
लघुकथा
यातना
” हाम्रो नेता जिन्दावाद ! ” अचानक नारा लाग्यो !
बीरबहादुरको अनुहारमा एकाएक मुस्कानको लहर सलबलाउन थाल्यो ! खुलामञ्चमा महिलाहिंसा विषयक एक भव्य गोष्ठी आयोजना हुन लागेको थियोे ! उसलाई पनि वक्ताका रुपमा आमन्त्रण गरियो ! पालो आउनासाथ उसले मञ्चको अग्रस्थानमा उभिएर अति जोशिलो भाषण गर्यो –
“आज हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ ! बालविवाह, यौन दुर्व्यवहार र दाइजो प्रथाले गर्दा महिला दिदीबहिनीहरु आक्रान्त बनेका छन् । उनीहरु आत्महत्या गर्न विवश छन् । जिउँदै जलाइएका छन ! जबसम्म महिलाहरु सशक्त हुँदैनन्, तबसम्म देशको विकास हुँदैन !”
उसको भाषण सकिने वित्तिकै दर्शकदीर्घावाट आएको तालीको गडगडाहटले वातावरण नै उत्साहित भयो। मानिसहरुले उसको खुलेरै प्रशंसा गरे ! ऊ खुसीले रमाइरहेको थियोे !
तालीको गडगडाहटका बिच एकजना युवाले जुरुक्क उठेर भने,” कृपया, सबैले पछाडि फर्केर हेर्नुहोला एकपटक ! ”
दर्शक दीर्घापछाडि एक्कासि फरक दृश्य देखियो ! तीनवटी छोरी काखी च्यापेर एउटी महिला रुँदै आइन् ! उनले मञ्चतिर हेर्दै भनिन्,” हिजै त हो, आफ्नै पतिको हातबाट हिंसा र यातनाको पुरस्कार थापेर म घरबाट निकालिएकी हुँ ! ”
उनलेे फेरि जोडजोडले सोधिन्,” अहिले भाषण गर्ने नेतालाई तपाईंहरुले चिन्नु भएको छ ? ”
निकैबेर सन्नाटा छायो ! चिनेको छ पनि कसैले भनेनन् ! चिनेको छैन पनि कसैले भनेनन् !
चारैतिर हेरेर सबैले सुन्ने गरी उनलेे भनिन्,” यही त हो, मेरो लोग्ने भनाउँदो फटाहा ! “






