
कस्तो हुस्सु म ? कार्यक्रम पर्सि रहेछ आजै सम्झेर आइपुगेछु । यसो वरिपरि आँखा डुलाएँ । म जुन कार्यक्रमको लागि भनेर आएको थिएँ त्यस किसिमको दृश्य नभएर बेग्लै दृश्य र पाहुनाहरुको रङ्गरुप पनि नितान्त बेग्लै देखेँ । शंका लागेर त्यहाँको स्टाफलाई सोधेको त—‘आज होइन नि म्याडम पर्सि पो हो त ।’
आफ्नो हुस्सु पन देखेर आफैँ प्रति मज्जाले हाँस्न मन लाग्यो ।
एकजना ड्राइभरको बुवा बितेको हुनाले घर गएको थियो । अर्को ड्राइभर श्रीमानजीले लैजानु भएको थियो । जाममा परेकोले समय मै आइपुग्न नसक्ने भनेर श्रीमानजीको फोन आएपछि यसो घरको बरण्डाबाट बाहिर हेरेको त ठ्याक्कै एउटा ट्याक्सी आइरहेको देखेर बरण्डैबाट चिच्याएर रोकेँ । हतार हतार ओर्लेर ट्याक्सी चढेर गएको त झन् कार्यक्रम त पर्सि पो रहेछ । बेकारमा हेरत ? आफ्नो सुद्धि देखेर आफैँलाई रिस उठ्यो ।
उसै पनि असार साउन महिना पानी नपर्ने त सवालै भएन । तर कसो? हिजो अस्तिजस्तो पानी झमझम परेको भने थिएन ।
यत्तिकै फर्कौ भने पनि एकजना साथीलाई आफैँले फोन गरेर कार्यक्रम आजै हो भनेर बोलाएको थिएँ, नैतिक दायित्व बोधले साथीलाई पर्खनै पर्यो । त्यसैले रेष्टुरेण्ट तिर लागेँ म । र, साथीलाई फोन गरेको त उनि पनि जाममै फँसेको जानकारी पाएकोले एउटा कोल्ड कफी अर्डर गरेँ । कसो वाइफाइ रहेछ र धन्न समय कटाउन सजिलो भयो । नत्र प्रतीक्षाजस्तो लामो र झर्का लाग्दो काम अरु केही लाग्दैन मलाई ।
देब्रे पट्टिको कर्नर टेबुलमा तिनचार जना युवती र एकजना मात्रै युवक बसेर गफ गर्दै थिए । र, ति मध्ये एकजनाको भने त्यस्तै पाँच सात बर्षको छोरा पनि रहेछ । बच्चा भएसी अलिअलि चकचक गर्ने त स्वभाविकै कुरो भयो । सबै युवतीहरुका हात मेहन्दीले रङ्गीएका, टन्न हरियो काँचका चुराले सजिएका र गलामा हरियो पोते लटकाएर गफमा मस्त रहे तापनि घरीघरी बच्चाको चकचक र बालसुलभ प्रश्नले उनिहरुको गफमा ब्रेक लागिरहेको थियो । र, बच्चाको आमाले यसो नगर उसो नगर बाबुभन्दै आफ्नो छोरालाई मायाले निर्देशन दिइरहेको थियो ।
उनिहरुको टेबलमा बेटरले पेय पदार्थ राखेर गएपछि अचानक तिनीहरुको गफको बिषय फेरियो — ‘यो साउन महिनाभरि म त माछा मासु नै खान्न । आज त साउनको सोमबार माथि पनि हरिशयनी एकादशी हो । म त व्रत बसेकी छु । जुस र फ्रुट बाहेक आजको दिन अरु केही खान्न । अब घर गएर कि त पानी रोटी खान्छु कि त दुध र रोटी । तिमीहरु केही केही खाउ न? मलाई यही जुसभए पुग्छ ।’
अर्किले भनिन्— ‘म व्रत बसेको त छैन । तर यो महिनाभरि माछा मासु त खान्न नि मैले पनि।’
अनि फेरि अर्कीले भनिन् —‘हो त ! मैले त लसुन प्याज पनि खान्न ।’
‘हो नि ! श्रीमानको लागि यत्ति त गर्नु पर्यो नि होइन?’ अर्किले थपिन्
यतिञ्जेलसम्म चुपोलागेर उनिहरुको कुरा सुनेर मात्रै बसिरहेको युवकले बोलेको सुनियो—‘ए हो ? गोलभेँडा पनि खानहुन्न र ?’
‘हुन्छ लसुन प्याज माछा मासु मात्रै हो नखाने ।’
‘ए हो !’ युवकले भन्यो ।
‘साउन महिनाको ब्रत हो नि त । यो व्रत त हामीले हाम्रा श्रीमानज्यू को दीर्धायूको लागि बस्ने हो ?’ दाम्पत्य जीवनमा सधैँ हरियाली छावोस् भनेर हरियो चुरा पोते टीका र कपडा लाउने हो । अचेल त मेहेन्दी लाउने चलन पनि खुब बढ्या छ ।
—‘ए हो !’ युवकले भन्यो ।
उमेरका हिसाबले छोरीहरुजस्ता कुरा र बिचारले चैँ हजुरआमाजस्ता । एक्काईसौँ शताब्दीका गृहणी युवतीहरुका कुरा सुन्दा अचम्मै लाग्यो मलाई । उनीहरुका गफका बिषयहरु मेहन्दी, चुरा, धागो, पोते, कपडा, खाना र व्रतका कुराहरुभन्दा निम्न विषयहरुमा हुनुपथ्र्यो होइन र? भन्ने लाग्यो मलाइ भने—
— आमाको नाउँमा नागरिता पाउनु पर्ने बारेमा ।
— लैङ्गीक विभेद र यौनिक हिंसाको बारेमा ।
—महिला बेचखिनको बारेमा ।
—समान अधिकार र अवसरको बारेमा ।
—दाइजो प्रथाको उन्मुलन र आर्थिकरुपमा सशक्तीकरणको बारेमा ।
—जरो गाडेर बसेको कुसंस्कारलाई उखेलेर फ्याक्ने बारेमा ।
तर तिनीहरुले त्यस्ता केही पनि बिषयमा गफ गरेको सुनिएन ।
यत्तिकैमा गेटबाट साथी आइरहेको देखेपछि म पनि मेरो टेबलबाट उठेँ र ति युवतीहरु छेउ पुगेर भने —‘नानीहरुले श्रीमानको लागि यत्ति धेरै पुजाआजा र ब्रत बस्नुहुँदो रहेछ अत्यन्तै राम्रो कुरा हो । तर कहिलेकाँहि नानीहरुका लागि पनि नानीहरुका श्रीमानहरु व्रत बस्ने गर्नुहुन्छ कि हुन्न त ?’
एकाएक यस्तो प्रश्न सुनेर अक्क न बक्क हुँदै मुखामुख गरे सबैले ।
उनिहरुको उत्तरको प्रतीक्षा बिनै सरासर अगाडि बढेँ म ।
पछाडिबाट आएको स्वरभने कानैमा ठोक्कियो —‘कस्ती पागलजस्तै बुढी रै‘छे…..!’
(मेरो दोस्रो कथासङ्ग्रह ‘बेग्लै म’बाट)






