
चर्चामा पुस्तक
अभिवन्द्य
आत्मपरक निबन्धमा बेजोड श्रीओम श्रेष्ठ रोदनको अभिवन्ध व्यक्ति निबन्धसङ्ग्रह हो । यसभित्र सिद्धिचरण श्रेष्ठदेखि सूर्य लाकोजुसम्म ५९ जना विभिन्न व्यक्तिहरु समेटिएका छन् । उनीहरुका योगदान र भूमिकालाई चर्चा गरिएका छन् ।
परम्परामा दरिएका भन्दा पृथक निबन्ध लेखनी छ । छोटा वाक्य,वाक्यविन्यासको छुट्टै शैली । काव्यात्मक धारामा निबन्ध बगेजस्तो । निजात्मक र स्वानुभूतिपरक ढंगले लेखिएका सुन्दर व्यक्तिनिबन्ध कृति हो । सुन्दर काव्यचेतले भरिएका भाषाशैली रोदनका लेखकीय विशेषता लाग्छन् ।
अभिवन्द्यलाई तेस्रो संस्करणको रुपमा सुन्दर स्वदेश प्रकाशनले प्रकाशनमा ल्याएको हो ।
यस कृतिको मूल्य रु.८००। रहेको छ ।
सिरिसा
सिरिसा सेन्युकविता हो । झट्ट हेर्दा हाइकु लाग्ने,हाइकुकै जस्तो संरचनामा लेखिने सेन्युकविता । यसमा मानव जगतलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको हुन्छ ।
सिरिसामा बसन्तराज अज्ञातका ३सय २९ वटा सेन्यु रहेका छन् । जसभित्र देशप्रेम,गरिबीको पीडा, दुःख, विकृति, राष्ट्रियता, प्रेम, सामाजिक विकृति, महामारी,नारीपीडा लगायतका विषयहरु परेका छन् ।
अन्त्यानुप्रास मिलाइएका सेन्युहरु चोटिला छन् ।
सिरिसालाई अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२५०। रहेको छ ।
स्वर्णकथा नेपाली फुटबलको
सर्वाधिक चर्चित खेल फुटबल नेपालमा पनि लोकप्रिय छ । हिमेशको नेपाली फुटबल खेलको अन्तर्यको कथा लेखनीले नेपालमा फुटबलको इतिहास जान्न सक्छन् । नेपाली खेलाडीहरुको बारेमा धेरै कुरा थाहा पाउनसक्छन् ।उनीहरुको नेपाली फुटबलमा योगदान,नेपाली फुटबलले पाएको उपलब्धि सहितको बारेमा ज्यादै सुन्दर ढंगले लेखिएको छ यो कृति ।
हिमेशले नेपाली फुटबलको सम्पूर्ण अन्तर्यलाई तथ्यपरक ढंगले ल्याएका छन् । नेपाली फुटबलको इतिहासको खोतलखातल विस्तृत रुपमा आएको छ ।पहिलो विदेशी प्रशिक्षक गुटेनफोर्टदेखि मणि शाह, गणेश थापासम्म अटेका छन् पुस्तकभित्र । भनुँ फुटबलका महत्वपूर्ण र उल्लेख्य कुराहरु सबै पढ्न सकिन्छ कृतिमा ।
स्वर्णकथा नेपाली फुटबलको लाई बुकहिलले बजारमा ल्याएको हो । यसको मूल्य रु.५५५। रहेको छ ।






