
काठमाडौं । महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठानको आयोजना र न्युमिलिनियम कलेजको सहआयोजनामा २१२ औं भानुजयन्तीको उपलक्ष्यमा बालसाहित्यकार डा.छायादत्त न्यौपानेकृत ‘हामी गर्छौं’ किशोर उपन्यासको विमर्श तथा कविता वाचन कार्यक्रम सम्पन्न भयो ।
शुक्रबार आयोजित उक्त कार्यक्रम न्युमिलिनियम क्याम्पसका प्राचार्य रुद्र पन्तको अध्यक्षता र प्राज्ञ बाबा वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. यादेवी ढकालले ‘हामी गर्छौं’ शीर्षकको उपन्यास हाम्रा किशोरवयका पाठकका लागि उपयोगी सामग्री हो । यसबाट युवाहरूलाई शिक्षक,अभिभावक र जनप्रतिनिधिहरूसित जोडिएर कृषिजन्य उत्पादन गर्न सकिने सुन्दर विकल्प दिइएको बताइन् ।
कृतिमाथि चर्चा गर्दै डा.शैलेन्दुप्रकाश नेपालले ‘हामी गर्छौं’ कृति किशोर वयका पाठकका लागि पठनीय छ । यसले युवालाई उत्पादनमा लाग्न आग्रह गरेको छ । यसमा युवाले चाहेमा हाम्रो देशलाई कृषि कर्मबाट आत्मनिर्भर बनाउन सकिन्छ भन्दै बिदेसिने युवालाई स्वदेशमै रहेर स्वरोजगार बन्ने सकिने सम्भावना खोजिएको छ । यस कृतिको घटनावस्तुको छरितो प्रस्तुति र संवादात्मक शैली राम्रो छ तर भाषिक जटिलता, छिटो छिटो आएका घटना विवरणले स्वाभाविक बन्न नसकेको देखिन्छ भने ।
प्रमुख अतिथि प्राज्ञ वस्नेतले यस्ता जीवनोपयोगी कृतिले किशोर उमेरका पाठकलाई कर्मक्षेत्रमा समर्पित हुन प्रेरित गरेको पनि उनले बताइन् ।
कृतिकार छायादत्त न्यौपानेले कार्यक्रमको आयोजना गर्ने संस्था महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठान , संस्थापक अध्यक्ष सुधा मैनाली , न्युमिलिनियम कलेजका प्राचार्य रुद्र पन्त तथा क्याम्पस परिवारलाई धन्यवाद दिँदै कृति विमर्श कार्यक्रमले आफूलाई बालसाहित्यमा काम गर्ने प्रेरणा मिलेको अनुभव व्यक्त गरे ।
क्याम्पसकी निर्देशक संयोजक विष्णु अधिकारीको स्वागत मन्तव्य र सुधा मैनालीको सञ्चालन रहेको कार्यक्रममा कवि घन थापा,माया वस्नेत, रुजु केसी ,अनिता लामा, सविता ढकाल लगायत स्रष्टाहरूले आआफ्ना रचना वाचन गरे।






