संस्मरण
बुबाका कथा र जुनेली रात
छविरमण सिलवाल
जीवनका उहापोहमा घटेका असख्य घटनाहरुको क्रममा हामी कहिले रमाउँने गछौं, कहिले दुःखी बन्छौं । संसारमा चलेको रितलाई हामीले नकार्न सक्दैनौ तथापि हामी जे जस्तो परिवेशमा पनि सामान्य बन्ने प्रयत्न गर्दछौं । हामी जन्ति र मलामीको उहापोहमा रुमल्लिदै आफ्नै शबयात्राको तयारी गरिरहेकाछौँ । आफ्नो दिन छोटिदै गर्दा पनि उत्सव मनाई रहेकाछौं । आफ्नै जन्मदाताको विछोडका पिडा भुलेर जीवन सार्थक बनाउँन संर्घष गरिरहेकाछौंं । युगयुगान्तर देखि चलिआएको चलनलाई आत्मसात गर्दै हामी सुईकुच्चा ठोक्न बाध्य छौं ।
यो नै हरेक मानवको दैनिकी हो, तर कहीँ कथित मानवहरुको अहम्का कारण कैयौ मानवहरुले पीडाका पहाड चढ्न बाध्य भएका छन् । यस किसिमका अहम् मानवहरु हाम्रोमा मात्र नभएर संसारमै आफ्नो प्रभुत्व जमाउँदै गएका छन् । हाम्रो जस्तो अविकसित मुलुकमा त झन उनीहरुको आफैलाई भगवान ठान्ने प्रवृति निकै वढेको छ । शासक र जनताको दुरी निकै वढ्दै गएको छ, यो सुखद् हुँदै होइन ।
जहाँ जताबाट आफ्नो जीवनका उहापोह शुरु गरौं भन्दा पनि मुल राजनीतिका वाछिटाहरु मथिङ्गलमा घुमिहाल्ने रहेछ । यसैको सेरेफेरोमा हामीले नेपाली राजनीतिमा धेरै उतारचढाव देख्यौं । केबल देखेनौं जनताका पीडालाई सम्बोधन गर्ने शासन प्रणाली । स्वास्थ, शिक्षा, रोजगार र सुरक्षाको प्रत्यक्ष्य अनुभूति हामीले कहिल्यै देख्न पाइएला खैँ ? यसैका लागि धेरै मान्छहरु मरें, अझैं कति मर्नु पर्ने त्यो पनि ठेगान छैन । उनीहरु सबृद्ध नेपाल र सुखी नेपालीको एकोहोरो रटानमा छन्, तर त्यसको प्रत्यक्ष्य अनुभूतिको ढुङ्गा कहिले पाक्ला ? हाम्रा कति पुस्ताले यो रटान सुनिरहनु पर्ने हो ? प्रश्नहरु यत्रतत्र छरिरहेका छन् । आफ्नो आफन्तको पीडा जस्तै सबै मानवको पीडा एउटै हो भन्ने शासक हामीले कहिले पाउँछौं ? यी र यस्ता प्रश्नहरुको उत्तर हामीले कहिले पाउँछौं ?
आ ! छोड्दिऊ यी राजनीतिक कुराहरु पनि भन्दा एउटा सचेत नागरिकको हैसियतले भन्नु पर्दा केही न केही सोचीहाल्दो रहेछ । हाम्रा छोटा दिमागले त जनतालाई केही सुविधा दिनु पर्छ भन्ने लाग्छ भने डाडू पन्यू हातमा लिएर जनताकै भोटले जितेर खोलाको ढुङ्गाबाट देउता बनेकाहरुले किन भूलेका होलान कहिले काहीँ ताजूक लाग्छ मलाई । देशको मूल आधारनै मूल राजनीति हो । त्यसैले राज्यको मूल राजनीतिमा कचकमचक भै रहुन्जेल सबै क्षेत्र डामाडोल भैरहन्छ, भैरहेको पनि त्यस्तै छ त्यसकारण पनि मूल राजनीतिक धारमा सन्तुलन आउँनु जरुरी छ । त्यसैको प्रतिक्षामा हामीले कति पुस्ता बिताउँनु पर्ने हो, सम्झदा काहाली लाग्छ । मेरा पितापुर्खाको पनि यही चाहना थियो तर उहाँहरु आफ्नै भाग्यलाई दोष दिँदै यही धर्तीमा विलिन भैसकेका छन् । अहिले पनि हाम्रो स्थिति त्यो भन्दा कम छैन तापनि हामी केही सचेत चाहिँ छौ जस्तो लाग्छ, हेरौँ त्यो समयले नै देखाउँने छ, समयको प्रतिक्षा गर्दागर्दै हामी आफ्नो मुलबाटो छोडिसकेका हुन्छौ, त्यो हामीलाई पत्तै हुँदैन ।
