काठमाडौं।नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको चौबीसौं श्रृङ्खला शनिबार सम्पन्न भएको छ ।
कथा विधाप्रति आम पाठकको रुचि जगाउन र यसको कालखण्डगत विकासबारे चिन्तन, छलफल, अनुसन्धान जस्ता कार्यहरूका माध्यमबाट समग्रमा नेपाली कथा विधाको विकासमा सघाउ पु¥याउने बृहत उद्देश्य लिई यो पुनर्जागरण अभियान २०८० साउनदेखि साहित्यकारद्वय पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईको परिकल्पनामा शुरु गरिेएको हो ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर कार्यक्रम शुरु गर्ने गरिए अनुसार यस पटक स्रष्टा विश्वेश्वरप्रसाद कोइराला र सुशीला कोइरालाको संयुक्त लेखनको कथा ‘द्वन्द्वप्रेम’ वाचन गरिएको थियो । ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष ६ संख्या १ (विसं १९९७) बाट कथाकार पवित्रा अधिकारीले उक्त कथा वाचन गर्नुभएपछि अन्य चार जना प्रतिष्ठित कथाकारहरूले २०४० देखि २०७० को दशकसम्ममा प्रकाशित आआफ्ना कथा वाचन गर्नुभएको थियो ।
कथाकार इस्मालीले वेदना पत्रिकाको कथा अङ्क (२०४३) मा पहिला प्रकाशित ‘घर’ शीर्षकको रचना आफ्नो कथासङ्ग्रह ‘माछो माछो भ्यागुतो’बाट वाचन गर्नु भएको थियो । कथाकार धीरकुमार श्रेष्ठले नेपाल, वर्ष ३, अङ्क २०, १६–३१ जेठ २०६० मा प्रकाशित कथा ‘मर्ने एउटा कोठा’ सुनाउनु भएको थियो । त्यस्तै, कथाकार गंगा कर्माचार्य पौडेलले ‘छोराको कमाइ’ शीर्षकको कथा वाचन गर्नुभएको थियो । उक्त कथा २०६७ को साहित्यिक पत्रिका नारीस्वरमा प्रकाशित भएको थियो । त्यसपछि कथाकार बिन्दु अधिकारी ढकालले ‘बुहार्तन’ शीर्षकको कथा आफ्नो कथासङ्ग्रह ‘मावली दिदी’ (२०७७)बाट वाचन गर्नुभएको थियो ।
वाचन गरिएका कथाहरुबारे समीक्षकहरू मोहन चापागाईं र ज्ञाननिष्ठ ज्ञवालीले टिप्पणी गर्नुभएको थियो ।
अन्त्यमा, यस अभियानका परिकल्पनाकार पुष्कर लोहनीले आपूहरूले शुरु गरेको यस कार्यक्रममा कथासाहित्यमा रुचि हुने लेखक, पाठक, पत्रकार र समालोचकहरूको सहभागिता बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले चौबीसौं श्रृङ्खलासम्म आइपुग्दा कार्यक्रममा अनेकौं सुधार हुँदै गएकोमा सन्तोष व्यक्त गर्नुभयो ।
उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।