
पुस्तक चर्चा
अक्षत अन्टार्कटिका
जीवा लामिछानेको सरल भाषामा लेखिएको नियात्रा हो । पृथ्वीको सबैभन्दा रहस्यमय,जिज्ञासा लाग्ने र कौतुकमय स्थान अन्टार्कटिकाको यात्रा गरेर लेखिएको यो कृतिले पाठक पनि लेखकसँगै यात्रा गरिरहेको भान पर्छ । त्यहाँ भएका यावत सौन्दर्यहरुको पान गरेको महसुस गर्छ पाठकले । त्यहाँका प्रत्येक सुन्दर दृश्यहरु पाठकले मनमा खिच्नसक्ने लेखक लामिछानेको खुवी पुस्तकमा मज्जैले पोखिएकोे देखिन्छ ।
यात्राका अनुपम अनुभूतिहरुलाई नीजात्मक शैलीमा खिपेर लेख्न लामिछाने खप्पिस देखिएका छन् । यहाँ कोरा वर्णन मात्र छैन् । सुन्दर भावहरु सृजित भएका छन् । स्थानीयतामा लछप्पै भिजेका नियात्रा तथ्यपरक पनि उत्तिकै छन् र पाठकले त्यहाँको जानकारी पनि लिन सक्छ ।
अक्षत अन्टार्कटिकालाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.६००। राखिएको छ ।
सायद किनाराहरु
कवि उमेश अकिञ्चन जीवनका रंगहरु पर्गेलेर कविता कोर्छन् । भावनाको गहिराईमा डुबेर कविता उत्खनन गर्छन् । कवित्व जति सरल छ उनका कविताहरु पनि सरल हुन्छन् । ओजपूर्ण कविता लेखनीमा सक्रिय कविका यस कृतिभित्र ४१ थान शिर्षक विविधाका कविता समावेश गरिएका छन् । कोमल प्रकृतिका कविताहरु बुझेर पढ्दा आनन्द आउँछ ।
कविका भावनाहरु मज्जैले ल्याएका छन् कविताहरुले । समयको प्रवाहसँगै आएका कविताहरु दुरुह र जटिल छैनन् ।
सरल शब्द र बिम्बहरुको सामुहिक सहभागिताले कविताहरु सुन्दर बनेका छन् ।
सायद किनाराहरु इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५४९। रहेको छ।
वंशवृक्ष
संयुक्त कविता सङ्ग्रह वंशवृक्ष पुरुषोत्तम दाहाल र अनिमेष दाहाल दुई कविहरुको कृति हो । वरिष्ठ पत्रकार पुरुषोत्तम र उनका छोरा अनिमेष दाहाल कृत कविताकृतित्रि भावनाका सुन्दर भावहरु बगेका छन् जसरी बग्छन् खोला कलकल । जसरी आउँछन् फुलहरुको मोहक बासना उनीहरुका कविताहरु त्यस्तै बासना छर्छन् । सुन्दर,सुकोमल र सुलोलित भाषामा खिपिएका गद्य कविताहरुले पाठकलाई मज्जैले तान्ने सामाथ्र्य राख्छन् ।
यसकृतिभित्र १७ वटा पुरुषोत्तम र १३ थान अनिमेषका कविता समावेश भएका छन् ।
पुरुषोत्तमका कवितामा मान्छेका जीवन र जिजीविषा बोकेका,विकृति र विसङ्गतिका विरुद्ध चट्टान बनेर उभिएका कविता पढ्न सकिन्छ । संवेदनात्मकताले भरिएका कविताले मन छुन्छन् । विकृति विरुद्धको कोमल शब्दरुपी यन्त्रले प्रहार गर्नसक्नु कविको खुवी कविताहरुले देखाउँछन् ।
यसैगरी अनिमेषका कविताहरुमा विदेश बसेर पनि स्वदेशको चिन्ता गरिएको देखिन्छ। पारिवारिक मोहका कुरा पनि कविताका विषय भएको पाइन्छ ।
कविताहरु बिम्वयुक्त छन् । कवित्वचेतले भरिएका छन् । भावनाको अन्तस्करण गहिरो छ ।
वंशवृक्षलाई मिलाप पब्लिकेशन प्रालिले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३५०। रहेको छ ।