मैले मेरो हजूबा पुस्तासँग भेट्ने मौका पाइन, यद्यपी बासँग भने आफ्ना जीवनका उहापोह पोख्ने मौका पाएँ । र, बाका जीवनका उहापोहलाई सुन्ने मौका पाएको छु । यस अर्थमा म आफूलाई निकै भाग्मानी ठान्दछु । साँच्चिकै भन्नु पर्दा हाम्रा बा बा कम साथी वढि थिए । हामी सानासाना कुरा पनि बासँग भन्ने गथ्र्यौ बा कुनै झर्को नमानी उत्तर दिनुहुन्थ्यो । बाले हामीलाई एक लवटो कुटेको थाह छैन । हामीले काम गर्नुृ भन्दा पनि पढ्दे हुन्थ्यो भन्ने उहाँको चाहना थियो । अनेक किस्सा जोडेर हामीलाई जीवन यापन गर्ने र समाजसँग घुलमिल गर्ने तरिकाहरुका बारेमा अनेकौ उदाहरणहरु दिएर हामीलाई राम्रो बाटोमा लग्ने प्रेरित गर्दथे । उहाँलाई पहिले छोरा नहुनुको पीडामा समाजले घोचेका तिखा काँडाहरुका बारेमा हामीलाई बताउनु हुन्थ्यो । त्यसैले गर्दा हाम्री ठूली आमाले आफैले केटी खोजेर बुबाको बिबाह गरिदिएको कुरा हामीलाई पटकपटक बताउँनु हुन्थ्यो । ठूलीआमाको तर्फबाट तिन छोरीहरु हुँदा पनि छोरा नजन्मिनुको पीडा हाम्रा बालाई समाजले दिएको नमिठो वचनको परिपूर्ति हाम्री आमाले गरिदिनु भएको थियो । तत्सँगै ठूली आमाकातर्फबाट पनि दुई भाइ छोरा भए । हाम्रो आमापट्टि पनि अहिले पाँचभाइ छोरा र दुई दिदी बहिनी थाती नै छन् ।
प्रसङ्ग बुबाकै स्मृति कै हो । अहिले बुबा बितेको एक्काइस वर्ष वितीसकेको छ । तर बुबाको याद नआएको कुनै क्षण हुँदैन । बुबा बितेपछि म निकै विचलित भएँ । धेरै समयसम्म मलाई कुनै शब्द नै फुरेनन् । जब लेख्न बस्थे, आँखाबाट आँसु किर्बोडमा झरिसकेको मलाई पत्तो हुने थिएन । धेरै पटक मलाई मेरो छोराले देखेर बाबा सुतिस्यो, कम्युटरमा मेरो काम छ भन्थ्यो । र, म लेख्न बस्दा के लेख्दै छ भनेर उ सधैँ मलाई नियाली रहेको हुन्थ्यो । आजभोली संसार शुन्य समयमा झरेको छ । शहर सुनसान छ । एकोहोेरो एम्बुलेन्सको आवाज मात्र सुनिन्छ वस्तिमा । कोभिड कहरको समयमा पुराना स्मृतिलाई ताजा बनाएर अहिलेको पीडा विर्सने काम गरिरहेको छु म ।
मैले बुबासँग जीवनका तिस बसन्त सँगै विताएँ । बुबाको दुःख कम गर्नको लागि म सोह्र वर्षकै उमेरमा शहर पसें । हाम्रो परिवारमा सातजना बच्चा र आमाबुबा गरी नौजनाको परिवारलाई भरणपोषण, शिक्षादिक्षा गर्नको पक्कै पनि कठिन थियो बुबालाई । दाजू र सौतानी परिवारका बारेमा लेख्दैजाँदा सिङ्गै उपन्यास बन्न सक्छ । ति कुराहरुलाई मैले हृदयको एउटा कुनामा थन्काएर राखेको छु । कुनै बेला ति थन्किएको पोकाहरु एकएक गरी खोल्दै जानेछु ।
