
कृति : जलिसकेका आस्थाहरु
विधा : गजल
गजलकार : थापा थकित
थापा थकितले गजल मार्फत असल विचार प्रवाह गरेका छन् । भावनाको उत्ताल बेग छ गजलहरुमा । सकारात्मक भावना राख्न उत्प्रेरित गर्छन् गजलहरु । काफिया र रदिफको उचित समिश्रणले गजल वलिष्ठ बनेका छन् । गजलको प्रचलित सिद्धान्तको फ्रेमभित्र सुन्दर ढंगले सजिएका गजलहरु पठनीय लाग्छन् । वाचनीय लाग्छन् ।
साठीवटा गजलहरुका मायाप्रेम,देश,माटो,दुःखपीडा,अभाव आदि विषयहरु परेका छन् । उनी परिपक्व देखिएका छन् गजलमा ।
जलिसकेका आस्थाहरुलाई सिन्धुलीगढी प्रकाशनले वि.सं.२०६८ मा प्रकाशनमा ल्याएको हो ।
कृति : प्रतिनिधि काभ्रेली कविता
विधा: कवितासङ्ग्रह
सम्पादक :नरेन्द्रकुमार नगरकोटी
विभिन्न ६८ जना काभ्रेली कविहरुका कविताहरु समावेश गरिएको छ । यसमा पुराना कवि वसन्त शर्माको श्रीकृष्ण चरित्र पनि समावेश छ । अन्य पंकज चित्रकारदेखि गौरी नेपालीसम्मका कविताहरु यसमा राखिएको छ । हरेक कविका कवितासँगै उसको परिचय पनि दिइएको छ । काभ्रेली माटोमा जन्मिएका प्रतिनिधिमूलक कविहरु बारे कृतिले जानकारी दिएको छ ।
आर्थिक विसंगति,वेथिति,भ्रष्टाचार,महँगी,गरिबी,पछौटेपनका विरुद्ध आवाजहरु कविताहरुले बुलन्द गरेका छन् । सामाजिक असमानताको विरुद्ध कविता लेखिएका छन् । विश्वमा वढ्दो शस्त्रअस्त्रको होडवाजीले पारेको शान्ति खललका विरुद्ध कविताहरुले जेहाद छेडेका छन् । भन्न सकिन्छ नेपाली कविता लेखनको केन्द्रीय भागमा प्रचलित प्रवृत्तिमा नै काभ्रेली कविहरुले कविता लेखेका छन् ।
प्रतिनिधि काभ्रेली कवितालाई विं.सं२०६७ मा काभ्रेली साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।
कृति : विचार क्रान्ति
विधा : लेख /विचार
लेखक : डा. योगी विकाशानन्द
सफलता र असफलताको दार्शनिक विश्लेषण गरिएको यो कृति जीवनमा आनन्दको खोजी गर्न मान्छेलाई सुझाउँछ । दुनियाँमा केहीपनि असम्भव छैन् भन्ने कुरामा विचार दिइएको छ । तर्क र आफ्नो दृष्टिकोण प्रस्तुत गरिएको छ । जीवन बदल्न दृष्टिकोण बदल्नुपर्छ,जीवनको पूर्णता नै जीवनको सपनासँग छ भन्ने भाव व्यक्त छ । यस कृतिमा जीवनका सम्पूर्ण रहस्यहरुको बताइएको छ । विचार क्रान्ति राखिएको छ ।
अरुलाई प्रेम गरेर जीउनुको मज्जा बारे भनिएको छ । निष्कर्ष छ,विषको मात्रा घटाउँदै जाँदा विष पनि औषधी हुनसक्छ तर औषधीको मात्र वढाउँदै जाँदा त्यो औषधी पनि विष हुनसक्छ भनिएको छ ।
विचार -क्रान्तिलाई वि.सं.२०६२ सालमा रेकी योग प्रकाशन प्रा.लि.ले प्रकाशनमा ल्याएको थियो ।







