कथा
निर्मोही मन
कुमार काफ्ले
उफ !
सही कामको पनि यस्तो भयानक परिणाम निस्किएला भनेर कल्पना पनि गरेकी थिइनन् सरगमले । शिक्षित, कुनै कुलतमा नलागेको अनि कमाउ खालको जागिर खाएको स्वस्थ र हदै माया गर्ने श्रीमान् । पहिलेकी छोरी अनि तोतेबोली बोल्न थालेको तीन वर्षमा हिँड्दै गरेको गुथुमुने छोरो । यति भए पछि के चाहियो र !घर, माइती दुवैतिर खुसी छाएको थियो । कति त इर्ष्याले जलिरहेका पनि थिए । त्यो बेग्लै कुरा हो ।
विधिको विधान पनि गम पाई नसक्नुको हुँदोरहेछ । एकैछिन अघिसम्मन् सब ठीकठाकसँग चलिरहेको थियो । सानो घर सानै परिवार, संसार स्वर्ग थियो । छोरी स्कुल जान्थिन् , छोरालाई यही श्रीपञ्चमीको दिनदेखि पठाउने सल्लाह भइसकेको थियो । बाबाले सानैमा छोडेर नफर्किने बाटो लागेका भए पनि आमाको ममतामयी साथ छँदै थियो । जीवनले मीठो लय समातेको थियो । एसएलसी नदिदैँ बसेको माया प्रीति बाह्र कक्षाको परीक्षा दिइसकेपछि विवाहमा परिणत भएको थियो । सँगसँगै पढ्ने लेख्ने भएकाले माया झ्याङ्गिन बेर लागेन ।
आफ्नो पढ्ने इच्छा थाती राखेर सरगमले सन्तोषलाई पढ्न शहर पठाईन् । घरको सबै कामधन्दा र बूढी सासुआमाको सेवा गर्दै मीठो सपना बुन्दै उसैको प्रतीक्षामा बसिन् । र, नभन्दै प्रतीक्षाको फल गुलियो बनेर आयो । सन्तोषले स्नातक गरिसकेपछि गाउँकै स्कूलमा जागिर पायो । सबै आफन्तहरू खुसी भए । लोग्नेको सफलतामा सरगम पनि खुसी नहुने त कुरै भएन ! तथापि आफूले पनि पढ्न पा’को भए अहिले जागिर खाइँदो हो भनेर सम्झिदाँ मात्रै पनि मनको एउटा कुनामा चिसो भएर आउँथ्यो उनको ।
त्यसपछि समय मुठ्ठीबाट बालुवा खसे झैँ बित्दै गयो । छोराछोरी जन्मे । अनेक दुस्खकष्ट सहेर स्याहारे । सल्लाह अनुसार परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न थालेस केही महिना सन्तोषले अनि फेरि सरगमले । केके नमिलेजस्तो दुवैलाई झण्झटिलो लाग्न थाल्यो ।
अनि कुरा निस्कियो स्थायी परिवार नियोजनको । त्यसमा पनि हानाथाप भयो, कसले गर्ने भनेर । सन्तोषकै जित भयो र दुई वर्षअघि जिल्ला अस्पतालमा गएर उसले स्थायी नियोजन गरेर आएको थियो । खानपिन लगायत सबै कुरामा सरगमले बडो होश राख्थिन् उसको । छोराबुहारीको मिलाप, नातिनातिनीको मुहार देखेर बूढी आमा खुसीले पुलकित थिईन् । आमाको आशिर्वाद, सन्तानसुख र मन बुझ्ने विवेकी जीवनसाथी पाएका दम्पतीको खुशीको त कुरै नगरौँ ।
०००
एकाबिहानै हो एक्कासि सरगमलाई वाकवाकी लाग्न थालेको ! सन्तोषले स्थायी नियोजन गरेदेखि आफू पिरियड भएको दिन पात्रोमा चिनो लगाउन पनि छोडेकी थिईन् उनले । सम्झी ल्याउँदा तीन महिना पुग नपुग भए जस्तो लाग्यो । र, त्यो सम्झनास त्यो वाकवाकी उनलाई आफ्नो शिरमाथि मडारिइरहेको खुनी बादल झैँ लाग्यो । आफू निर्दोष भए पनि सन्तोष र अझ पुरानो मानसिकताको समाज अनि सासू आमाको सम्भावित लाञ्छना सम्झेर उनी आफ्ना खुसीका दिन यत्ति नै रहेछन् क्यारे भन्ने निचोडमा पुगेकी थिईन् ।
कहिलेकाहीँ मौसम र जिन्दगीको पनि गजबको संयोग मिल्दो रहेछ । एकछिन अघि हो पारिलो घाम लागेको र भर्खरै पर्दैछ दर्कने पानी, क्षितिजसम्मै देखिने खुला आकाश एकैछिन अघि र हुस्सुले ढाकेर सय हात पर पनि नदेखिने अहिले । पवित्र सम्बन्ध पनि किन यति जटिल बनिदिन्छ हँ ! सरगम आफू अचानक ठूलो समस्याको भूमरीमा फसेको अनुभूति गरिरहेकी थिईन् ।
