
अन्तरवार्ता
निबन्धमा विचार नै सबैभन्दा ठूलो हतियार हो । निबन्धकारको कल्पनाशक्ति, तार्किक क्षमता, विषयप्रतिको गहिरो ज्ञान र सम्बन्धित विषयलाई सम्प्रेषण गर्ने भाषा कलात्मक र प्राञ्जल भयो भने निबन्ध सुन्दर बन्छ: निबन्धकार श्रीबाबु कार्की
(तामाकोशी गाउँपालिका झुले,दोलखामा जन्मेका श्रीबाबु कार्की बालकथा,लघुकथा,कवितालगायत बहु–विधामा कलम चलाउँछन् ।कविताबाट नेपाली साहित्य जगतमा प्रवेश गरेका कार्कीका हाल कविता दुई र निबन्ध एक र लघुकथा एक र बालकथा चार पुस्तकहरू गरी आठ कृति प्रकाशित भैसकेका छन् । नेपाली साहित्यमा चाकडी गर्ने,चर्चा चाहानेहरुको भीडबाट टाढै रहन मन पराउने अत्यन्तै हार्दिक,शालिन व्यक्तित्व हुन् कार्की ।उनको‘अनेसास सर्वोत्कृष्ट निबन्ध पुरस्कार’ प्राप्त गरेको निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’आत्मपरक निबन्धमा बहुचर्चित कृति हो । उनै स्रष्टा कार्कीसँग इखबर नेटका लागि प्रधान सम्पादक प्रदीप सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ)
१. तपाईंको लेखनीको प्रारम्भको बारेमा छोटो जानकारी दिनुस न ?
– म लेखनमा अलिक कच्चा उमेरबाटै लागेको हुँ ।
कति रहरले लागें वा कति लहैलहैमा लागें, त्यो त थाहा छैन । यद्यपि मैले आजसम्म लेखिरहेको छु । कस्तो लेखेंं त्यो जिम्मा श्रद्धेय पाठहरू र समालोचकहरूले गर्नुहुन्छ होला ।
मेरो एउटा मन्त्र छ – ‘पाठक शरण् गक्छामि !’
म हरेक लेखनको मुल्याङ्कन पाठकको अदालतले गर्छ भन्ने ठान्छु । समालोचक पनि पहिलो त पाठक नै हुन् ।
म गाउँमा हुर्के । मेरो घरमा थोरै साहित्यिक माहोल थियोे । हजुरबुबा अमरबहादुर कार्कीले वि.सं. २०१२ सालमा ‘आर्तपुकार’ कवितासङ्ग्रह निकाल्नु भएको रहेछ । हजुरबुबासँग देख-भेट त भएन । उहाँ २०१६ सालमा वित्नु भएको हो । हाम्रो घरमा भानुभक्तको ‘रामायण’ / देवकोटाको ‘मुनामदन’ / घिमिरेको ‘गौरी’ लगायत धेरै पुस्तकहरू थिए । ती पुस्तक मैले सानो उमेरमा नै पढेको थिएँ । दाइ [ सन्जिव कार्की ] को पनि साहित्यमा झुकाब थियोे । थोरै हजुरबुबाको साहित्यिक गुण पनि हामी दाजुभाइमा आएको हो कि भन्ने लाग्छ । वि.सं. २०४७ सालमा पहिलोपटक रेडियो नेपालबाट मेराे कविता वाचन भएको थियो । पत्रिकामा भने २०४९ सालदेखि छापिन थालेको हो । त्यसपछि आजका दिनसम्म साहित्य-पथबाट म कतै टाढिएकाे छैन ।
२. तपाईंको निबन्ध कृति ‘सन्दिग्ध शताब्दी’ अनेसास अमेरिकाबाट वि.सं. २०८० मा सर्वोत्कृष्ट निबन्धका रूपमा पुरस्कृत भएको थियो । कस्तो अनुभुति गर्नु भयो प्रथम हुँदा ?
