संस्मरण
छविरमण सिलवाल
कहिल्यै नभूल्ने त्यो चड्कन
मान्छे जन्मदै भाग्यसँगै लिएर आएको हुन्छ । भाग्यलाई कर्ममा बदल्नेहरुको जीवन सुखी हुन्छ । भाग्यमा भर परेर कर्म नगर्नेहरुको जीवन ढलपल भएको देखिन्छ । जीवन एक किताब हो, मान्छेका प्रत्येक पाइलासंगै संघर्षका पानाहरुसँगै पल्टन थाल्छन । जीवनका घटना उपघटनाक्रमले हरेक दिन केही न केही सिकाई रहेका हुन्छन् । यही सिकाईले नै हाम्रो जीवनलाई मार्गनिर्देशन गर्छ । प्रत्येक मान्छेका जीवनका आ–आफ्नै भोगाई हुन्छन्, ति भोगाईलाई लिपीवद्ध गर्दा धेरैलाई उत्साह भर्ने काम गर्छ । मैले पनि मेरा जीवनका यस्तै भोगाई लिपिवद्ध गर्ने कोसिस गर्दैछु ।
–‘जीवन एक कला हो, त्यसमा हाम्रो जन्म पहिलो कला हो भने जीवन दोश्रो कला हो । पहिलो कला सृष्टि हो । दोश्रो कला स्थिति हो । जन्म पश्चात् जीवनलाई सफल बनाउनु महान वीरता हो । जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो ।’
महेश्वर बनेपालीज्यूका यी हरफहरुले जीवनको परिभाषा दिएका छन् । हरेक मान्छेका जीवनप्रति हेर्ने दृष्टिकोण फरकफरक हुन्छन्, लक्ष्य फरक हुनसक्छन्, जीउँने कलामा एकरुपकता नहुनसक्छ, तर जन्मने र मर्ने प्रक्रिया एउटै हो । मान्छे जन्मेपछि मर्नै पर्छ । हरेक मान्छेले कर्मलाई उच्चस्थानमा राखेर कामलाई सम्मान गर्न सक्यो भने जीवनको लक्ष्य र सार्थकता प्राप्त गर्न सकिन्छ, यो मेरो भोगाईबाट प्राप्त भएको ज्ञान हो ।
अहिले मान्छे आफ्नो काम, कर्तव्य के हो, भन्नेमा अल्मलिएको देखिन्छ । मान्छे आफ्नो जीवनको उद्देश्य तथा कर्तव्यच्यूत भएर अहंको पर्खाल चढ्न थालेका कैयौँ उदाहरणहरु वर्तमान समयमा देख्दै र भोग्दैछौँ । यही भोगाईका केही पाटाहरुमा मेरो जीवन कहिले उर्वर बनेको छ, कहिले रुख्खासुख्खा, यी सबैले जीवनलाई सार्थक बनाएको छ । हण्डर र ठक्करविना मान्छे लक्ष्यमा पुग्न सक्दो रहेनछ भन्ने ज्ञान पलाएको छ । मैले जीवनका यही पाटाहरुलाई शब्दमार्फत व्यक्त गर्न खोज्दैछु । लेख्ने खुराकहरु धेरै छन् जीवनका । सुखका भन्दा पनि दुःख र संर्घषका पाटाहरु जीवनमा लमतन्न भएर रहेकाछन् । कहाँ र कसरी शुरु गरौँ, भन्ने दुविधामात्र हो । तर, लेख्दै गर्दा विगतका घटनाहरु आफै शब्दमा उनिन पुग्छन्, जीवनको परिक्षा प्रत्येक क्षण–क्षणमा दिइरहेको हुन्छु, जस्तो लाग्छ ।
अहिलेका मान्छेमा आदर, सत्कार र मानवीयताका भावनाहरु प्रायः देखिदैनन् । संसार पैसा र शक्तिमा कुदिरहेको छ । एकथरी मान्छेको बुझाई छ, पैसा भएपछि शक्ति आफै आउँछ, त्यसैले उनीहरु पैसाको पछि कुदिरहेका छन् । पद–प्रतिष्ठामा पुगेकाहरु पुस्तौपुस्तालाई पुग्ने अकुत धन आर्जन गर्न व्यस्त छन् । जीवनमा पाएको पद–प्रतिष्ठालाई समाजमा बसेर उत्तरार्धमा समाज बदल्नुपर्ने व्यक्तिहरु धमाधम जेलको हावा खाइरहेका छन् । यो उनीहरुको नराम्रो कर्मको फल हो । हामीले धान फलाउन धान नै रोप्नुपर्छ, कोदो रोपेर धानको आशा गर्नु त्यो मुर्खता हो । हो, वर्तमानका मान्छेहरु पनि त्यही मुर्खता गरिरहेका छन् ।
