
कविता
स्व.टिपी शर्मा तिमल्सिना
तिमीले भत्काइदिएको बाटो
भत्किएको थियो बाटो
म त्यहीँबाट हिडिरहेको थिएँ
जुन बाटो तिमीले भत्काएका थियौ ।
यो बाटो निकै पुरानो थियो
आउडेखाउडे र खाल्डाखुल्डी परेको
साह्रै अप्ठ्यारो थियो
तर,तिमीले यसको मर्मत गरेनौं
स्याहार सम्भार गरेनौ
हो म अहिले त्यही बाटो हिडिरहेको थिए
जुन तिमीले भत्काएका छौ ।
त्यति सुगम छैन्
जीवन कि मृत्यूको दोसाँधमा
यात्रा गर्नु कठीन छ
कोही पछाडिबाट तान्छन्
कोही अगाडिबाट हान्छन्
तैपनि एउटा मृत जीजिविषाको
बोकेर ढाकर
पाइला लम्काउँदैछु
त्यही अप्ठ्यारो ठानिएको बाटो
जुन बाटो तिमीले भत्काएका थियौ
अर्थपूर्ण सपनाहरुको पछिपछि
जीवनका अनेक आरोह अवरोहहरु सहँदै
गन्तव्यतर्फका पाइला लम्किरहे
उज्यालोको आविष्कार खोज्ने
भुइँमान्छेहरुलाई बचाउँने र बाँच्ने
मेरा मृगतृष्णाहरुले मलाई
त्यतैतिर तानिरहे निरन्तर
हो मित्र,म त्यही बाटो हिडिरहेको छु
जुनबाटो तिमीले भत्काइदिएका छौ ।
रंगिचंगी सपनाहरुको फूलबारी
सुसाइरहेका दुखीहरुका सुस्केराहरु
आममान्छेका आशावादी घुँगरु नच
सबै सबैको कारण
म त्यही बाटो हिंड्ने जमर्को गर्दैछु
जुन बाटो तिमीले भत्काइदिएर
आममान्छेका सपनाहरु घाइते बनाएका थियौ
म तीनै घाइते सपनाहरुलाई निको पार्न
त्यही बाटो हिड्ने प्रयास गर्दैछु
जुन तिमीले भत्काइदिएका थियौ ।
(स्व.शर्मा काभ्रे,नमोबुद्ध नगरका प्रथम नगरप्रमुख हुनुहुन्थ्यो,रोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष,नेपाली भाषा,साहित्यमा निरन्तर कलम चलाउनुहुन्थ्यो । उहाँको यहि असोज ७ गते निधन भएको थियो ।इखबर नेट परिबारका शुभचिन्तक स्व.शर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं- प्रधान सम्पादक)