– म केवल लेख्ने कुरामा मात्रै विश्वास गर्छु । लेख्दा पुरस्कार / पाठक वा सिद्धान्त मेरो मस्तिष्कमा बस्दैनन् । लेख्दा म आफ्नो ब्रह्मलाई मात्रै बिश्वास गर्छु । म जे लेख्छु – त्यो ब्रह्मको कुरा हुन् भन्ने लाग्छ । लेखौं भनेर म लेख्न बस्दिन / लेख्न सक्दिन पनि । जब यो मस्तिष्कमा विचारको द्वन्द्व चल्छ । त्यो विचार धेरै दिनसम्म मस्तिष्कको भट्टीमा खारिन्छ । जब परिपक्व हुन्छ अनि लेखनको आरम्भ हुन्छ, अनि लेख्छु । कहिलेकाहीँ एकाएक लेख्नुपर्ने पनि हुन्छ, त्यो विशेष परिस्थिति भयो ।
‘सन्दिग्ध शताब्दी’ निबन्धसङ्ग्रह १२/१३ वर्षको समयावधीमा लेखिएका निबन्धहरूको सङ्ग्रह हो । मैले निबन्धमा खासगरि आत्मपरक धार समातेको हुँ । मेरा निबन्धहरू कविताको भाषामा छन् । तिनीहरू प्रायः बिम्बात्मक छन् । ‘सन्दिग्ध शताब्दी’ पुस्तकले कुनै पुरस्कार पाउला या पठकहरूको दृष्टिमा यति धेरै प्रिय होला भन्ने त सोचेकोसम्म पनि थिइनँ । म निबन्धमा निक्कै कम पाठक छन् भन्ने भ्रममा थिएँ ।
म निबन्ध सङ्ग्रह प्रकाशित गर्नेभन्दा कविता सङ्ग्रह नै निकाल्ने ह्याङमा थिएँ । यद्यपि निबन्धहरू लेखिरहेको थिएँ । छापिरहेका थिए । मलाई एकदिन समालोक प्रा.डा. लक्ष्मणप्रसाद गौतम र सुप्रद्ध निबन्धकार श्रीओम श्रेष्ठ रोदनले तपाईंले निबन्धहरूको सङ्ग्रह पहिला निकाल्नु पर्छ भन्ने सुझाव दिनुभयो । मैले त्यसपछि निबन्धसङ्ग्रह तयारी गरें । संयोगले त्यो वर्ष मेरो ‘सन्दिग्ध शताब्दी’ निबन्धसङ्ग्रहले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) अमेरिकाद्वारा एकहजार डलर सहित सर्वोत्कृष्ट निबन्ध पुस्तकका रूपमा पुरस्कृत हुने अवसर पायो ।
यो कुनै पनि लेखकका लागि खुसीको कुरा हो । म पनि खुसी भएँ । त्यसले मेरो लेखनमा थप गम्भीरता र जिम्मेवारी बढायो ।
३. निबन्ध लेखनीमा तपाइको प्रवेश कसरी भयो ?
– म २०६२/०६३ तिर साझा-विचार राष्ट्रिय साप्ताहिकको सम्पादक थिएँ । हाम्रो पत्रिकालाई तत्कालीन व्यवस्थाइतरका रूपमा हेरिन्थ्यो । त्यतिबेला व्यवस्थाको बिरोध गर्न वर्जित नै थियोे । मैले उक्त पत्रिकामा एउटा निबन्धात्मक आलेख लेखें -“लाटाेकाेसेरालाई उज्यालो मन पर्दैन !” यो अलिकति बिम्बात्मक पनि थियोे । जहाँ सासकलाई अँध्यारो मन पर्छ । उज्यालो मन पर्दैन भन्ने भाव थियोे । तत्कालीन समयमा पत्रिकाहरू सेनाले कडा निगरानी गर्थें । मैले लेखेको शीर्षकलाई सेनाले कम्प्युटरमै हेरेर यो के हो ? भनेर प्रश्न गरे । मैले ‘कथा लेखेर पेज भरेको हुँ’ भनें । अन्ततः त्यसले छापिने अवसर पायो । सेनाको निगरानी नाघेर पाठकसम्म पुग्यो । त्यतिबेला मेरो त्यो आलेख निक्कै चर्चित भयो । ‘लाटाेकोसेरा’लाई अँध्यारोको बिम्बका रूपमा र ‘उज्यालो’लाई लोकतन्त्रको बिम्बमा हेरियो । त्यसपछि त्यो धेरै पत्रिकाहरूमा छापियो पनि । धेरैले इमेल गरिदिन आग्रह गरे । मलाई त्यो शैली तत्कालीन परिवेशले सिकाएको थियो । त्यसपछि मैले आफ्नो अभिव्यक्ति निबन्धन्धात्मक रूपमा दिन थालें । अन्ततः यो शैलीमा म खारिँदै गएँ । अखबारी लेखनबाट प्रारम्भ भएको मेरो निबन्धलेखन साहित्यिक पत्रपत्रिकाहरूमा पनि छापिन सुरु भए । मेरो लेखनको सबैभन्दा कान्छो विधा हो निबन्ध । मलाई अहिले पनि बिम्बात्मक निबन्धहरू लेख्न मन पर्छ । त्यो मेरो शैली अहिले मेरो ब्राण्डका रूपमा हेरिन हेरिन थालिएको छ ।
४. तपाईको विचारमा के भयो भने एउटा सुन्दर निबन्ध बन्छ ?
