
निबन्ध
रुपा रिसाल
प्रेम
सागरको सतहमा बसेर प्रेमको कल्पना गर्न त सकिएला मोति टिप्न त गहिराइमा पसेर कयौं संघर्ष गर्नुपर्छ । त्यो अथाह पानीमा डुबेपछि मात्र थाहा पत्तालगाउन सकिन्छ । मानवका छातीभित्र सल्बलाउने माया नै प्रेमको रुप हो त । एक झलक देख्नका लागि सयौं जुनिसम्म तड्पी रहेका मष्तिस्कमा मथिङ्गलमा कुन स्थान पाउन सकिन्छ होला । सधैं प्रात: कालमा कल्पेर इश्वर प्राप्तिको लागि कर्मठ हातहरुमा ।
‘ कराग्रे बसते लक्ष्मिस्, कर मध्ये सरस्वति, मूले तु गोविन्दस् प्रभाते करदर्शनम् ।’ भज्दै बिउँझने सर्वश्रेष्ठ मानवका दिनचर्यामा यी हातहरुमा इश्वरले चुमेको कुरा भुल्न सकिदैन ।
त्यही अजर अमर मानवीय शक्तिमा र अलौकिक शक्ति प्रतिको मोहमा बसेर प्रेम हुन सक्छ । अपार उदार भावनामा प्राणीको दृष्टिकोणले पशु र प्रकृतिप्रतिको प्रेम मानवले कहिल्यै भुल्नु हुँदैन । ऊ पर पहाडका टुप्पाबाट हेर्ने अर्को सुन्दर हरियालीसँग मुस्कुराउँदै जाने छ, एउटा सुन्दर आकृतिप्रतिको मोहले आकर्षण गरिरहन्छ । अनि मैदानबाट हेर्दा पारी क्षितिजसम्म दगर्दै जाने सूर्यको दिनचर्यासँग उदाउँदो र अस्ताएको रुपमा आफैंलाई परिस्कृत गरिदै लैजाने जीवनरुपी देहमा समाहित भएको छ ।
आफ्नै आमा बुवा दाजु भाइ दिदीबहिनीसँगको आत्मीयता र व्यवहारिक पक्षमा झाँगिएर रहेको सामाजिक दायित्वमा बेरिएर बसेको हुन्छ । अनि भित्र आफ्नो दिव्य अन्तर आत्माले जे कुराको चाहना राख्दछ त्यो हो प्रेम । कोसँग र केसँग बस्दछ त प्रेम ? आ-आफ्नै स्वाभावमा ढंगको र हृदयमा आउने भावमा बसेको हुन्छ । बालकको सिकाई र भोगाईले के गर्दा ठीक र के गर्दा बेठीक भनी सही र गल्ती छुट्याउन सक्ने विवेकमा निहित हुन्छ ।
ऊ भन्छ कि यो प्रेम हुँदै होइन मानिसै पिच्छेको परिभाषा फरक फरक हुन सक्दछ । कुनै जादूगरको आँखामा बसेको दिवा स्वप्ना बुन्न सक्छ । हेर्ने र देख्न गतिमा कुनै मापदण्ड र मापन गर्न नसकिने अनि कुनै चिजसँग पनि तुलना नै गर्न नसकिने चिज हो । मायाको अपार नदीले धर्ती छिचोलेर सलल बगरेर महासागरसम्म पुग्ने गन्तव्य र लक्ष्यमा हुने प्रेमको कुरा कस्ले नै बुझ्न सक्छ र ।
‘चन्दा मामा दूर के पुवे पकावे गुड के’ भन्नेर हजुरआमाले चन्द्रमा देखाएर बालकका आँखामा निदरी भरी दिँदा कति सुनौला सपना देख्थ्यौ । त्यो बायुपखी घोडामा माथि आकाशमा कुदेको । अनि विक्रमादित्य जस्ता राजकुमारहरुसँग हाँसखेल गर्दै स्वर्गमा पुगेको हुन्थ्यौं । झल्यास विहान आफ्नै ओछ्यानमा पाउँदाको विष्मयकारी तीता यथार्थले सधैं पोलिरहने मनमा शीतलता दिने केबल प्रकृति माताको रुप नै हुन्थ्यो । सबै कल्पनाका बिषय हुन् र प्रेम कि बास्तविकताको नजिक । जो धेरै कल्पने र सम्झने बानी परेका मनुवाले अनुभूत गर्ने बिषय हो । संसारमा भएजति चौरासी लाख जुनीका जातिले सिकेका, भोगेका र अपनत्व गरिएका संस्कारले युक्त प्रेमानन्दको उपहास गर्न पनि त मिल्दैन नि । एकान्तमा बारबार पुराना यादका छालहरु उताउता लहराईरहँदा कति मीठा लाग्छ अतितका भरोषाहरु ।