मनमा अनेकौँ कुरा खेलेर रातमा निद पर्दैनथ्यो । दिन काममा मन जाँदैनथ्यो । खाना अरुचि हुने र कसैसँग हाँस्न बोल्न मन नलाग्नेजस्ता समस्याले गाँज्न थालेको थियो । यो मन पनि अपरम्पार रहेछ । कहिले लाग्थ्यो, सन्तोषलाई सब यथार्थ कुरा बताइदिउँ र मन हलुङ्गो पारूँ ! फेरि तत्क्षण सोच्थिन, त्यसको सम्भावित परिणाम र आफूमाथि लाग्न सक्ने लाञ्छना ! आफ्नै लोग्नेको संरक्षण नपाएपछि परिवारका अरु सदस्य र गाउँ समाजले हेर्ने दृष्टिकोण र छि छि, दुरदुर ! सम्झिदैं आत्तिईन् उनी । धेरै रात राम्रोसँग निद्रा नपरेकाले होला सायद त्यो रात भने बेलुकाको सुसेधन्दा सकेर सुतेपछि भुसुक्कै निदाईछिन् ।
०००
टन्टलापुर घाम लागेका थिए । छोराछोरी पढ्न स्कूल गइसकेका थिए र उनी घरधन्दा सकेर पिँढीमा घाम ताप्न भर्खरै बसेकी थिईन् । एका दुई र हुलहुल बाँधेर गाउँका मान्छे र छिमेकीहरू आउन थाले । एकैछिनमा आँगनमा अटाइनअटाइ मान्छेको भीड जम्मा भयो र सबैको नजर सरगमतिरै सोझिएको थियो । खासखास् खुसखुस् सबैले उनकै बारेमा कुरा गरिरहेका थिए । कुरा काटिरहेका थिए ।
सदा सम्मान गर्नेहरू पनि आज सुन्नै नसकिने खालका वचन ओकलिरहेका थिए, “यस्तो पाप बोकेर त के बाँच्नू ! बरु सुकोशीमा गएर हामफाले नि हुने !…..”
गाउँका भद्रभलाद्मी र बुद्धिजीवीहरू जो थिए, उनीहरूले त कमसेकम आफ्नो पक्षमा बोलिदेलान् भन्ने अपेक्षामा तब तुषारापात भयो कि जब खड्ग सर अगाडि सरेर तीखा वचन तेर्स्याए, “यस्तै आईमाईका कारण समाज पथभ्रष्ट भइरहेको छस अब यसलाई गाउँमा राख्नु हुन्न । के भन्छौ हँ सन्तोष ? ”
महिलाहरू पनि जानेसम्मको नमीठो शब्दमा उसैलाई गाली गरिरहेका थिए, “यसले गर्दा हाम्रो समेत नाक गयो ! कसरी मुख देखा’र बस्न सकेकी होली ! थुइक्क !!”
कोही अब नाठो चिनाउन लगाउनुपर्छ भन्दै थिए । हुँदै नभएको नाठो उनले कसरी देखाउन् ! घरबाट बाहिर निस्कनै मन लागिरहेको थिएन तर बुद्धिजीवी भनाउँदाहरू त्यसलाई छिटो बाहिर निकालेर खेर्नुपर्छ…. भनेर उनलाई आँगनमा दाखिला गराउन खोजिरहेका थिए ।
उनी दह्रो मन पारेर आँगनमा निस्किईन् र चारैतिर एकपल नजर डुलाईन् । सम्भावित परिणाम र डरले उनका ओठ थर्थराईरहेका थिए । सबै रमिता हेर्न हाँसीखुसी उपस्थित थिए । त्यो भीडमा उनका गाउँले सङ्गी सहेलीहरू मात्रै थिएनन्स छिमेकी गाउँदेखिका जान्नेसुन्ने भनी कहलिएका व्यक्तिहरू पनि थिए । उनको सातो त त्यसबेला गयो जब लठ्ठी टेक्दै माइतबाट बूढाबा र दाजु आउँदै गरेको देखिन् । उनले सहीसाँचो बताउँदा वा निर्दोष छु भनेर जति छाती पिटेपनि त्यहाँ पत्याउनेवाला कोही थिएनन् । एउटा आशाको त्यान्द्रो भनेको त्यही माइती त थियो । जिन्दगीभर साथ दिन्छु भन्ने श्रीमानले त उनलाई त्याग्नै भनेर यत्रो तमासा देखाइरहेको थियो । अन्तिम सहारा भने नि आश्रय जे भने नि उनको माइती बाहेक को थियो र ! बूढा भइसकेका बाले हिँड मसँगै भनेर भन्छन् कि भनेर आशे नजर उतै फ्याँकिन् । तर अहिलेका युवायुवती र बुद्धिजीवी त उनको विपक्षमा बोल्दैछन् भने बाउ त झन् उ जमानाका मान्छे ! फेरि ईज्जतको सवाल थियो । तैपनि आपतमा आफन्तकै आश र भरोसा लाग्दो रहेछ ।
उनको आशा र अनुमान विपरीत बाउले भने, “मेरो लागि आजदेखि तँ मरिस् ! लाजको पसारो ! यो अनुहार देखा’र के बसिराखेकी ओई ! …..”