-निबन्धलाई परिभाषित गर्ने क्रममा विभिन्न विद्वान्हरूको आ-आफ्नै धारणा छन् । म त निबन्धलाई परिभाषामा बाँध्न सकिँदैन भन्ने मान्यता राख्छु । पाश्चात्य साहित्यका विद्वान् निबन्धका जन्मदाता मोन्तेञले “मनोभावनाको स्वतन्त्र अभिव्यक्ति दिने भावुक र निजात्मक गद्यलाई निबन्ध भनेका छन् ।”
त्यसैगरि जोन्सनले निबन्धलाई ‘लुज स्याली अफ् माइन्ड’ अर्थात् “मस्तिष्कको एक कोमल विद्रोह हो” भनेका छन् ।
हामीकहाँ महाकवि देवकोटाले – “यो (निबन्ध) रौँचिरा दर्शन होइन, न हो पाण्डित्यदर्शनको ठ्यासफु । …निबन्ध टेबलगफ हो । यो कुनै चस्मादार प्राध्यापकको व्याख्यान र वमन वेदान्त तथा ठर्रोपन नभई हार्दिकता र कोमलताले लच्किएको हुन्छ ।” भनेका छन् ।
यसरी हेर्दा निबन्ध एक कोमल / लयात्मक र हार्दिक भाव भएको गद्य हो ।
निबन्धमा विचार नै सबैभन्दा ठूलो हतियार हो ।
निबन्धकारको कल्पनाशक्ति, तार्किक क्षमता, विषयप्रतिको गहिरो ज्ञान र सम्बन्धित विषयलाई सम्प्रेषण गर्ने भाषा कलात्मक र प्राञ्जल भयो भने निबन्ध सुन्दर बन्छ भन्ने ठान्छु ।
५. तपाइको पहिलो निबन्ध कुन हो ? कहिले प्रकाशित भएको थियो ? कुन कुन कृतिहरू प्रकाशित छन ?
– मेरो पहिलो निबन्ध मैले माथि भनिंँसके ‘लाटाेकोसेरालाई उज्यालो मन पर्दैन” भन्ने हो । त्यो २०६२ /० ६३ को जनआन्दोलनको समयमा प्रकाशित भएको थियोे । यद्यपि मैले वि.सं. २०५७ / ०५८ सालदेखि दैनिक पत्रिकाहरूमा हास्यव्यङ्ग्यका स्थम्भहरू लेख्थेँ । पुस्तकका रूपमा त ‘सन्दिग्ध शताब्दी’ पहिलो निबन्धसङ्ग्रह हो । मेरा अहिलेसम्म आठ पुस्तकहरू प्रकाशित छन् ।
कविता दुई / निबन्ध एक / लघुकथा – एक / बालकथा चार पुस्तकहरू हुन् ।
६ तपाइ साहित्यमा कुन कुन विधामा सृजना गर्नुहुन्छ ?