प्रेमलाई जबरजस्ती घचेंटेर अगाडि लानु पर्छ भन्ने छैन तर प्रेममा आत्मीयता हुनुपर्छ त्यहाँ स्नेह हराउँन दिनु हुँदैन । विवाह एक सम्झौता हो जसको संस्कारमा जीवन टिकेको हुन्छ अनि पूर्वार्दका न्यानो माया जस्तो सधैं हुन्छ र हुँदैन । कुनै एकले अर्काको सम्मानपूर्वक इज्जत गरेन भने वा कसैले ठूलो कडा स्वर पार्यो भने अर्को संयम बन्न सक्नुपर्छ । जहाँ धेरै तनाव, स्वार्थले भरिएको जीवन व्यथित हुन्छ । त्यो अवस्य नै एकदिन टुट्न सक्छ । एकले अर्कोको विचार र व्यवहार नमिल्दा समझदारीमा झन् दरार आउन सक्छ । बाहिरका खराब आचरण र आकर्षक तत्वले मनमा अशान्तिको स्थान ओगट्छ सक्छ । अनि सम्बन्ध केवल समयका हुरीले हुर्याएर एउटा कुनामा थन्क्याएर राख्नसक्छ । विगतका सम्झनाले माया प्रेममा अझ गाडा बनाउने कोशिस गर्नु नै साँचो प्रेमको उदाहरण हो । केबल मुटु दिँदा फोक्सो दिनु पर्छ भन्ने सम्बन्धले स्वार्थको सृजना गरी जिन्दगानी टिकाउन सकिदैन ।
प्रेमलाई जीवन्त राख्न त मानवीय भावनासँग प्रगाढ ईश्वरको स्वरुप मनमा बस्दैजान्छ । दिल लगाउने र दिल बस्नुमा धेरै अन्तर रहेछ । दुई मुटु जोडिंदा अर्कै किसिमको हर्मोन उत्पादन हुन्छ । जुन विशाल आकाशमा बिजुली चम्केको जस्तो हृदयमा तरङ्ग छाउँदै प्रेमको आभास बन्न पुग्छ । जुन आशाको प्रतिक बन्दै आँखाभित्र सजेका सपनाहरुसँग प्रतिविम्बमा टिकेर बस्छ । सूर्यको प्रकाशको उज्यालो तिर लम्केर जाने र दिनरात टिकाउने प्रयासमा हुन्छ । औंशी पछिको प्रतिपदाको दिनमा उदाएको चन्द्रमा झैं विकसित बन्दै पूर्ण रुपमा विस्तार हुँदै गइरहेको हुन्छ । आखिर प्रदिप्त हिरा झैं प्रेमीको आँखाको ज्योतिले नै पनि आधार पाएर अदिप्तले पनि प्रकाश छरिदिन्छ चाँदनीको रुपमा ।प्रेमका पाइला हिडेको देखिंदैन केबल आभाषले भरोसा दिलाउन सक्छ ।आँखामा इन्देणी सपना सजाएर जीवन र जगतलाई झलमल्ल गराउँछ ।
सेक्सपियरको रोमियो जुलियटको प्रेम कथा जस्तो महान बन्न सक्छ । मुख्य कुरा विश्वास, सम्मान र संवेदनशीलता हो।सम्झौतामा मात्र टिकेका सम्बन्धले आफ्नो मर्म गुमाउँछन्। साँचो प्रेमले मिठास, न्यानोपन र आत्मीयता बाँचिराख्छ , तर असत्य र केवल आवश्यकता भरका सम्बन्धहरू केवल सतही बनेका हुन्छन्।प्रेमको रस भाव आँखा र मुटुमा अङ्गकुराउन कहाँ सजिलो छ र रु एउटा गुलाफको बोटमा कोपिला लाग्न कति समय लाग्छ । कति घाम पानी खेप्नु पर्छ कति धैर्यवान बन्नुपर्छ ।
मानव मात्र होइन सारा चलचर थलचरहरुको जीवनको यथार्थता नै प्रेममा फसेको हुन्छ । हिम शिखरबाट प्रचण्ड घामका रापले तताएर पग्लने हिमनदीको पानी जस्तै स्वच्छ निर्मल रङ्ग गंगा जस्तो पवित्र भै बासना रहित प्रेमको धार बगेको हुन्छ । जुन प्राकृति र पुरुषको अवधारणा आकाशलाई नियाली रहने धर्तीको आधार हुन सक्छ । कुन प्रेमको धागो उत्पत्ति हुन जाने हो त्यस्को व्याख्या र विश्लेषण गर्न महान बैज्ञानिकहरुले समेत सकेका छैनन् । सुख्खा मरुभूमिमा हराभरा रुखहरु किन हुर्कन सकेका छैनन् । माया प्रेमको अस्तित्व पलाउने बहानामा कयौं विद्वानहरुले धर्तीको मूल्य र मान्यताको अन्वेषण गर्न निक्कै कष्ट भोगेका छन् ।
