
काठमाडौं। वरिष्ठ गीतकार,संगीतकार एवं गायक गणेश रसिकलाई अमरभावना राष्ट्रिय सम्मानद्धारा सम्मानित गरिएको छ ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा गीतकार संघ,नेपालको १६ औं वार्षिक स्थापना दिवसको अबसरमा नगदराशी रु.१ लाख ५१ हजार सहित सम्मान गरिएको हो । उनी अस्वस्थ्य भएकोले उनकै निवासमा उक्त सम्मान समर्पण गरियो ।
यसैगरी सोही अबसरमा डायस्पोरा गीतकार सम्मानवाट दिलिप योञ्जन तामाङ सम्मानित भए । नगदराशी रु.१५ हजार सहित उनी सम्मानित भएका हुन् । विदेशमा बसेर पनि गीत संगीत क्षेत्रमा योगदान गरेवापत उनलाई यो सम्मान समर्पण गरिएको हो ।
कार्यक्रममा विष्णुु मन्सरा घले मातृभाषा गीतकार सम्मानबाट मगर भाषाका गीतकार सञ्जोग लाफा मगर सम्मानित बनें । नगदराशी २५हजार २ सय ५२ सहित उनलाई उक्त सम्मान समर्पण गरियो ।
यसैगरी बौद्धिक सम्पत्ति संरक्षण सम्मानबाट उपत्यका प्रहरी कार्यालय,रानीपोखरी,काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङ सम्मानित भए । उनलाई प्रतिलिपि अधिकार ऐन कार्यान्वयन गर्न योगदान गरेवापत उनलाई सम्मान गरिएको हो ।
यसैगरी सोही कार्यक्रममा संघ आवद्ध असी वर्ष उमेर काटेका वरिष्ठ गीतकार हरिभक्त बुढाथोकीलाई नगद ५ हजार ५ सय ५१ सहित सम्मान गरियो ।
भैरवनाथ रिमाल कदम वर्ष गीत पुरस्कारबाट डा. ओमकृष्ण प्रसाई र धुर्व खनाललाई संयुक्त रुपमा नगद रु.५७ हजार प्रदान गरियो ।
वर्ष गीत पुरस्कारबाट त्रिविक्रम पाण्डे र हिमांशु राय पुरस्कृत भए । नगद राशी रु.५७ हजार सहित संयुक्त रुपमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमगीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्याशी थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन हेम सुवेदीले गरेका थिए ।