– म नेपाली साहित्यमा कविता विधाबाट प्रवेश गरेको हुँ । अन्य विधाहरू पनि समय क्रममा लेख्न थालें । मूलतः कविता / कथा र निबन्धमा हात हालें । म प्रायः शाश्वत विधाहरू नै लेख्छु । अहिले विभिन्न उप-विधाहरू लेख्ने चलन बढी छ । नयाँ-नयाँ उपविधाहरू जन्मिरहेका छन् । म त्यतातिर कहिल्यै लागिन । कविताका अनेकौं उपविधाहरू लेखकहरूको आकर्षण छ । तथापि मैले कविता / कथा बालकथा र निबन्धहरू लेखें । अब भने निबन्ध र कवितामा अलिक बढी समय दिन थालेको छु । भर्खरैको एउटा भेट्मा प्रा.डा. गोबिन्दराज भट्टराईले “आख्यान नलेख्ने साहित्यकारको जीवन व्यर्थ हुन्छ ।” भन्नु भयो । उहाँले तपाईं कलम धारिली छ आख्यानतिर पनि कलम अगाडि बढाेस् भनेर उत्प्रेरित गरेको आवाज पनि कानमा घन्किरहेको छ । हेरौं भविस्यको कुरा कस्ले देखेको छ र ! तत्काल त्यो सम्भावना भने न्यून छ ।
७ नयाँ के लेखिरहनु भएको छ ?
– खासमा म कला, गला र चर्तीकला केही नजान्ने मानिस हुँ । लेखनमा पनि अनेकौं हर्कतहरू हुनेरहेछ्न । सोझो लेखनले मानिसलाई साहित्यमा टिक्न गाह्रो छ् । रातारात उठाउनेहरू पनि छन् । रातारात सिद्याउनेहरू पनि छन् । म यी दुबै कुराबाट अलग छु । म कुनै ठूलो सपना राखेर लेख्दिन । कुनै प्राप्तिका लागि पनि लेख्दिन । यसर्थ म ‘चिल’ छु । मेरो लेखनको गति धीमा छ । मेरो लेखनको माइलेज निक्कै कम छ । लेख्नु मेरो प्यासन हो । लेखिरहन्छु, ब्रह्मले देखेको कुरा लेख्छु । कुनै योजनाबद्ध लेखन छैन । मैले अहिले कविता र निबन्धहरू नै लेखिरहेको छु ।
८. तपाइलाई मन पर्ने आफ्ना निबन्धहरू कुन-कुन हुन ?
– यो निक्कै अप्ठ्यारो प्रश्न हो – प्रदीपजी ।
आफूले सिर्जना गरेका हरेक सिर्जना उस्तै हुन् । उत्तिकै माया लाग्छ । उत्तिकै सद्भाव हुन्छ । सिर्जना पनि लेखकका सन्तति नै हुन् । सुप्रसिद्ध कवि ईश्वरबल्लभले लेखेको र गायक भक्तराज आचार्यले गाएको एउटा कालजयी गीत छ नी
-”हजार सपनाहरूको माया लागेर आउँछन् ।”
मेरा सम्पूर्ण सिर्जनाको पनि माया छ । माया लागेर आउँछ ।
हरेक सन्तानहरूको माया बा-आमालाई उत्तिकै हुन्छ भन्ने लाग्छ । म मेरा सबै सिर्जनाको अभिभावक हुँ । त्यो भाव मनमा आउँछ ।
९. वर्तमान नेपाली निबन्धहरूको अबस्था कस्तो छ ? र वर्तमान नेपाली निबन्धको मुल प्रबृत्ति के हो ?