कसैलाई कसैमाथि विस्वास छैन । मेरो बुबाको भाषामा भन्ने हो भने ‘यो कलि धपक्क बलेको अवस्था हो ।’ पुराना कुराहरुलाई जोड्न खोज्छु, वर्तमानका अवस्थाहरुले छोड्दैनन्, हुनतः हामी बाँचेको युगको कुरा हो, पचासको दशकमा टेकिरहेको छु, यो अवधिसम्म जिन्दगीले धेरै भोगाई सकेको छ । धेरै अनुभव बटुली सकेकोछु, जीवनको यात्रा छोटिदैँ गएको छ, तर म आफूलाई सधैँ उर्जावान नै ठान्छु । सधैँ बिहान व्यूझदा नयाँ जीवन प्राप्त गरेको ठान्छु । आखिर हामीले भोगेका सबैसबै यही छोडेर जाने हो, कृति येश बनाउन सकियो भने, युगले सम्झने छ, भन्ने भोक कहिले काहीँ जाग्छ, त्यही भोक शब्दहरुमार्फत यता पोख्ने गरेको छु । प्रकृतिको नियमको परिधि कसैले कुनै पैसा र पावरले मिच्न पक्कै सक्दैन । हो यही परिधिभित्र रहेर आफ्नो कर्तव्य पालना गरिरहनु उत्तम ठान्छु ।
मानिस र प्रकृतिको सहचर्य मानिसको सृष्टिसंगै शुरु हुन्छ । तर शुरुमा उसको स्वचेतना विकसित भएको थिएन । चेतना विकसित नहुन्जेल मान्छेलाई प्रकृतिको वास्तै थिएन । जव जव मान्छेलाई चेतनाको विकास हुनेक्रम वढ्यो अनि प्रकृति हाम्रो लागि नै रहेछ भन्ने ज्ञान वढ्न थाल्यो । प्रकृतिका अनुपम सौन्दर्यहरुसंग सहकार्य गर्दै अघि वढ्न थाल्यो, उसैको उपलव्धिहरुलाई हामीले पनि पालना गर्दै आज यहाँ जीवन जिउँने क्रममा उभिएका छौं । उभिइरहने छौ ।
यही प्रकृतिको काखमा हामी प्रकृतिको नियम परिधि भित्र रहेर आफ्नो जीवनको अन्तेम पलको पर्खाइमा लामवद्ध भएकछौं । सानोमा आफूले भोगेका, गरेका कामहरु सम्झदा अहिले कता कता रोमान्चित हुने गर्दछु, कहिले काही लज्जावोध पनि हुने गर्दछ । कस्तो बेला हो त्यो ? अहिले मेरो छोराको बाल्यकाल र मेरो बाल्यकालको तुलना गर्दछु । एक छेउ पनि मिल्दैन उसको र मेरो । कम्युटर र टेलिभिजन कहाँ थियो र त्यसवेला गाउँको ठूला ठालू भनाउँदाहरुले रेडियो भिरेको देख्दा कस्तो रहर लाग्थ्यो, अहिले रेडियोको त जमाना नै छैन भने पनि हुन्छ । तर मलाई रेडियोमा बोल्ने भोक जागेको छ, वि.सं.२०७५ भाद्रदेखि नियमित कार्यक्रम प्रस्तोता भएर बोलिरहेकोछु ( रेडियो अन्नपूर्ण नेपाल ९४ एफएममा । एफएममा प्रवेशको पनि रोचक कथा छ,यो प्रसंङ्ग अर्को आलेखमा प्रस्तुत गर्नेछु ।