बुबाले कहिल्यै स्कुलमा पढ्न पाउँनु भएन, उहाँमा गीता, माहाभारत, वेद, रुद्री, चण्डी, दर्गाकवच, देवीभागवत लगायत शास्त्रका धेरै पुस्तकहरु पढ्न सक्ने क्षमता थियो । र, धेरै श्लोकहरु कण्ठ थिए । दुःखका पहाडहरुले थिचिएर पनि हामीलाई कहिल्यै दुःखको अनुभूति दिलाउँनु भएन । दिदी दाईले बाका दुःख मेरो भन्दा धेरै देखेका थिए । जिम्मेवारी लिनु पर्ने जेठो छोराले त्यति चासो नलिए पछि बुबाका दुःख अझै चुलिएका थिए । बुबाका दुःखहरु जति नै चुलिए पनि उहाँले अहिले हामीलाई करोडपति बनाएर राखिदिनु भएको रहेछ । एक हजारमा पाँच रोपनी जग्गा कसैले किन्न नमान्ने ठाउँमा अहिले आनाकै पाँच, दश लाखभन्दा माथि पुगिसकेको छ । बुबा अहिले हामीसँग हुनुहुन्थो भने छोराहरुको पौरख देखेर कति खुसी हुनुहुन्थ्यो होला । आमाले भने अहिले पनि देखिरहनु भएको छ । आफैले दुःखले हुर्काएका छोराहरुको प्रगतिले आमाको मन त्यसैत्यसै फुरुङ्ग भएको देख्छु । एकमानो पीठो पैचोमा नपत्याउँनेहरुले अहिले हामीसँग आरिसले मरिरहेका छन् । तिनीहरु हिजो आरिस गर्थे आज पनि गर्छन् । आरिसेहरुको पछि कुद्ने वानी छैन हाम्रो । भन्नेले जे भने पनि आफ्नो काम गर्न भने छोड्नुहुन्न भन्ने मेरो मान्यता छ । ‘काग कराउँदै छ पिना सुक्दैछ’ भने झैँ आफ्नो कर्म छोड्ने वानी छैन मेरो, त्यसको श्रेय बुबालाई नै दिन्छु । उहाँले भन्नु हुन्थ्यो–‘कागको पछि लाग्नु भन्दा पहिले आफ्नो कान छाम्नु पर्छ ।’ आज हामी सबै भाइहरु जुन स्थितिमा पुगेका छौँ त्यसको आधार भूमि बुबाकै हो । उहाँले हामीलाई गर्ने सबै कर्तव्य पुरा गर्नुभयो, मुलालाई कसले डोव खनिदिएको हुन्छ र ? त्यसकारण हाम्रो गतिलाई अहिले पनि उहाँकै निर्देशन छ भन्ने ठान्छौँ हामी । बुबाको समिप्य असाध्य प्यारो लाग्थ्यो मलाई उहाँले सुनाउँने जोक, कथा र उखान टुक्का र शास्त्रका कुराहरु हामी बेँसीबाट घर जाँदा बाटोमा सुन्थ्यो । जुनको उज्यालोमा बुबाका कथनहरु अति नै प्रिय लाग्थे हामीलाई । उहाँलाई आफ्नो जिन्दगीप्रति कुनै गुुनासो थिएन । रुखपात लगाउँनु र माटोसँग खेल्नु उहाँको दैनिकीले हामीलाई हुर्काउँनु, वढाउँनु र पढाउँनु भएको थियो । हाम्रा खुट्टा लागे पछि हामीले आफै गर्नसक्ने भयौँ र बुबाका दुःखमा सुख खोज्ने प्रयत्न ग¥यौँ ।
बुबाको अम्मल त खासै केही थिएन, तर पनि सुर्तीका पत्ताहरु भोटोको खल्तीमा बोक्नु हुन्थो । बेलाबेलामा अलिकति च्यातेर मुखमा हाल्नु हुन्थ्यो । कहिलेकाहीँ हामीलाई पनि खाने हो यसले पेटको किरा मार्छ भन्नु हुन्थो । मैले एकपटक खाएको छु, तितोले झण्डै वान्ता गरें । त्यसबेलादेखि मैले खाइन, अहिलेसम्म मेरो खासै अम्मल केही छैन । बुबाले गाँजाको विरुवा रोप्नु हुन्थ्यो । ठूलो भएपछि गाँजाको फूललाई वाँसको ढुङ्ग्रोमा खादेर माटोमा गाड्नु हुन्थ्यो । र, भन्नुहुन्थो–‘वस्तुभाउ विरामी परेका बेलामा यो अचुक ओखती हुन्छ ।’ केही वर्ष माटोमा गाडेको गाँजा निकै कडा हँुदो रहेछ । एक पटक हाम्रोमा मकै गोड्न आएको खेतालाले गाँजा माग्यो मैले त्यो दिए, सालको पातमा उसले बिंडी बनाएर खायो, मलाई पनि एक सर्को तान भनेर दियो । ऊ रहेछ गजडी मलाई थाहै थिएन । बारीमा गएपछि उसले मकै गोड्नुको सट्टा सबै खन्देछ । बुबाले निकै गाली गर्नु भयो, तैपनि उ त निरन्तर खनिरहेको थियो । मैले गाँजा दिएको कुरा बुबालाई भने । बुबाले कोदालो खोसेर उसलाई पठाईदिनु भयो । मलाई यो गजडीलाई गाँजा नदेको भए हुन्थ्यो भन्नु भयो । त्यसबेला म निकै डराएको थिएँ । तर, बुबाले कहिलेकाहीँ त्यस्तै हो भनेर सहजरुपमा लिनु भयो । बुबाको त्यहीँ सहजताले आज हामीलाई निर्देश गरिरहेको छ ।