– यो निक्कै जटिल प्रश्न हो भन्ने लाग्छ ।
यो प्रश्नको उत्तर निबन्धकारले भन्दा पनि निबन्धलाई गहिरो अध्ययन /अनुन्धान र गवेषण गरिरहनु भएका समालोचकहरूबाट मात्रै आउँछ भन्ने ठान्छु । लेखकले त केवल सिर्जना मात्रै गर्ने हो । विधागत प्रवृत्ति / शैली र सौन्दर्यको पारख त समालोचकको क्षेत्र होला भन्ने लाग्छ । तपाईंको प्रश्नको आंशिक उत्तर चाहिँ स्रष्टासँग पनि हुनसक्छ । यसर्थ आफ्नो लेखनसँग स्रष्टा बेखबर नै हुन्छ भन्ने आशय पटक्कै होइन । स्रष्टा स्वयंले पनि धेरथोर सिर्जनाको समयोचित मुल्यांकन त गरिरहेकै हुन्छ । स्रष्टाले समकालीन द्रष्टाहरूको मनस्थिति मात्रै हेर्दैन । रचनाको सार्वकालिकता पनि तीव्र रूपमै ख्याल गरिरहेको हुन्छ । रचनाको जोखिम पनि सूक्ष्म रूपमा अध्ययन गरिरहेकै हुन्छ । समकालीन लेखन र त्यसको प्रवृत्ति पनि आत्मसात् गरिरहेको हुन्छ । त्यो लेखक आफैंले भन्नुभन्दा उसको रचना पढेर अरुले भनिदिँदा अझै राम्रो हुन्छ भन्ने मात्रै हो । निबन्धमा पनि अनेकौं वाद / सिद्धान्त / प्रवृत्ति / प्रयोग र दृष्टिकोणहरू आएका छन् । निबन्ध लेख्दा वा / लेख्न बस्दा यी प्रवृत्ति गौण हुन्छन् । लेखिएका निबन्ध भने कुनै न कुनै प्रवृत्तिसँग नजिक हुन्छन् । म पनि पहिलो कुरा रचनामै बढी केन्द्रीकृत हुन्छु । निबन्ध लेखिसकेपछि त्यसलाई अनेक कोणबाट हेर्न सकिन्छ । सचेत पाठकहरूले बहुल अर्थमा बुझ्नु हुन्छ । समालोचकले कसरी ग्रहण गर्छन् त्यो फरक कुरा होला । मेरो दृष्टिकोणले हेर्ने हो भने निबन्धमा प्रबल वैयक्तिकता, तीव्र कल्पनाशीलता, भावनात्मकता, हार्दिकता, कोमलता, भावगत मुक्तता, स्वच्छन्दता, सहजता, स्वप्निलता, सौन्दर्यप्रतिको आकर्षणजस्ता प्रवृत्तिको हावी छ भन्ने लाग्छ । निबन्ध वैयक्तिक स्व पोख्ने विधा पनि हो । निबन्धकारले आफ्नो स्व पोख्दै गर्दा समाजको कुरा पनि छोइएर आउँछ ।
निबन्धको वर्तमान लेखन उत्साप्रद नै रहेको ठान्छु । अहिले निक्कै गम्भीर लेखकहरू निबन्धमा तानिनु भएको छ ।
प्रदीपजी – तपाईं पनि कविता / नियात्रा हुँदै ललित निबन्धमा तानिनु भएको देख्दा खुसी लाग्छ । निबन्धको भविस्य उज्यालो देख्छु ।
१०. नेपाली साहित्यमा पठन संस्कृति घट्दो र लेखन संस्कृति बढ्दो छ भनिन्छ नि ? यसले के संकेत गर्छ ?
– नेपाली साहित्यमा पठन संस्कृति घट्दाे छ भन्ने कुरामा म सहमत छैन । हामी बाँचिरहेको युगले प्रविधिमा अनेकौं फड्काे मारिरहेको छ । हामीले पुस्तक नै पठनको प्रमुख स्रोत हो भन्ने भ्रम त्याग्न जरुरी छ । अहिले संसारभर डिजिटल पुस्तकहरू प्रकाशित छन् । पाठकहरू हात-हातमा भएको अत्याधुनिक साधनबाट पठन-पाठन गरिरहेका छन् । हिजो हजारको हाराहारीमा छापिने पुस्तकहरू अहिले दसौं हजारप्रति छापिन थालेका उदाहरणहरू छन् । यी सबै सूचकाङ्कहरू हेर्दा पठनसंस्कृति ह्रासोन्मुख छ भन्ने देखिन्न । यत्ति हो – पठनको शैली परिवर्तन भए । हिजो साहित्यको एउटा गवेषक कुनै लेखकको जन्ममिति वा पुस्तकको सूची खोज्न पुस्तकालय धाउनुपर्ने हुन्थ्यो । अहिले त्यो अवस्था छैन । अनेकौं भर्चुअल माध्ययमहरूमा त्यो उपलब्ध हुन्छ । घरमा बसेर नै हेर्न / पढ्न र बुझ्न सकिने अवस्था छ । श्रीबाबु कार्कीलाई बुझ्न् वा पढ्न अहिले उसको पुस्तक आवश्यक पर्दैन । उसलाई गुगल गर्ने हो भने उसका अनेकौं रचनाहरू भर्चुअल संसारमा जहाँ-त्यहीबाट हेर्न / पढ्न सकिन्छ ।
अब आयो लेखन संस्कृतिको कुरा यो चाहिँ तपाईंको तर्कसँग सहमत छु । लेखकहरूको पहिले पनि भीडभाड नै थियोे । ती समयक्रममा थिगरिँदै गएका देख्यौं । अहिले पनि त्यो भीड कायम छ बिस्तारै थिगरिँदै जान्छन् । मानिसमा नामको भोक पनि तीब्र हुन्छ । अहिले देखिएका सबै लेखकहरू साहित्यमा रहिरहने सम्भावना हुँदैन । ती विस्तारै पाखा लाग्छन् । अहिले त ‘घोष्ट-राइटिङ’ मार्फत उदाएका लेखकहरू पनि सम्मान /पुरस्कार र अतिथिको लाइनमा अग्रस्थानमा छन् । ती पनि बलेसीका पानीका फोका झैँ क्षणभङ्गुर छन् ।
११. निबन्धमा पनि तपाई आत्मपरक निबन्ध सिर्जनामा बढी केन्द्रित हुनुहुन्छ । सजिलो भएर कि अन्य केहि कारण छ ?