त्यसबेला डण्डी–बियो, कपर्दी, निकै खेलिन्थ्यो । अहिले ति खेलहरु पनि गाउँमा खेल्न छोडिसकेको देख्दा आफ्नो मौलिकपन हटेको महशुस भएको छ मलाई । हामीले मोजामा कपडा हालेर बनाएको बल धेरै खेल्यौँ । नाङ्लाको बिड र पाइपको पाङ्ग्रा बनाएर कति गुडाइयो भनिसाध्य छैन । हाम्रा यी खेलौनाहरु अहिले लोप भइसकेछन् । तर समयको परिवर्तनसगै भएका विकासले पनि राम्रै गरेको छ । यही समयको नियम हो । हिजो हाम्रा पूर्खाहरु कन्दमूल खाएर रुखका बोक्राहरु लगाउँथें, आज हामी त्यही रुखका बोक्रा र रुखमा नै फलेका अनेकौ चिजहरुबाट बनेका लुगाहरु लगाउँछौं । यो राम्रो कुरा हो, समय घुमिरहन्छ, कुमालेको चक्र जस्तै, हामी पनि घुमिरहेछौं समयको घट्टमा फनफनी ।
त्यो समय स्वर्णिम समय थियो, आफ्नो अर्काको केही थाह हुदैँन थियो, सवै समान लाग्ने, अहिले सम्झदा मिठो अनुभूति हुन्छ । खाली खुट्टा पूरै गाउँ हिडिन्थ्यो । कसैको घरमा कुनै कार्जे भएमा अहोरात्र खटेर काम गरिन्थ्यो । सवैको सहह्रदयी भावना । दु:खसुखमा सबै एक हुने । युवा शक्ति गाउँमै थिए । दुःख, सुख सबैको एउटै हो भन्ने भावना थियो । पर्म, मेलापात घाँस दाउँरा गर्न सवैसँगै कस्तो रमाईलो ! त्यो क्षण अहिले सम्झदा पनि निकै आनन्द लाग्ने गर्दछ ।
हुनतः गाउँ छोडेको धेरै वर्ष भएपनि बुबाले छोडेका नासोहरु आजपनि छदैँछन् गाउँमा । बेला बेलामा घर पुग्दा यी यादहरु मेरो मानसपटलमा ठोेक्किने गर्दछ । परिवर्तन धेरै भएको छ र, भावना एउटै छ आज पनि हाम्रो गाउँमा । यही भावनाले गर्दा म मेरो गाउँप्रति निकै मोहित भएको छु । म मेरो गाउँको गर्व गर्छु । फूर्सदिला क्षणहरुमा म आफ्नै गाउँमा रमाउँने गर्छु । माधबप्रसाद घिमिरेको शब्द तथा जनार्दन सम, लसमित राई र यशोदा पराजुलीको स्वरमा रहेको –‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो…….।’ यी कालजयी गीत बजिरहेको छ, यही धुनमा म मेरो गाउँ र बाल्यकालको सम्झनामा डुविरहेको छु ।
हुनतः पहिले र अहिलेकोमा निकै अन्तर छ मेरो गाउँ । पहिले अत्यावश्यक सामानहरु लिनको लागि धुलिखेल नै पैदल आउँनुपर्दथ्यो, अहिले घरघरमा मोटर पुग्छ । भकुन्डेमा ठूलै बजार छ । कलेज तथा जिल्ला स्तरीय अस्पत्ताल खोलिएको छ । बनेपा वर्दिवास सडकको निर्माण सकिएर यातायात सुचारु भएको धेरै वर्ष भएको छ । यस कारण मेरो गाउँले विकासको गतिलाई तिब्ररुपमा अगाडी वढाएको छ । यो गौरवको कुरा हो । अहिले गाउँ होइन शहर भएको छ । गाविस होइन, नगरपालिका भएको छ, नमोबुद्ध नगरपालिका । म मेरो गाउँको कल्पनामा भूल्दा यस्तै कुराहरुले मेरो मन–मष्तिस्कलाई एक किसिमको आनन्द प्राप्त हुन्छ र आत्मवल वढेको आभाष हुन्छ । आफ्नो बाल्यकालको सम्झनाले निकै रोमान्चित बनाउँछ । तर, दुःखको कुरा गाउँ रित्तिसकेको छ । शहर मौलाएको छ । यो सबै समयको खेल हो । समयको परिधिलाई कसैले रोकेर रोक्न सकिन्न । समय अनुसार हामी पनि परिस्कृत हुँदैँ जानुपर्छ ।
