
मुक्तकहरु
विष्णु थापा ‘विछोड’
१.मुटुभित्रका रक्त प्रवाह सबै पठाई दिन्छु
फूलको पत्रपत्रमा हाम्रो प्रेम अटाई दिन्छु
नजिक आउ मेरी प्रिया आज के माग्छौ माग
नपुगेमा फेरि माया थप केही बढाई दिन्छु ।
२.परालको त्यान्द्रो जस्तो सुकेर बाँच्नु हुँदैन
अफ्ट्यारो अवस्थामा लुकेर बाँच्नु हुँदैन
देखाउ तिमी आफ्नो तागत ज्ञान र विवेकको
शत्रुहरूको अगाडी झुकेर बाँच्नु हुँदैन ।
३.कोही यहाँ जानीबुझी बिराएर मज्जा लिन्छन्
अर्कालाई सकेसम्म गिराएर मज्जा लिन्छन्
रमाएकाछ्न् धरा अम्बर संसारकै हित सोच्दै
मान्छे उसै अरुलाई पिराएर मज्जा लिन्छन् ।
४.नदेख्दा सम्झिएरै आँखा पनि रसाउँछ
मनमा के के गुन्दै अधर यो हसाउँछ
अनौठो छ प्रेमको जिनिस खबर बोकि ल्याई
यादहरूको लस्कर वरिपरि बसाउँछ ।
५.तिमी र मसँगै बसि प्रेमरस पिउन पाए
फाटेका मनका कुना दुवैमिली सिउन पाए
कस्तो हुन्थ्यो होला सानु मिलनका पलहरू
माया नै मायाको संसारमा जिउन पाए ।






