
काठमाण्डौ ।साइनो वाङमय चौतारीको छैठौं वार्षिकोत्सवका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी कवि तथा साहित्यकार मोहन दुवाल, युवा कवि तथा पत्रकार प्रकाश समीर तथा कमला भण्डारी ढकाललाई सम्मानित गरी सम्पन्न गरिएको छ ।
शनिवार केएमसी स्कूल बुद्धनगरमा आयोजित कार्यक्रममा पाठ्यक्रमविद तथा समालोचक रमेशप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल तथा समीक्षक डा.अमृता शर्माको विशिष्ट आतिथ्य उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रा.डा.रमेशप्रसाद भट्टराईले साइनो विविध भाषामा सिर्जना भइसकेको र यसले छोटो समयमै विश्वव्यापी स्थान बनाइसकेको हुँदा यसलाई नेपाली वाङ्मयमा स्थापित गर्नका लागि साइनोलाई अझै परिष्कृत गर्न सके यसले विश्वका र नेपालका पनि विभिन्न भाषाको विकास हुन सक्ने विचार व्यक्त गरे ।
०७६ साउन १६ गते बाल साहित्यकार तथा साइनो प्रणेता डा.छायादत्त न्यौपाने ‘बगर’ ले २०७६ साल श्रावण १६ गते फेसबुकमार्फत साइनो शीर्षक दिएर तीन लाइनको सात, आठ र नौ अक्षरको सिर्जना सार्वजनिक गरेको दिनलाई वार्षिकोत्सव अभियानका रूपमा मनाउन थालिएको बताए ।
उनले छैठौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा साइनो सर्जकहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि हुँदै नेपाली जनजीवन, प्रकृति र माटोको सुगन्ध लिएर विश्व साहित्यमा समेत बलियो उपस्थिति जनाउने क्रममा रहेको बताए ।
साइनो वाङ्मय चौतारी नेपालका उपाध्यक्ष बालकुमार क्षेत्रीले साइनो कविता, संस्थाको विकासक्रमको रसंस्थाको गतिविधिका बारेमा प्रकाश पारेका थिए । यसैगरी धातानन्द गैह्रेद्वारा शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा केशव ज्ञवाली ‘अज्ञात’ सुरेन्द्र शाही ‘गुलाब कान्छो’ शान्तिराम भट्टराई, धनबहादुर थापा, सरिता पराजुली, आशाकुमारी तिम्सिनाले साइनो रचना वाचन गरेका थिए ।



