
समीक्षा
रामकृष्ण ढकालको ‘रामवाण’ माथि आँखा डुलाउँदा
विमल ज्ञवाली
हालै चितवनका व्यङ्ग्यस्रष्टा रामकृष्ण ढकालको ‘रामबाण’ व्यङ्ग्य–निवन्धसङ्ग्रह पढ्ने अवसर प्राप्त भयो । अलि पहिला भैरव अर्याल, केशवराज पिँडाली, चोलेश्वर शर्मा लगायतका स्रष्टाहरूका व्यङ्ग्य सिर्जना पढ्ने गरिन्थ्यो । धेरै भएछ व्यङ्ग्य रचनाहरू नपढेको ।
ढकालको ‘रामवाण’भित्रको पहिलो निवन्ध पढ्न शुरु गर्दा नै दिमागले खासै मेसो पाएन । मतलब, बानी छुटेछ । तर, त्यो मात्र होइन । उल्लिखित पूर्वस्रष्टाहरूका लेखाइमा उट्पट्याङ र व्यङ्ग्यभाव जोडतोडका साथ प्रस्तुत भए तापनि भाषिक÷शाब्दिक विचलन र विपत्ति खासै हुँदैनथ्यो । तर, रामकृष्ण ढकालले शब्दहरूलाई नै तोडमोड गर्दा रहेछन् । जस्तैः साहित्यिकलाई हासित्यिक, सभाभवनलाई स्वाहाभवन, अध्यक्षलाई अदक्ष, प्रमुख अतिथिलाई परमुख अतिथि, सांसदलाई हाम्सद-खाम्सद, आर्थिक वर्षलाई पार्थिव वर्ष, अर्थमन्त्रीलाई ओथारमन्तरी, बैठकलाई गैठक, माननीयलाई खाननीय, सभामुखलाई स्वाहामुख, राजधानीलाई लाजधानी, उल्लासमयलाई झुल्लासमय, गौरवशालीलाई रौरवशाली, ओभरसियरलाई गोबरसियर, संघीयतालाई नाङ्गीयता, विनियोजनलाई दिनियोजन, आन्दोलनलाई हान्दोलन आदि । व्यङ्ग्य लेखनको यो पछिल्लो अभ्यास हो या उनले नौलो प्रयोग गर्न खोजेका हुन् उनै जानून् । तर, मैले चाहिँ एकछिन पढुञ्जेल रमाइलो माने तापनि दीर्घकालमा भने भाषिक विकृति निम्तिने जोखिम देखें ।
५७ निबन्धको सुर र संकेत
लेखकले यस पुस्तकमा पटकपटक लेखेका फुटकर व्यङ्ग्य–निवन्धहरू जम्मा पारेर १५४ पृष्ठमा अट्ने गरी जम्माजम्मी ५७ वटा व्यङ्ग्य निवन्धको सङ्ग्रहण गरेका छन् । निवन्धहरू छोटाछोटा भएकोले फुर्सदमा थोरै समय छुट्याएर २–४ वटा गर्दै पढ्न पनि सकिने खालका छन् । आफ्नै भूमिकामा विभिन्न साहित्यिक स्रष्टाहरूको नाम लिएर ढकालले सम्मानसमेत गरेका छन् । विशेषतः उनका लेख रचनाहरूलाई पढिदिने, अझ परिस्कृत गर्न उक्साउने, मिडियामा प्रकाशनका लागि प्रोत्साहन गर्ने आदि कामबाट प्रेरणा दिइरहने स्रष्टा डा. चेतनाथ कणेल ‘हरित’ लाई विशेष सम्झेका छन् । भूमिकामै एकठाउँमा २०७९ हुनुपर्नेमा २०८९ लेखेर गल्ती भएको रहेछ । लेखकले आउँदो संस्करणमा यो कुरालाई विचार गर्ने अपेक्षा गरिन्छ ।