– निबन्ध लेख्न सजिलो छैन । एकोत्कृष्ट निबन्धमा रोचकता तथा विचारको समन्वय अत्यावश्यक हुन्छ । आमोद-प्रमोद / हाँस-परिहास तथा भावात्मकताका समुचित प्रयोग नै निबन्धको आकर्षण हो । सामान्य रूपमा हेर्दा जे लेखे पनि निबन्ध हुन्छ भन्ने मान्यता छ । निबन्धको कुनै सैद्धान्तिक पर्खाल हुन्न । यो निर्बन्ध विधा हो । यद्यपि निबन्धका पनि आफ्नै सीमाहीन सीमाहरू छन् । दृश्य-अदृश्य-पर्खालहरू छन् । निबन्धका विभिन्न ‘भेद’ छन् । निजात्मक निबन्ध / नियात्रा / संस्मरण / आत्मकथा / जीवनी / पत्र / दैनिकी आदि सबै निबन्धका कोटीमा पर्छन् । यी सबैका आ-आफ्नै आधार छन् । यी सबैमा मैले भनें आत्मपरक [ ललित ] निबन्ध रोजेको हुँ । आत्मपरक निबन्ध मन र मस्तिष्कको निर्वाध उडान हो । यसमा नियात्रा मिसिनु भएन । संस्मरणले विटुल्याउनु भएन । जीवनी वा आत्मकथाको छोइछिटाे पार्नु भएन । त्यो बन्देजमा बसेर निर्बन्ध उड्न त्यति सजिलो छैन । यो दुरूह-मार्ग हो ।
मैले निबन्धको जुन हाँगो समातेको छु । त्यो हाँगो निबन्धको मूल हाँगो हो भन्ने लाग्छ । निबन्ध जननीका श्रेय पाएका मोन्तेञको हाँगो हो र नेपाली निबन्धमा देवकोटा-मार्ग हो ।
म यसैमा रमाएको छु । यो सजिलो मार्ग हुँदै-होइन । केवल मेरो रुचिको विषय हो ।
१२ अन्त्यमा , मैले सोध्न छुटाएको र तपाईंलाई भन्न मन लागेको केहि भए ?
– तपाईंले धेरै कुरा सोधिसक्नु भएको छ । म सामान्य निबन्धकार हुँ । समालोचक वा प्राज्ञिक निबन्धकार होइन । म आफ्नै अनूभूतिले लेख्ने सामान्य स्रष्टालाई यति धेरै महत्त्व दिएर यत्तिका प्रश्नहरू सोध्नु भयो । त्यो नै मेरो जीवनका लागि ‘उत्स्वन-उत्सव’ भयो ।
प्रदीपजी, तपाईं आफैं पनि अहिले निबन्धमा कस्सिएर लाग्नु भएको छ । हामी सबैले नेपाली निबन्धलाई संख्यात्मक होइन, गुणवत्ता र गुणात्मकतामा जोड दिँदै जानुपर्छ । नेपाली निबन्धलाई पनि विश्व साहित्यिक बजारमा पुर्याउने प्रयत्न गरौं । तपाईंले यो अवसर दिनु भएकोमा नम्र आभार । बस् यत्ति भन्छु ।






