कविता
लक्ष्मी श्रेष्ठ‘रेशमी’
जिन्दगीको मौसममा
कालो बादल मडारिरहेछ
घनघोर खुशीको वर्षा र
पीडाका चट्याङहरुको गर्जन
पालैपालो बर्सिरहेछन् ।
मनको बाँझा खेतहरुमा
थोपा थोपा झरेका
पानीका बुँदहरुले भिजाएर
सम्बन्धको आलीहरु खुर्किनु छ
बिस्वासको चपराले
आशाको माटो थप्नु छ
कु–विचारका झारपातलाई
कुहाउनु छ हिलोमा
मल बनाउनु छ सु–बिचारको
द्विविधाको गोरुलाई नारेर
गन्तव्यको हलो र जुवामा जोतिरहनु छ
रुझेर नयनबाट बर्सेका झरीमा
बाउसे र रोपार बन्नु छ
रोप्नु छ फेरी उमंगका बिउहरु
असार लागेको छ
उत्साहका पलहरुको थालनीसँगै
जिन्दगीको रोपाइँ सकाउनु छ
भरोसाको पानीलाई
दैनिकीको गराहरुमा आली थुनेर
सिँच्नु छ भर्खरै रोपेका
जिम्मेवारीका ती बिउहरुलाई
गोड्मेल गर्नु छ चिसिएका आस्थाहरु
छर्किनु छ स्नेह र मायाको औषधी
मार्नु छ निराशा र अबिश्वासको
किरा फटयांग्राका हुलहरु
रोपेर मानो जति सम्बन्धका बीजहरु
फलाएर भर्नु छ जिन्दगीका भकारीहरु
लोलाएका आमाको आँखाहरुमा
देखाएर पहेलपुर सफलताका फसलहरुले
भर्नुछ ममताको उही चमक
फर्काउनु छ अलिकति मुस्कान
दाँत झरिसकेका ती ओठमा
हो साथी, असार लागेको छ
जिन्दगीको रोपाइँ सकाउनु छ ।