्यक्रमको रमाइलो भनेकै साथीहरुसंगको भेटघाट, कुराकानी र एकथान फोटो न हो … सम्झना विर्सना ।
खानाअघि कमरेड दाहालसंग र खानापछि सिन्धुलीका वकिल साथीहरुसंग सामुहिक फोटो क्लिक गरेर सिन्धुलीगढीको उकाली लाग्यौं । गढी दरवार जाने कुरा थिएन । कुरा थियो त कलाघर जाने । जुन कलाघरका चेलीहरुले नेपाली लोक संगित नृत्य नौमती तथा सनही बाजालाई भाईरल बनाई रहेकाछन् । जुन कलाघर मौलिकताले भरिपुर्ण छ । त्यहाँ केहिबेर पसेर बसेर जाने कुरा कुरामै सिमित भयो । अलि उताबाट होला, अलि उताबाट होला भन्दैभन्दै हामी खन्याखर्कमै पुग्यौं जहाँबाट एकएक झोला जुनार सुन्तलाका दाना लिएर जाने सोच पहिल्यै गरेका थियौं । ताजा खुवा पनि लिए साथीहरुले मैले चै लिइन । मैले राजदेवी गौमाताको दुध लिएर जाने डेरीमै दैनिक खुवा घोटिन्छ त्यही भएर लिइन मैले । खन्याखर्कबाट एक डेढकिलो पछिल्तिर गयौं भने गढीको उकालो लाग्ने बाटो र कलाघर जाने बाटो एकै रहेको जानकारी पायौं । पछि फर्केर के जानु , अलि पछि आम, पुरा दिन रम्नेगरि आम भन्ने सल्लाह भएपछि घरतर्फको बाटो नाप्न शुरुभयो फेरी । छिटै घर पुगिने खुशी देखिन्थ्यो सबैको मुहारमा । किन छिटो आएको भनेर हपार्ने पो हुन् कि भनेर हँसिमजाक नि गर्छन् साथीहरु ।
अस्ती अँध्यारोमा गाडीको बत्तिले देखिएका बाटो मात्र हेरेर यात्रा भएको थियो । फर्कदा त झलमल उज्यालो दिनले गर्दा बाटोमात्र होइन भित्तापाखाहरु पनि देखिए । कोसीको वहाव र बगरको दृश्यावलोकन गर्दै बाटोका कथा व्यथा र लुकेको वास्तविकताका सम्वन्धमा आआफ्नो राय धारणा व्यक्त गर्दै गयौं । जे जुन विषयमा कुराकानी गर्दा पनि राजनीति र नेताको फुर्काे लागेर आउने । तर्क वितर्क जे गरे नि हाम्रै मुख अँध्यारो न हो । मिलीजुली भाले खान जानेकाहरु जहिल्यै रातोपिरो हुन्छन् । मिल्नु नराम्रो होइन । राम्रोकोलागि मिल्नु धेरै राम्रो हो । तर नराम्रोका लागि मिलेको देखेर चैं वाक्क हामी । बार,अदालत, केही साथीहरुको पेशागत आचरण र व्यवहार, राजनीतिक दल र नेताका बारेमा, अतितका तीतामीठा संझनाका बारेमा, हासोउठ्दो प्रसंगका बारेमा, सुनेका जोक र मजा लागेका टिकाटिप्पणीहरुका बारेमा च्वास्स चुस्स गर्दागर्दै भकुण्डेस्थित श्रेष्ठ होटलमा उता जाँदा गरिएको वाचा बमोजिम खाजा चिया खायौं ।
भकुण्डेबाट उकाली लाग्दैगर्दा उत्तरका हिमालहरु पनि चिसोले कठ्याँग्रिदै सिरकभित्र गुटमुटीसकेको अनुमान लगाएँ । धुलिखेल बाघचोकबाट शुरुभएको स्कार्पियो यात्रा उही बाघचोकमा उत्रेर टुँग्याइयो । मलाई स्वागत गर्न नवराज भाइ बालेन बाइक लिएर आइसकेको थियो, जसलाई मैले पात्लेखेत आइपुग्दा खवर गरेको थिएँ । सहयोगी मनका राजा हुन् नवराज ढुँगाना भाइ सिन्धुलीको जुनार ५ दाना भाइ खान छोडेर बालेन बाइकमा म सरर लागें घर । झमक्क अध्याँरो साँझमा उज्यालो मन लिएर छिरें राजभवन । गजवको भयो दोश्रो मिथिला मिसन । निरन्तर यात्रामा जोडिने मन छ , छुट्टिने नै हैन ।







