कविता
आस्थाको विचलन
राधा कार्की
पटक पटक
तिमीले छल गरेपछि
पटक पटक
तिमीले भरोसा तोडेपछि
मैले हृदयको लेखा जोखा गर्नै छोडिदिएँ !
अनेकौँ पटक
तिमीसँगै रहरका सपना उनेकी थिएँ
लागेको थियो–
समयले गहिरो स्पर्श गरिरहेछ !
जब अचानक झर्यो
तिम्रो नाटकको पर्दा
तब छर्लङ्ग देखेँ तिम्रो अनुहार
र त्यही बेलादेखि नै
सुक्दै गएको हो
मेरो विश्वासको प्रशान्त महासागर !