
‘आइया नि आमा ! फेरि मारिहाल्यो बजियाले ’ राधिका भुइँमा ढलिन् ।
त्यस्तै ३०–३२ वर्ष जस्तो लाग्ने। खाइलाग्दो,लामा लामा जुँघा भएको,अग्लो,कपाल खैरो रङले रङ्गाएको,गोरो मानिस उनको शरीरभरि निल हुनेगरि कुटिरहेको थियो।
राधिका ‘आइया,मरे भो न नकुट न छोरा ,म मरे गुहार’ भन्दै थिइन्।
अझ अर्को त्यस्तै ६०–६५ वर्ष जतिको मानिस पनि सरासर आएर उनैलाई भकाभक भकुर्न थाल्यो। गालामा दुई थप्पड लायो। कपाल भुत्ल्यायो। अझ २ लात्ती पनि हान्यो। निर्मला निक्कै टाढा थिइ त्यस घटना स्थल भन्दा। बजारबाट आउने क्रममा उसले त्यो दृश्य देखी ।मान्छेहरू निक्कै जम्मा भैसकेका थिए। छेउमा आइपुगेपछि उसले ठुलो स्वरमा भनी ‘एउटी महिलामाथि दुई दुई जना लोग्नेमानिसले कुटपिट गर्दा किन तपाईंहरु बोल्नुहुन्न हँ ?’
‘घटनाको रहस्य नबुझी हामीले के गर्न सक्छौं र म्याम ?’ भिडबाट आवाज आयो। एउटी महिलालाई पालैपालो लोग्नेमानिसले कुट्ने,जगल्ट्याउने जस्तो जघन्य अपराध विरुद्ध पुलिस बोलाउन त सक्नुहुन्थ्यो होला नि ?’ फेरि प्रश्न गरी निर्मलाले।
‘हाम्रो पारिवारिक मामिला हो तिमीहरूलाई के खाचो?’ भिडभित्रबाट प्रतिप्रश्न आयो।
यसो हेरी निर्मलाले त्यै महिलालाई अघि लात्तीले हान्ने मान्छे बोलेको रहेछ । उसलाई अति रिस उठ्यो,तर थामी । यति हुँँदा सम्ममा राधिकाको होस खुल्यो।होस आउँदा उनी यसरी बर्बराइन ‘तेरा बाउले त मलाइ कुटे कुटे तर तैँले पनि तेरी जन्म दिने आमा कुटिस है बजिया।तँलाइ पेटमा बोकेर। आधासरो गु मुत खाएर। ८ वर्ष सम्म डडाल्नै हुर्काएको बदला तिरेको होलास् है ? तेरा पनि छोरा छन् । म देख्न पाउँछु पाउदिन।’
यतिकैमा पुलिस पनि आइपुगे । तिनै जनालाई थाना लगियो। ‘तपाईंले कुटाइ खानु भएको साचो हो आमा ?’इनिस्पेक्टरले सोधे।
राधिका,‘हो सर। कसले कुटे ? यो मेरो जेठो छोरो ,उहाँ मेरो बुढो । दुबैले एक साथ कुटे सर। ’ अनि किन कुटेका तपाईंलाई ?’ ‘खै सर यी बाउ छोरालाई कति पैसाले नपुग्ने। घरमा बास हुदैन । कहाँ जान्छन्। के गर्छन्। यसो माइती मामली गएर ,अर्काको मेला गएर,कुखुरा,बाख्रा पालेर एकदुई सय पैसा मसँग छ भने चाल पाइहल्ने। माग्ने अनि नदिँदा यसरी नै कुट्छ्न् ,जहिल्यै । ’
‘अनि आज चैँ के कारणले कुटे नि आमा ?’
‘कहिल्यै घरमा शान्ति भएन। घरको आर्थिक अवस्था झन् झन् कम्जोर हुँदै गयो। न खाने अन्न न साग सब्जी केही छ। एकदुई पैसा भएको थाहा पाए उसका बाउले जसरी होस् लगिहाल्ने। अनि अहिले मेरो कान्छो छोरो बिदेश गएको छ सर । उसले कहिलेकाही मलाई अलि अलि खर्च पठाइदिन्छ। आज पनि पैसा हलिदिएको छु भनेर फोन गरिरथ्यो र लिएर फर्केकी थेँ। यी बाउ छोरैले खै कसरी चाल पाए। पैसा निकालेर फर्किदा बाटैमा मेरो यो हाल बनाए सर। अब झन घरमा बसि खान दिदैनन् ,म कहाँ जानू ?’ भन्दै डाको छोदिन।
‘कति वर्षकी हुनुभो ? ’
‘म ६० वर्ष सर। ’राधिकाले पिल्पिल गर्दै उत्तर दिइन्।
‘आमा, अझ ६० वर्ष पुगेकी मान्छे कुट्ने छोरालाई के भन्नुहुन्छ त?’
‘आमा मात्र होइन सर । हेपेर स्वास्नी वा छोरी बुहारी कुट्ने यो र यो जस्ता कुपात्रले स्वास्नी पाउदै नपाउन् । स्वास्नी पाइहाले भने पनि यस्ता कुलङ्घारले पुस्तौं पुस्तासम्म छोरीको अनुहार देख्न नपाउन सर । मेरो आशिर्वाद छ छोरालाई ।’