यो कृति शुरुदेखि अन्तिमसम्म पढ्दा साँच्नै नै हाम्रो देश, समाज, शासन व्यवस्था, रीतिथिति, शिक्षा प्रणाली लगायत हरेक कुरामा ‘भद्रगोलै–भद्रगोल मात्र रहेछ कि क्याहो! भन्दै मेरो दिमाग नकारात्मकतातर्फ घुमिरह्यो । बाटोमा हिँड्ने हरेकलाई यिनीहरू कहीँ बदमासी या लूटपाट गर्न जाँदैछन्, अफिस जानेलाई घुस खान जाँदैछन्, राजनीति गर्नेलाई भ्रष्टाचार, अत्याचार गरेर देश बेच्न जाँदैछन्, पढाउन जाने शिक्षकलाई नेपाली भाषा, संस्कृति बेचेर विदेशी सभ्यता सिकाउन जाँदैछन् जस्तो देख्न थालें । त्यसैले ’ह्या… यस्ता नकारात्मक कुरा पढेर दिमागलाई दुःख दिनुहुँदैन“ भन्ने पनि लाग्यो । तर, हास्यव्यङ्ग्य विधा भनेकै समाजमा भएगरेका असङ्गति र विसङ्गतिलाई व्यङ्ग्यात्मक ढंगले प्रहार गर्दै सचेतना जगाउने र सकारात्मक भूमिकाको अपेक्षा गर्ने असल विधा हो भन्ने ठानेर लेखकको मेहनतलाई न्याय गर्नाका लागि पनि पुस्तक हात पर्नासाथ पूरै पढें ।
ढकालका यी ५७ निबन्धहरूमा प्राप्त केही प्रतिनिधिमूलक व्यङ्ग्य र प्रसङ्गहरू सर्सर्ती सारांशमात्र पढ्न सजिलो होस् भन्नका लागि बुँदागत रूपमा प्रस्तुत गरेको छु
ड्ड साहित्यकारले साहित्यका विधाबमोजिम निर्धारित नियम-अनुशासनभित्र रहेर रचना गर्नुपर्नेमा पछिल्लो समय नियम उल्लंघन गरी छापामा ल्याउने विकृतिलाई उजागर गर्ने प्रयास पहिलो अध्यायमा गरेका छन् । न त गद्य न त पद्य खालको कवितालाई मद्य कविता र कविलाई मद्यानन्द भनेका छन् ।
ड्ड महिलाको ३३ प्रतिशत अधिकारको विषयलाई आजकलका महिलाले ३३ प्रतिशत मात्र शरीर छोपिने गरी लगाउने लुगासँग जोडेर व्यङ्ग गरेका छन् ।
ड्ड जिब्रोको स्वादमा रमाउन अर्काको ज्यान खाँदै आफूलाई सभ्य ठान्ने मांशाहारीहरूलाई ‘हत्याराहरूले ज्यान लिएर सिनोमा परिणत गरेका जनावरको मृत शरीरका टुक्रा हुलेका’ भनेर दह्रो झापड दिएका छन् । म लगायतका शाकाहारीका पक्षमा उभिनेलाई यो निकै घतलाग्दो उद्गार पाएँ । तर यतिसाह्रो भनिहाल्नु हुँदैन कि ! खानु नखानु आफ्नो इच्छा पनि त हो ।
ड्ड असली स्रष्टा ओझेल पर्ने र चाकडी, चाप्लुसी तथा नारी आकारको हाउभाउको भरमा पुरस्कार-सम्मान खोस्नेहरूलाई पनि त्यतिकै दनक दिएका छन् ।
ड्ड मुलुकको शासकीय व्यवस्था परिवर्तनका लागि बेलाबेलामा गरिने क्रान्तिका नाममा भित्रभित्रै उद्योगधन्दा बेच्ने, युवालाई विदेश पलायन गराउने, भ्रष्टाचार गर्ने, संस्कृति मास्ने, उत्कृष्टलाई तिरस्कार गरी निकृष्टलाई पुरस्कृत गर्दै बहुदललाई बाहुबल, गणतन्त्रलाई छाडातन्त्र, जनवादलाई धनवाद र डनवाद बनाउने खेलो रहेछ भनी व्यङ्ग्य गरेका छन् ।