बुबाका सुख, दुःखसँगै जोडिएका धेरै सन्दर्भहरु मस्तिष्कमा फिल्मका रिल जसरी घुमिरहेका छन् । तिनै सन्दर्भहरुको एल्वम बनाउँने प्रयासमा यी हरफहरु लेखिरहेको छु । छुटेका सम्झनाहरुलाई पुनः जोड्ने प्रयासमा छु । एकपछि अर्को स्मृतिका पानाहरु आफै पल्टिरहेका छन् ।
आषाढ÷श्रावणको महिना थियो, बुबा र म बारीमा मल हालेर बाकी खेतमा राख्नको लागि जाँदै थियौं । बारीमा मकैको झोड थियो, खेतमा हरिया धान, देख्दै मनमोहक लाग्ने । हामी बारीको डिलैडिल जाँदै थियौं, तलबाट बिनोददाइ आउँदै थिए । हाम्रो जम्का भेट भैसकेपछि, उनलाई बुबाले भन्नु भयो– ‘बिनादबाबु माल निकाल त ?’ बूढाले के माल निकाल भन्या हो, भन्ने मेरो मनमा प¥यो । काँधमा बोकेको धोक्रो बिसाएर म उभिएँ । बिनोददाइले खल्तिबाट टिनको सानो बट्टा निकाले । खोलेर थारै बुबालाई दिए । –‘त पनि खान्छस् ।’ भनेर मलाई दिदैँ भने–‘यो माल धेरै खानु हुँदैन यसरी ओठले च्याप्ने र थुक निल्ने ।’ भनेर सिकाए । बुबा मुखमा हालेर गइसक्नु भएको थियो । मैले उनले जे भने त्यहीँ गरे । आहो ! मुख पुरा बटारेको जस्तो भयो । नथुक्नु भनेको छ, कसरी थुक्नु, नथुकौ औडाह भै सक्यो । आ ! जे होल भनेर मैले निले । अगाडि बढें बुबा खेतमा पुगिसक्नु भएको थियो । म पुगे पछि आलिमा बसेर ल म उता कुनाबाट मल हाल्दै आउँछु त यो गरामा हाल्दै गर भन्नु भयो । मलाई एकतमासले रिँगटा लागिरहेको थियो । मैले हुन्छ भनेर आलिमा एकछिन बसें । संसारै घुमाएझैँ लाग्यो । सकिनसकी मल छर्न थालें । आलिमै बसेर मल एकै ठाउँमा छरेछु । त्यो दृश्य बुबाले देखेर मलाई के भयो भन्नु भयो । मैले सबैकुरा बताएँ । हैट ! यो त खैनी हो निकै कडा छ । किन खाएको त भनेर भन्नु भयो । पुरै गरालाई पुग्ने मल एकै छरेछु । उठाउँन पनि नमिल्ने ? पछि त्यो ठाउँमा मल धेरै भएर सबै धान डढेछ । सबैले के भयो भनेर सोध्दा बुबाले भन्नु हुन्थ्यो मालको करामत हो । त्यसबेला टिनको सानो बट्टामा खैनी किन्न पाइने रहेछ निकै कडा । कहिल्यै नखाएको मलाई दुई दिनसम्म पेट बटारीरह्यो । त्यो खैनीको स्वादको करामत अहिले सम्झदा पनि हाँसो उठ्छ ।
कोरोना कहरले पुनः आक्रान्त बनाइरहको यो समयमा पु्राना स्मृतिहरु सम्झदा रमाइलै अनुभूति हुँदो रहेछ । केही समय वर्तमान पीडाबाट मुक्क्ति पाएर पुरानो संसारको विचरणमा निकै रमाइलो भयो । पृष्ठभूमिमा कर्णदासको कर्णप्रिय गीत बजिरहेको छ–‘जीन्दगीको के भरोसा, यो त सानो खैलौना हो ……..!’ आखिर कर्कलाको पातमा पोखिएको पानी जस्तै त हो जीन्दगी । सुरक्षित रहौँ । एकले अर्कालाई सहयोग गरौं । आखिर जीन्दगी सानो खेलौना नै त हो ।