
कविता
अम्बाको रुख
राजीव श्रेष्ठ
यौटा अम्बाको रुख छ
मेरो घरको ठिक पछाडि
बैशाख जेठतिर टम्मै फूल
लाग्छ त्यसको हाँगा अगाडि
सनै सनै चिचिला दाना
फल्न शुरु हुन्छ लटरम्मै
दशैंसम्ममा टिपेर खाईन्छ ती जम्मै
छिमेकका केटाकेटीले झटारो
हानेर सखाप पार्छन ठ्याम्मै
पुष माघको ठिहिर्याउने जाडोमा
नाङो उभिबस्छ त्यो उदाङै
अचम्म लाग्छ
त्यो रुखको रीत देखेर
कुनै मलजलबिना पनि सदाबहार
तर फल लाग्दैन त्यसमा
जब कुनै अनिष्ट हुँदैछ घरमा
अञ्जान, अव्यक्त भएर पनि
ईमान-जमान बक्छ त्यो बोट
एक्लै सहेर वस्छ कैयौं चोट
त्यो वयस्क अम्बाको रुख
मेरालागि अभिमामको रुप हो
घरको स्वाभिमान स्वरुप हो॥