अनि उनले अगाडि अन्धकार बाहेक केही देखिनन् । दौडेर ग’र कोशीमा हाम्फाल्न मन लाग्यो । लुगाफाटो, कुम्लो कुटुरो केही नबोकी कसैसँग एकबचन नबोली सरासर उनी ओरालो झरिन् र कोशी किनारमा पुगिन् । बडेमानको चट्टानसँग ठोकिएर भुमरी परेर बनेको घुमाउने दहमा हेलिन भनेर ढुङ्गामा चढिन् । एकपल्ट छोराछोरी र आमालाई सम्झिन् र आँखा चिम्म पारिन् ।
उनी झल्लास्स ब्युँझिईन् । जीउभरि पसिनै पसिना आएर निथ्रुक्क भएकी उनी सपना सम्झेरै तर्सिईन् । कतै आफ्नो आगामी जिन्दगीको पूर्व सङ्केत त होइन यो ! डरलाग्दो कल्पना र सोचमा डुबेर उनी झण्डै बेहोस हुन खोजिन् । छट्पटी एकदमै बढेर आयो । सपना पनि कति क्रुर र निर्दयी हुन सक्दो रहेछ ! यो सपना, भाग्य आदिमा कहिल्यै विश्वास नगर्ने सरगम अहिले भने त्यही देखेर अत्तालिरहेकी थिईन् । सन्तोषले मात्रै स्वीकार गरिदिए त टण्टै खत्तम हुन्थ्यो तर के विश्वास र ! ‘यत्रो वर्ष नभएको यसपालि कसरी भयो रु यो त असम्भव छ ।’ भनिदियो भने !
सम्झनाकै तरेलीमा उनी विहेपछिको कुनै नमीठो रातमा पुगिन् । त्यसबेला उसले उनका केही केटा साथीहरूको नाम लिएर अनेक शंका उपशंका गरेर निकै नै सताएको थियो । उनीहरूसँग हाँसेको, बोलेकै भरमा झण्डै रातभरजसो किच्किच् गरेर आजित पारेको थियो । त्यसबेलै सरगमले सन्तोष कति सानो सोचको रहेछ भनेर चिनिसकेकी थिईन् । हो, त्यही कारण हो यो समस्या देखिने बित्तिकै खुलस्त भन्न नसकेकी उसलाई । नत्र त आफूले थाहा पाउने साथ भनिसक्ने थिईन् । कम्ता हतारो र पीडा थिएन उनलाई । तैपनि चुपचाप थिईन् । मुख चुपो लागेपनि वाकवाकी लाग्ने र पेट निरन्तर बढ्ने क्रम जारी नै थियो । र, त्यो सँगसँगै असह्य वेदना थपिएको थियो। अनि सुनाउने र दुस्ख पोख्ने कोही थिएन । पुरानो सोचकी सासूआमा, माइतीमा भनेर समाधान नहुने खालको समस्या, पढेलेखेको भए पनि संकुचित सोचको लोग्ने ! अगाडिको बाटो सारै अक्कर लाग्यो उनलाई ।
औषधी खाएर वा सुरक्षित गर्भपतन गर्ने पनि एउटा उपयुक्त विकल्प थियो तर त्यसमा श्रीमानको सहमति अनिवार्य जस्तै थियो । कसैगरी सन्तोषलाई थाहै नदिइ गर्भपतन गराउँदा कथङ्काल सन्तोषले सुँइको पायो भने….. ! उनको हृदय भयभीत भएर काँप्न थाल्यो । आफूखुसी गर्दा राम्रो कामको समेत नराम्रो नतिजा निस्कने निश्चित प्रायः थियो । मुख्य कुरा त म गर्भवती भएँ भनेर नै कसरी भन्ने ! समस्या त्यहाँनेर थियो । फेरि समस्यासँग डराएर भागेर पनि त कति दिन चल्ला र !