संसारकै उत्कृष्ट स्वरुप मानव जीवन नै प्रेमको अस्तित्व हो । प्रेमका अनुसन्धानकर्ताहरु थुप्रै जन्मे हुर्के तर व्याख्याकार कोही पनि स्पष्ट बन्न सकेनन् । किनकी उनीहरुले नै जीवनमा ठूलो धोका पाएका इतिहासमा पढ्न पाइन्छ । प्रेमको साँचो यात्रा त्यतिबेला मात्र सुरु हुन्छ, जब दुई आत्मा समय, दूरी र भोगाईका परिवर्तनहरू पार गर्दै पनि एकअर्कामा लहरिदै सुख दुखका पल जीवित रहन्छन्। तर यस्तो बुझाईमा प्रेमको गहिराइलाई सतहमै सीमित राख्ने दृष्टिकोण बनेको छ ।
जीवनको अन्तिम गन्तव्य इश्वरमा विलिन हुने पञ्चतत्वले बनेको शरिरीक आवश्यकता मात्र ठान्नेहरुले दुई आत्माको मिलनलाई स्वार्थ भन्दा माथि उठेर हेर्न सक्षम भएका छैनन् । शरीर त एउटा हाड मासु र रगतले बनेको पीडको बनौट मात्र न हो । शरिरीक आवश्यकता पूर्ति गर्न बिवाहलाई रचिएको भएतापनि त्यसले प्रेमको परिभाषामा सम्पूर्णता दिन सकेको छ वा छैन । धेरैले भन्छन् शरीरको निकटता केबल क्षणिक र रमझमका लागि गरिने देखिने सम्बन्ध र माध्यमका आधारमा बाँचेका पनि देखिन्छ । दुबै मिलेर प्रेमका दियो सल्काउन त सक्छन् । मान्छेका सोचलाई सतही बनाउँदै समुद्रमा केवल किनारबाट हेर्नु जस्तै हो, जहाँबाट गहिराई र जीवनको रहस्य देखिँदैन ।
साँचै मानिसका दुई आत्माको मिलन हुन के सम्भव हुन्छ र अनि परव्यक्तिसँग कसरी आफ्ना भावना र कल्पना शक्ति बिशेष रुपमा संजोग बन्न सक्छ । जन्मलिए देखिनै मानिसका भावनाहरु फरक फरक किसिमको हुन्छ । भावनाका कुरा कहिले कलपेर बसेको हुन्छ । कहिले सामुन्ने दुख नै नगरीकन पाउने पनि हुन्छ । तर भावना र जीवन भोगाईमा धेरै अन्तर पाउन सकिन्छ । आफ्ना वरिपरी भएका धेरै मित्रहरु छन् ती सबैसँग कुरा नमिल्न पनि सक्छ । कसैको कोहीको ग्रह मिलेको छ भने उसको निकटताले पनि मित्रहरुले ठूलो सफलता हाँसिल गर्न सकेका हुन्छन् । त्यस्तै माया प्रेम पनि स्थायी र पवित्र हुन्छ । प्रेम त्यो शास्वत हो जुन परमात्माको खेल हो जोसँग पनि हुन सक्छ । विवाह प्रेममा परिणत हुन सक्छ त्यो आत्माको मिलन हो भने प्रेम हृदयमा अंकुराएको शुसुप्त इश्वरीय बरदान हो ।
मान्छेका चाहना र सीमा रेखा समयसँगै मेटिन्छ, तर त्यो आत्माको संसार धेरै टाढा छ स्वर्गको बाटो भन्दा निकै परसम्म फैलिएर गएको छ । त्यहाँ वासना होइन, करुणा र समर्पणको भाषा बोलिन्छन् अनि आकर्षणभन्दा ठूलो एकमौन भाषा रहित भै समयका प्रतिक्षासँग निरन्तर रुपमा प्रगाढ रुपमा भैरहन्छ । अन्तिम स्वास रहेंसम्म चन्द्र सूर्य रहेसम्म अनि सम्झनाका यादहरु संगालेर जीवन प्रेमपूर्वक शीतल हावामा लहराएर बाँचेको हुन्छ । स्मृति र यादमा मात्र सिमित रहदैन जीवनको अस्तित्व र भोगाईका माध्यम बन्दै मृत्यु पर्यन्त पनि प्रेम बाँचिरहन्छ ।







