
समीक्षा
निराशाको क्षितिजमा देखिएको सुनौलो घेरा – विविशारा !
माधव बिडारी ‘चेतनपथ’
पढ्ने रहर हुँदाहुँदै पनि सिरानको तखतमा निसासिएको एउटा उपन्यासलाई आज मज्जाले स्पर्श गरे । बाहिरी आवरण हेरेँ र एउटा प्रेमिल कल्पनामा डुबेँ । बि.पिका शब्दमा भन्नुपर्दा, ‘पुस्तक र तरुनी उस्तै हुन दुबैलाई पढ्नु अघि सुम्सुम्याउनु पर्छ । आँखा नथाकुन्जेल हेर्नुपर्छ र कल्पनाको सागरमा डुबुल्की मार्नुपर्छ ।’
उपन्यासकार छवि वैरागी घिमीरे कलमका गहिरा साधक हुन् । छन्द कवितामा उको कलम सशक्त छ । उनी पूर्वको साहित्यलाई काँधमा बोक्ने हुर्मत राख्ने साहित्यकार हुन् भन्दा कसैले मन खुम्च्याउनुपर्ने कारण रहन्न । उनलाई यो भन्दा बढी परिचयको आवश्यक्ता पनि पर्दैन ।
पुस्तकले चर्चा पाइरहेको छ । यसैबीच विविशारा खोलेँ । पुस्तकको नाम अचम्मको लाग्यो । त्यो भन्दा अचम्म त यो शब्दको अर्थ शब्दकोषमा सम्म पनि भेट्न सकिन । पछि थाहा भयो यसको नाम नै अनौठो तरिकाले राखिएको रहेछ ।
छत्तीस उपशीर्षक राखेर तयार गरिएको २३१ पृष्ठको उपन्यास एकै बसाईमा खर्लप्प पारेँ । यसको अर्थ उपन्यासको कथाले मलाई बाध्यो र उम्कन दिएन । एक पृष्ठ पढेपछि ‘अब के होला ?’ भन्ने खुलदुली रहिरहने ।
यो उपन्यास पढ्दैगर्दा एउटा पात्र आँखा अगाडि आइरहन्छ । कहिले रुन्छ । कहिले आदर्शका कुरा गर्छ । कहिले खुसीका रागहरू छोड्छ । त्यो पात्र हो ‘बिपन’ जो नियतिको भुमरीमा परेर अनाथ भएको छ । आफ्नो घर परिवार नै पहिरोमा परेर अनाथ भएपछि उसको कथामा विभिन्न पात्रहरू आउँछन् । जान्छन् । आउने जाने क्रममा कसैले सकारात्मक संदेश छोडेर जान्छन् भने कसैले नकारात्मक । जीवनका अनेक परिभाषाले सजिएको यो पुस्तक एउटा दर्शन शास्त्र हो भन्नू पर्यो भने पनि अतियुक्ती हुँदैन । यसरी विपनको जीवनमा आउने घटना क्रम र कसरी ऊ सिन्धुलीको दुर्गम गाउँ बेल्टारबाट काठमाडौँको नेपालटारसम्मको यात्रा तय गर्यो र यस यात्राका आयामहरूलाई कलात्मक भाषामा अनुबन्ध गरिएको सुन्दर उपन्यास हो ‘विविशारा’।
यसैबीचमा शान्ता र विपनको आदर्श प्रेमलाई पनि रोमाञ्चक पारामा देखाइएको छस यस उपन्यासमा ।
उपन्यासमा विपन, कान्छी थापा, बलभद्र थापा, रामप्रसाद शर्मा, शान्ता, बिमला, राधा, जीवन दाइ, साहुनी र ठूले साहु जस्ता समाजका जीवन्त पात्रहरू छन् । यिनीहरूको आफ्नै चरित्र छ । यिनले तत्कालीन समाजलाई मज्जाले प्रतिनिधित्व गरेका छन् ।
विपनका बाबुआमा बिचको प्रगाढ प्रेम र प्रेमिल परिवेशबाट सुरु गरिएको उपन्यास कतिबेला रुवाईमा परिणत हुन्छ पत्तै पाइन्न । त्यसपछि अलिअलि सुखद सन्दर्भ भनेको विपिनको प्रेम प्रसंगले ल्याउन खोज्छ । तर त्यो पनि कतिखेर आँसु बनेर खस्छ पत्तै पाइन्न ।
जति कठोर छु भनेर मन बाधेर राख्दा पनि कुनै कुनै ठाउँमा मनको बाध भत्काएर आँसुले आँखा भिजाउछ । विपनको गाउँ र परिवार पहिरोले बगाउँदा एउटा बालकको पीडा व्यक्त गर्ने शैली र समाजले उसलाई हेर्ने दृष्टिले पाठकलाई फतक्क गलाउँछ ।
त्यसैगरी अनेक हण्डर खाएर काठमाडौं पुगेको विपन रामप्रसाद शर्माले आश्रय दिएपछि विद्यालय जाने पहिलो दिनको उसको बालसुलभ भावनाले जो कोहीले पनि मन थाम्न सक्दैन ।
यस उपन्यासमा निकै वाक्यहरू उक्तिको रुपमा आएका छन् ।
– पहराको छाती चुहिएर निस्किएको पानी ।
-याद पनि पानीफोका जस्तै प्याट्ट फुट्छ ।
-भोकलाई भोजन भेट्दा छाड्ने कुरा पनि भएन ।
-अन्जान गन्तव्य विश्वासको धागो र आशाको जीवन ।
-कहाँको महासागर कहाँको बलेँसी ।
-माहोल साँझको बाँसघारी झै बन्यो ।
– प्रेमले एकातर्फ जोडिने र अर्को तर्फ छुट्ने गराउँदो रहेछ ।
उपन्यासका कुनै अनुच्छेदले मानव हृदयमा च्वाँस्स पार्छ ।
‘मैले स्कुलको पोसाक लगाएँ । बाआमालाई आँखाभरी सम्झिएँ । एकपटक बा भुइँमा तप्प खस्नुभयो । फेरि आमा तप्किँदा चिउँडो हुँदै भुइँमा पुग्नुभयो ।’
यस उपन्यासमा यस्ता भावविह्वल भनाउने थुप्रै अनुच्छेदहरू छन् ।
उपन्यासको भाषा र लेखन शैली सरल छ । र कथा नदीको प्रवाह झैं बगेको छ ।
उपन्यासमा कतैकतै अलि बढ्ता व्याख्या गर्न खोजेको जस्तो देखिन्छ भने कतैकतै फड्को मारेजस्तो भान हुन्छ । पढ्दै जाँदा उपन्यासको अन्त्य छिट्टै भएजस्तो लाग्छ । कथाले अझै कथानक मागेको देखिन्छ । उपन्यास भरि दुखेसो, रुवाई, वेदना र अभिसाप छ । यति हुँदाहुँदै पनि । उपन्यासको मूख्य पात्र विपनले अध्यन, जागिर र प्रेममा पाएको सफलताले भने सुखद अन्त्य भएको छ । त्यसैले विविशारा निरासाको क्षितिजमा देखिएको सुनौलो घेरा हो ।