एक रात खानपिन सकेर सुतेपछि उनले भित्रैदेखि आँट गरेर सन्तोषलाई भनिन्, “खै के भएर हो ! मिन्स नभएको त दुई महिना पो नाघिसक्यो । म त डर लागेर मर्न लागिसकेँ ।”
त्यसबेला सन्तोषको अनुहार हेर्न लायकको भएको थियो । आश्चर्यले हो कि क्रोधले हो ! ऊ यसअघि कहिल्यै यस्तो देखिएको थिएन । रात परिसक्दा समेत घना जङ्गलमा बस्ती निस्कने बाटो फेला नपरेर चिन्तित एकल यात्री झैँ के गर्ने, के नगर्ने छक्क परेकी थिईन् सरगम पनि । भन्न नहुने कुरा भनेछु कि जस्तो पनि नलागेको होइन त्यतिबेलै । तर मनमा आगो बालेर केही नभएको बहाना कतिञ्जेल गर्न सक्छ र मान्छेले । उनले पनि त्यही ज्वाला शान्त पार्न खोजेकी थिईन् । तथापि त्यसले पानीको काम गरेर शीतलता प्रदान गर्छ कि अझ विराट् रूप लिन्छ ! हेर्न बाँकी नै थियो ।
०००
धेरैबेर चिन्ता र लोग्नेको प्रतिक्रियाको प्रतीक्षामै बित्यो । उसले सहर्ष स्वीकार गर्छ कि !अपमान गर्छ ? सत्यतथ्य बुझ्न वैज्ञानिक पद्धति अँगाल्छ कि ! पुरातनवादी सोचमा डुबेर लत्याउँछ ? यतिबेला उनको हृदय जड हुँदै थियो । अब आफू निकै ठूलो समस्यामा फसिसकेको र त्यसबाट पार पाउन चुकाउनुपर्ने मूल्य सम्झदाँ मात्रै उनी चेतना शून्य हुँदै गईरहेकी थिईन् र देब्रे छाती अस्वभाविक तवरले उफ्रिरहेको थियो । उनको नयनबाट अनायास अश्रुधारा गाला हुँदै घाँटीतिर बग्न थाले । यत्तिको समय सँगसँगै बसेर पनि आफूमाथि विश्वास नगर्ने पढालेखा लोग्ने देखेर उनको छाती चरचरी चिरिदैँ गएको थियो ।
आफ्ना ठूल्ठूला इच्छा, चाहना मारेर घरगृहस्थी सम्हाल्दै छोराछोरी हुर्काउँदाको दुस्ख पीडा सम्झन चाहन्नथिन् सरगम । तर नचाहँदा नचाहँदै पनि ती दुस्खका दिनहरू, ननिदाएका रातहरू पालैपालो आइरहे सम्झनामा ।
शान्त कोठामा बल्ल आवाज आयो, “म तिमीलाई अविश्वास त गरिहाल्दिनँ तर विश्वास गर्ने आधार त चाहियो नि एउटा ! फेरि मैले मात्रै मानेर बुझाएर भएन । घरपरिवार, आफन्त र समाजको पनि त चित्त बुझाउन सक्नुपर्यो । रोएर समस्याको समाधान हुन्न हेर, अब तिमीले के सोचेकी छ्यौ त ? भन त ।”
सन्तोषको यस्तो कुरा सुनेर उनमा साहस ह्वात्तै बढेर आयो र भनिन्, “म निर्दोष छु र यो कुरालाई साबित गर्न म जे गर्न पनि राजी छु । चाहे मेरो ज्यान नै किन नजाओस् । तपाईं जे भन्नुहुन्छ म सोही गर्छु ।”
“त्यसो भए अब हामी केही दिनमै काठमाडौँ जानुपर्छ र केही मेरो अनि केही तिम्रो परीक्षण गर्नुपर्छ । अहिलेको युगमा मान्छेले एक अर्कालाई क्षणिक रूपमा ढाँटछल गरे पनि त्यो लामो समयसम्म टिक्न सक्दैन ।”
“हो नि, झुटको खेती कति दिन टिक्छ र ! ल कहिले जाने हो रु बरु अलि छिटै जाम् न ।” उनले खुसीले पुलकित हुँदै भनिकन् ।
“हुन्छ, जाउँला नि ! पहिला मेरो भ्यासेक्टोमीमा केही समस्या छ कि हेरौंला । त्यसपछि डिएनए परीक्षण गर्नुपर्छ । अनि त प्रष्ट भइहाल्छ नि ! ”
सरगमलाई एउटा ठूलो युद्ध जिते जस्तै भयो । यस कुराले उनी ज्यादै हर्षित भईन् । उता सन्तोष पनि उनको खुशीपन र मुहारको भाव हेरेर पक्कै पनि यिनको दोष छैन होला भन्ने ठम्याइमा पुगिसकेको थियो ।
केही दिनपछि सरगम र सन्तोष काठमाडौँ गए रे भन्ने कुरा पधेर्नीहरूको गफको विषय बनेको थियो ।