
काठमाडौँ ।नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीले गरी बालसाहित्य तथा लोकगायनका क्षेत्रका साधकहरूलाई २०८० सालका पुरस्कारद्वारा पुरस्कृत गरेको छ ।
प्रमुख अतिथि प्रा.डा.चूडामणि बन्धुले नेपाली बालसाहित्यका क्षेत्रमा योगदान गर्ने रामकुमार पाँडे (काठमाडौँ) र रामबाबु सुवेदी (कास्की) लाई जनही पचास हजार रुपैयाँसहित पुरस्कृत गरे।
यसै गरी ‘नूर(गङ्गा क्षेत्रीय स्थापित लोकगायन पुरस्कारु रूपन्देहीका डिल्लीनारायण पाण्डेलाई (तीस हजार रूपैयाँसहित), ‘नूर-गङ्गा राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार’ म्याग्दीका प्रकाश दुतराजलाई (पच्चीस हजार रूपैयाँसहित) र ‘नूर-गङ्गा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार’रूपन्देहीका सागर पौडेल (बीस हजार रूपैयाँसहित) लाई प्रदान गरियो। गुठीको परम्पराअनुसार कार्यक्रममा गुठीमा लामो समयसम्म रहेर योगदान गर्ने भागीरथी श्रेष्ठ र प्रा.डा.गोविन्द नेपाललाई प्रमुख अतिथि डा.बन्धुले दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.बन्धुले बालबालिकाहरूका लागि साहित्य सिर्जना गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पुरस्कृत/सम्मानित प्रतिभाहरू रामकुमार पाँडे, रामबाबु सुवेदी, भागीरथी श्रेष्ठले आफूहरू पुरस्कृत सम्मानित भएकामा खुसी व्यक्त गर्दै बालसाहित्य अत्यन्तै आवश्यक र महत्त्वपूर्ण विधा रहेको बताए।
पुरस्कृत प्रतिभा-प्रकाश दुतराजले लोकगीत प्रस्तुत गरे।कार्यक्रममा प्रा. डा. भवेश्वर पंगेनी, प्रा.डा. ध्रुवकुमार घिमिरे, नारायण रायमाझी, सन्ध्या पहाडी, यादव भट्टराईलगायतले गुठीका संस्थापकद्वय नूरप्रताप जबरा र गङ्गादेवी राणा, पुरस्कृत सम्मानित प्रतिभाका साथै चौंतीस वर्षसम्म गुठीले गरेका कार्यहरूलाई चर्चा गरे।
कार्यक्रमका सभाध्यक्ष प्रा.डा. गोविन्द नेपालले आगामी वर्षदेखि गुठीले एक एक वर्षको अन्तरालमा प्रदान गरिँदै आएका बालसाहित्य र लोकगायनका पुरस्कारहरू प्रत्येक वर्ष प्रदान गर्ने जानकारी दिए ।
नूर-गङ्गा प्रतिभा पुरस्कार गुठी २०४९ सालमा महामना नूरप्रताप जबरा र उहाँकी धर्मपत्नी लोकगीतगायिका गङ्गा राणाको सदिच्छाअनुसार नेपाली लोकसङ्गीत एवम् वाङ्मयको समुन्नयनहेतु स्थापना गरिएको थियो ।