ड्ड गैरआवासीय नेपालीहरू नेपाल आउँदा टाउको अर्थात् मनमस्तिष्क र श्रद्धाभक्ति उतै छोडी ज्यानमात्र नेपाल आउने गरेको र कागजात बनाउन कार्यालय धाउँदा पाएको तितो अनुभवलाई व्यङ्ग गर्दै यहाँका मन्त्रालयलाई ‘खायालय’ नाम दिँदै त्यहाँका कर्मचारीहरूका नामहरू घुसलाल, घुसिता, कमिसनचन्द्र, छलकपटराज, लटरपटरमान, कलमजादुघुसकार, आदि र पदनामहरू जाकिमसाब, देखापाल, धनसम्पर्कबढिकृत अनि त्यहाँका कामहरू तासलीला, रासलीला, खासलीला, घुसलीला, जुसलीला आदि भन्दै व्यङ्ग्य गरेका छन् ।
ड्ड मापदण्डविना बाटाघाटा खनिने र विनाश निम्त्याउने पछिल्लो अभ्यासले आक्रान्त भई न्याय खोज्ने कुनै ठाउँ बाँकी नरहेपछि भगवानलाई विन्ती गरौं भने बाटाको आडैको मन्दिरसमेत भत्किएको छ भन्ने उद्गार धेरै संवेदनशील लाग्यो, तर भगवान पशुपतिनाथ जनतालाई सताउने नरपशुका मात्र नाथ÷पति रहेछन् भनी साह्रै तुच्छ व्यङ्ग्य गरेको भने मलाई कत्ति मन परेन ।
ड्ड आकासबाट बर्षिने झरीले कृषिकर्मीलाई मात्र असर गर्छ कुर्सीप्रेमीलाई गर्दैन भन्दै कुर्सीवालाले झरीलाई घुस कमिसन खुवाई सम्बन्ध बनाएको कुरा खुलाएका छन् । बर्खामा आकासबाट झर्ने अत्यधिक झरी हिउँदमा कृषकको आँखाबाट झर्न थाल्छ । घुसखोरी, कमिसनखोरी, नातावाद, झोलेवाद, लम्पसारवाद, अन्यायवाद, झमेलावाद, विप्रेषणवाद, अधर्मवाद, पराइवाद, हराइवाद, खल्लीवाद लगायतका अनेक विषालु झरीले नेपाललाई आक्रान्त बनाएको व्यहोरा व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् ।
ड्ड माटोमा गाडिएको लास पर्सिपल्ट ब्युँझिएर हिंँड्यो भन्ने परधर्मीहरूको कथालाई सत्य मान्दै हाम्रा आफ्नै सम्पदाहरू बुद्ध, शिव, राम, लुम्बिनी, जनकपुर, अयोध्या, कैलाश पर्वत, पशुपतिनाथ, मानसरोवर आदिलाई अन्धविश्वास मान्ने, हाम्रा देवी देउताका अमर कथा, नैतिक शिक्षालाई पुरातन मान्ने, आयातित सभ्यता अङ्गाल्ने परधर्म प्रभावित नेपालीलाई पनि व्यङ्ग्य गर्न बाँकी राखेका छैनन् ढकालले ।
ड्ड उनले अलि पहिला लेखेको पहिरो पुराण निबन्धमा अनियमितता र भ्रष्टाचारका कारण देशको शासकीय निरीहतारूपी पहिरो श्रीलंका र बंगलादेशमा गएजस्तै यहाँको राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालयमा पनि जानुपर्ने, किन जाँदैन होला भन्ने जिज्ञासा या भविष्यवाणी भर्खरै जेन–जी आन्दोलनले ठ्याक्कै पूरा गरिदिएको छ ।