पहिले पाउडर दुध र चनाको पीठो गाउँमा बाडिन्थ्यो । गाउँका मान्छेहरु पाउडर दुध र चनाको पीठा लिनको लागि कानपुरमा(कथाकार गुरुप्रसाद मैनाली जन्मेको गाउँ) जान्थे । हामी बुबाको पछि लागेर जान्थ्यौँ । हामीलाई त रमाईलो न थियो । करिव एकघण्टाको हिडाई पछि कानपुर पुगिन्थ्यो । पाउडर दुध र चनाको पीठा लिने लामो लाईनमा बुबा र दाइहरु बस्नुभयो । हाम्रो त के नै काम थियो र ? घरि यता घरि उता घुम्ने । मसंगै गएका केही साथीसँगै झलकप्रसाद(राम) पनि थिए । त्यहीँ पनि निकै साथीहरु बनेका थिए । बालकहरु साथी बनाउँन निकै सिपालु हुन्छन् । हाम्रो पनि अवस्था यस्तै थियो ।
झलकप्रसाद(राम) निकै बाठो थियो । मभन्दा अलि ठूलो पनि थियो । दाजु हरिकृष्ण त्यहाँको शिक्षक थिएँ । त्यहाँ भएको भिड र अब कसरी वितरण गर्ने भन्ने कुरामा अफिसमा छलफल भैरहेको थियो । हामी एकहुल बच्चाहरु अफिसमा गयाँै । मेरो दाजुभएका नाताले मलाई त त्यहाँ जान कुनै बन्देज भएन, मसँगै अरु मेरा साथीहरु गए । अफिस बाहिर दुध र पिठोका बोराका चाङहरु थिए । भित्र टेबुलमा थुप्रै मान्छेहरु गफ गरिहेका थिए । मसँग गएका केही साथीहरुले बोरा च्यातेर धमाधम दुधको पिठो हाताभरि लिएर खाँदै थिए । कोही बाहिर गएका थिए । हेर्दाहेर्दै निकै बच्चाहरु जम्मा भएर खाँदै थिए । भित्र अफिसमा कुराकानी चल्दै थियो । म पनि के कम एकमुठ्ठी दुधको पिठा लिएर खान थालें । त्यही बखत भित्रबाट एकजना मान्छेले देखेछन् । हत्तपत्त बाहिर आएर सबैलाई गाली गर्न थालें म उनकै अगाडि थिए, मलाई मज्जाले चड्काए । अरु सबै साथीहरु भागेछन् । भित्रबाट दाजु आएर मलाई चड्काउँने मान्छेलाई गाली गर्न थाले ।
‘यो मेरो भाइ हो किन पिटेको’
तिनले उल्टै दाजुलाई प्रश्न गरे –‘के तपाईले नै भाइलाई दुध चोर्न पठाएको हो ?’
दाजु अवाक भएर मेरो गाला पुछपाछ गरेर बाहिर पठाए । एकै छिनमा ढोकाको कापमा लुकेर दुध खाई सकेर गाला मुसार्दै झलकप्रसाद(राम) बाहिर निस्कियो । खानु न पिनु पुर्पूरोमा चिनु भने झैं म पनि आफ्नो गाला मुर्सादै बाहिर निस्के । ति त त्यहाँका प्रमुख नै रहेछन् उनले दाजुलाई भनेको वाक्यले आज पनि निकै ग्लानी हुने गर्दछ ।
निष्कलङ्क रुपमा रहेको त्यो बेलाका बाल्यकालमा भएका ती स्मरणहरु अहिले सम्झदा आनन्द महशुस हुन्छ । तिनै सम्झनाहरुले हामी बाँच्ने आधारहरुलाई बलियो बनाएका छन् । जे जस्तो भए पनि हामीलेसंगै ल्याएका दुःख, सुख, हाँसो, रोदनहरुलाई यही धर्तीमा छोडेर विदा हुनुपर्छ । त्यो समय बित्यो, अहिले ती स्मृतिहरु प्रिय भएका छन् । समयले हामीलाई दिने हरेक निर्णय स्विकार गर्दै जानु छ, यसैमा म पनि लामवद्ध भएकोछु ।