
काठमाडौं । लघुकथा समाज,नेपालले हरेक बर्ष प्रदान गर्दै आएको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८१’ र ‘धनमान लघुकथा पुरस्कार–२०८१’ को घोषणा गरेको छ ।
लघुकथा समाजद्वारा जारी विज्ञप्तिअनुसार ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान, २०८१’ हेटौँडाका लघुकथाकार आर.आर.चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ भक्तपुरका लघुकथाकार श्याम आशालाई प्रदान गरिने भएको छ ।
लघुकथा समाजले दुई स्रष्टाको नाम चयन गर्नका लागि समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा श्रीओम श्रेष्ठ ‘रोदन’ र तुलसीहरि कोइराला रहेको तीन सदस्यीय सिफारिस समितिले स्रष्टाद्धयलाई सम्मान तथा पुरस्कारको लागि सिफारिस गरेको हो ।
पुरस्कार तथा सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ भदौ ५ गते १७औँ लघुकथा दिवसका अवसरमा सर्वनाम नाटक घरमा विशेष समारोहको आयोजना गरेर प्रदान गरिने छ भने ‘धनमान लघुकथा पुरस्कार’ भदौ ८ गते भक्तपुरमा आयोजना गरिने समारोहमा प्रदान गरिने बताइएको छ ।
यसैगरी समाजले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ भदौ ४, ५ र ६ गते दिवस मनाउने जनाएको छ ।




