काठमाडौं, असोज ४ — बौद्ध ध्यान परम्पराका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गुरु योङ्गे मिङ्ग्युर रिन्पोछेको सान्निध्यमा भोलिदेखि स्वयम्भूपारिको तेरगार ओसेल लिङ गुम्बामा दुईवटा महत्वपूर्ण आध्यात्मिक कार्यक्रम सुरु हुँदैछन्। पहिलो कार्यक्रम ‘Joy of Living’ ध्यान शिक्षण हो, जुन असोज ५ देखि ९ (सेप्टेम्बर २१–२५) सम्म सञ्चालन हुनेछ।
बिहान ८:३० देखि १०:०० बजेसम्म सञ्चालन हुने यो कक्षा दुई स्तरमा विभाजित गरिएको छ — • स्तर १ (Level 1): असोज ५–७ (सेप्टेम्बर २१–२३) • स्तर २ (Level 2): असोज ८–९ (सेप्टेम्बर २४–२५) आयोजक संस्थाले सहभागिताका लागि अनलाइनमा मार्फत् दर्ता अनिवार्य रहेको जानकारी दिएको छ।

यससँगै गुम्बामा दोस्रो कार्यक्रमका रूपमा एक हप्ते ङाक्सो ढ्रुब्छेन पूजा–साधना असोज ४ देखि १० (सेप्टेम्बर २०–२६) सम्म सञ्चालन भइरहेको छ। बिहान ५:३० देखि बेलुकी ७ बजेसम्म दैनिक रूपमा चल्ने यस पूजा साधनाले गहिरो आध्यात्मिक अभ्यास र सामूहिक प्रार्थनाको वातावरण सिर्जना गर्ने बताइएको छ। ङाक्सो ढ्रुब्छेनको समापनका अवसरमा असोज १० (सेप्टेम्बर २६) मा विशेष अभिषेक हुनेछ।
यो कार्यक्रम निःशुल्क र सबैका लागि खुला रहने आयोजकहरूले जानकारी दिएका छन्।
“मिङ्ग्युर रिन्पोछेबाट प्रत्यक्ष शिक्षण लिन पाउनु दुर्लभ अवसर हो। ध्यान, पूजा र साधनाबाट प्राप्त पुण्य सम्पूर्ण प्राणीको शान्ति र कल्याणमा अर्पित होस् भन्ने हाम्रो उद्देश्य छ” – आयोजक संस्था बुद्धप्रकाश फाउन्डेशनले बताएको छ। स्थानीय सहभागिताका लागि [email protected] मा र अन्तर्राष्ट्रिय सहभागिताका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ।