
विश्व इतिहासको सारांश
राजन राईको कृति । यसमा प्रागऐतिहासिक र आधुनिक विश्व इतिहासलाई संक्षिप्त रुपमा पस्कने प्रयास भएको छ । दर्शनको परिचय सहित काँस्ययुग,वैदिक सभ्यता,प्राचीन नेपालको चर्चा गरिएको छ ।
वेलायतको गौरवमय क्रान्ति,औद्योगिक क्रान्ति,अमेरिकी स्वतन्त्रता संग्राम,फ्रान्सेली क्रान्ति,भारत छोड आन्दोलन,विश्वयुद्ध,भीयतनाम युद्ध,चीनिया क्रान्ति लगायतका विश्वका महत्वपूर्ण क्रान्तिहरुको बारेमा कृतिले राम्ररी जानकारी दिएको छ ।
कृति इतिहासका अद्येता,विद्यार्थी,अनुसन्धानकर्ता र आम पाठकको लागि महत्वपूर्ण छ ।
विश्व इतिहासको सारंशलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.७००। रहेको छ ।
शब्दहीन
कथाकार बुद्धिराज पाण्डेको कथासङ्ग्रहभित्र विषय विविधाका १२ थान कथा समेटिएका छन् ।
उतिबेलाको दशवर्षे सशस्त्र विद्रोहपूर्ण द्धन्द र यसले असर पारेका असरहरु,पिडितका समस्याहरु,सत्ता राजनीति तिनका नेता साँसद र वरिपरिका व्यक्तिहरुले लिएको अनुचित लाभ,बाँच्नको लागि शरीर बेच्नुपर्ने बाध्यतामा फसेकाहरुको अवस्था,नारी मनोविज्ञान,पदलोलुप मान्छेका मनोविज्ञान लगायतका विषयहरु समावेश गरी कथा बुनिएका छन् ।
सरल भाषाशैली,मध्यम आयतनका कथा,यथार्थजनित कथाबस्तुले कथामा प्राण सञ्चार गरेका छन् ।
शब्दहीन कथासङ्ग्रहको मूल्य रु.३००। रहेको छ ।
धरतीको क्रन्दन
बुद्धदेवप्रसाद घिमिरेको गद्य कविताको प्रवाहमा मानव जीवन दर्शनलाई उत्कृष्ट ढंगले लिपिवद्ध गरी कविता कोरिएको छ । अनन्त सपनाबिच सिमित पूर्णता बोलिएको छ । मान्छेको जीवनलाई सृष्टिकै सुन्दर उपहारको रुपमा हेरिएको छ । मानिसका अथाह आवश्यकता र तृष्णा कहिल्यै पूर्णता नहुने कुरा बताइएको छ ।मानवताको अर्थबोधगम्य हिसावले दर्शाइएको छ । धरतीमाथि मान्छेका दोहनमा उस्तै खवरदारी गरिएको छ ।
सुलोलित भाषा,बिम्बको केहि प्रयोगले कविता पठनीय लाग्छ ।
धरतीको क्रन्दनलाई कनकाई प्रतिभा प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२००। रहेको छ ।