ड्ड विहान बेलुका खाना पकाउने बेलामा, बच्चाबच्चीले गृहकार्य गर्ने बेलामा, दमको बिरामीलाई नेबुलाइजर लगाइदिने बेलामा, औषधियन्त्र तयार गर्ने बेलामा हुने लोडसेडिङ अथवा अघोषित विजुली कटौतीले वाक्कदिक्क भएर होला यहाँ भएका सयौं जलविद्युत आयोजनालाई ‘छलविद्युत आयोजना’ भनेका छन् । पुग्ने विजुली हुँदाहुँदै पनि इन्भर्टर÷ब्याट्री व्यापारको नाममा घुस कमिसनको खेल भएको आशङ्काले होला भूपरिवेष्ठित देशलाई ‘घुसपरिवेष्ठित देश’ भनेका छन् ।
ड्ड शुरुका दिन जे ग¥यो वर्षैभरि त्यही गरिन्छ भन्ने नेपालीहरूको सोचाइलाई व्यङ्ग्य गर्दै नयाँ वर्ष शुरु हुँदैखेरि बिस्केट आदि जात्रा शुरु हुने हुँदा मान्छेको मात्रा धेरै भएको देशमा वर्षैभरि ललिता निवास, गिरिबन्धु, लाउडा, धमिजा, भुटानी शरणार्थी, एमसीसी, स्मार्ट लाइसेन्स, इम्बोस्ड नम्बर प्लेट, सर्पपालन, बाख्रापालन जस्ता बेथितिका जात्रैजात्रा हुने गरेका हुन् भन्न पनि बाँकी राखेका छैनन् ।
ड्ड पाश्चात्य मुलुक र इसाइको प्रभावमा परी नेपालीहरूले आफ्नो धर्मकर्म र निष्ठा नै परधर्मीप्रति समर्पण गर्दैछन् भन्ने व्यङ्ग्य गरिएको छ । यसो हेर्दा हो जस्तो लागे पनि लेखकले व्यङ्ग्यका लागि प्रयोग गरेको यो प्रसङ्ग खासै ठिक लागेन । यसले सनातनीहरू सबै यसरी नै बिकिराखेका छन् भन्ने खालको सन्देश प्रवाह हुने देखिन्छ । मह जोडीले पनि यस्तै खालको प्रहसन प्रस्तुत गरेका थिए । तत्कालै त ठिकै हो जस्तो लागे पनि यसको दीर्घकालीन असर हामी सनातनीहरूमाथि नै पर्छ । जुन कुरा पछि उजागर भएर उनीहरूको समेत आलोचना भएको थियो ।
ड्ड रैथाने जातको अन्नको बीउमा क्षति, खेतिपाती गर्ने जग्गाको क्षेत्रफलमा क्षति, रासायनिक विषादीयुक्त मल तथा औषधिले कुनैले हातमा क्षति, कुनैले लात (खुट्टा) मा क्षति, कुनैले गलामा क्षति, कुनैले फूलमा क्षति, कुनैले पातमा क्षति, कुनैले जरामा क्षति, कुनैले फलमा क्षति गर्दैगर्दै समग्रमा जेनतेन उब्जाउ भएको अन्नमा पोषणको क्षति भएकोले खेतिपातीलाई ‘क्षेतिपाती’ भनेर व्यङ्ग्य गरेका छन् ।
ड्ड सिंहका ओडारलाई छुँदै नछोई खरायोका घरबारलाई हरायो बनाउँछ भन्दै भूकम्पलाई खिसी गरेका छन् । भूकम्प लगायतका दैविक, भौतिक विपत्तिले समेत गरीब दुःखीहरूकोमा मात्र विध्वंश मच्चाउँछ भन्दै ‘मुकुन्द इन्दिरा’मा ‘दुःखीका घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे’ भन्ने कवितांशको दोस्रो पाउमात्र विपत्तिले पढ्छ होला भन्दै लेखकले बालकृष्ण समलाई सम्झेका छन् ।
ड्ड नेपाल पर्यटकीय देश भएकोले विदेशी कुहिरेहरू आए पनि नआए पनि यहाँको मौसमी कुहिरो चाहिँ आइरहन्छ । काठमाडौँलगायतका ठाउँ र तराई क्षेत्रमा यतिविघ्न जाडो भइदिन्छ कि घामसमेत जाडो हुने डरले कुहिरो÷बादलभित्र लुकिरहने भन्दै यहाँको जाडोलाई पनि व्यङ्ग्य गर्न भ्याएका छन् ।
ड्ड मौसम शब्दलाई परचक्री शब्द भनेका छन् । पछिल्लो समय बर्षा शब्दलाई मौसम शब्दले उच्चारण गर्न थालेपछि यसलाई प्राकृतिक एमसीसको संज्ञा दिएका छन् । आयातित मौसमले अनियन्त्रित रूपमा गरीबको थाप्लोमा बञ्चरो हानेको छ भने विदेशी ऋण, कुशर्त, चलन, संस्कार, सल्लाह, जासुसीले त झन कति असर गरेहोला भन्ने व्यङ्ग्यात्मक तर्क राखेका छन् । नेतालाई अनपढ झोलेको संज्ञा दिएका छन् । भनसुनको भरमा लाज, घिण सबै पचाएर ‘जे गर्न पनि तयार हुने पेसा’ भनेका छन् ।
ड्ड लेखकले एसईई तहको परीक्षा उत्तीर्ण भएका विद्यार्थीउपर कानूनविद, कृषिविज्ञ या डाक्टरको अपेक्षा गरेका छन् । तर राम्रो अंक ल्याई उत्तीर्ण हुने भाइबहिनीहरूलाई हतोत्साहित गर्ने काम गरेका छन् । साथै अन्तर्राष्ट्रिय साझा भाषा अङ्ग्रेजीलाई यो किताबको ठाउँठाउँमा कुहिगन्धे अङ्ग्रेजी भनेर गिज्याइरहेका छन् । विद्यालयस्तरको सारा पाठ्यक्रममै भाषा, धर्म, कला, संस्कृतिका साथै देशै बेच्ने खालका कुराहरू राखी पढाइएजस्तै ………… भनेर आरोप लगाएका छन् । उनी आफैँचाहिँ क्या लेखेँ भनेर मख्ख परे होलान् । तर, यथार्थ चाहिँ यसरी चल्दैन ।
ड्ड तिजमा दर खाने हालको प्रवृत्तिलाई पनि तीखो प्रहार गरेका छन्, यस पर्वलाई ‘घिचपर्व’ भनी व्यङ्ग्य गरेका छन् । अनि, ऋषिपञ्चमी पूजालाई शिशीखाञ्चमी पूजा भनेका छन् ।
निष्कर्षमा,
‘रामवाण’मार्फत् लेखक ढकालले विशेषतः राज्यको शासन पद्धतिमाथि धेरै व्यङ्ग्य गरेको देखिन्छ । तथापि अन्य समसामयिक विषयहरूलाई पनि आफ्नो व्यङ्ग्य विधामा समेट्ने प्रयास गरेको पाइन्छ । लेखक आफैँले प्रकाशन गरेको आवरणसहित १६४ पृष्ठको यो पुस्तकको मूल्य ५०० रुपैयाँ राखिएको छ, जुन अलि चर्कै मान्नुपर्छ । लेआउट र छपाइ भने आकर्षक छ ।
केही सजगताका साथ लेखकको व्यङ्ग्यलेखन अभ्यास अझ परिष्कृत हुँदै जाओस् भन्ने शुभकामना दिन चाहन्छु । बेसुरमा लेख्दै जाँदा हाम्रा इतिहास, संस्कृति र परम्पराजस्ता विषयमा तथानाम व्यङ्ग्य गर्दै गर्दा हाम्रा यी अमूल्य सम्पदा भत्काउने बाटो खोजिहिँड्ने फिरङ्गीहरूलाई लिस्नो (भ¥याङ) बन्न सक्छ । त्यसैले व्यङ्ग्य–सिर्जनामा यस्ता विषयमा सचेत र सजग हुन आग्रह गर्दछु ।
गुल्मी, हालः इमाडोल, ललितपुर







