
मधु पाठक
समयचक्र
कति हतार छ समयलाई आफू फेरिन
आँखा अगाडि सलल वग्छ
तिमीसंगको त्योे भेट
अथाह मानवसागर भित्र
म आफैलाई भेट्न हठात दौडिरहेको वेला
भेटिएकी थियौ तिमी ।
निस्सासिंदै गएको परिवेश
व्यस्त सडकको छेउ
अनगिन्ति परिचित र अपरिचितहरुको भिड
वच्दै वचाउँदै आफैलाई
सिमसिम वर्सिएको पानी मुनि
मधुर ल्याम्पपोष्टको उज्यालोमा
ओढाएर आफ्नो हातको पत्रिका
वर्षायौ तिमीले अपनत्व ।
मेरो कानमा खुसुक्क साउति गर्दै
तिमीले राखेको प्रस्ताव
अनुमोदनका खातिर आतुर थियो मन
छचल्किएर पोखिन खोज्दै थिए मेरा खुसी
अनायासै दर्कियो पानी
नसकेर थाम्न वर्षातको वेग
क्रमशः च्यातिंदै गयो पत्रिका
निथ्रुक्कै भिज्यो हाम्रो तन मन
ल्याम्पपोष्टको मधुर प्रकाशमुनि
दिन नसक्दै उत्तर तिम्रो प्रस्तावको
आफ्नै रहरको हत्या गरेर
हठात छुट्टियौं हामी ।
वगेछन् केहि वर्ष
लुकाएर हिड्यौं दुबैले आफ्नोे अनुहार
सायद मैले जस्तै तिमीले पर्खियौ समयलाई
मेरै जस्तो तिम्रो वरिपरि पनि
घामले न्यानो छर्ने तरखर गरेन ।
अनायास भेटियौं बाटोमा
गाँजेछन् प्रौढताले तिमीलाई पनि
पत्रिका त थियो मेरो हातमा
तर तिमीलाई ओढाउन थिएन वर्षात
वितेका समयका पुराना चस्माले
तिमीलाई हेर्नुको विकल्प थिएन मसंग
सम्याउनै नसकिने गरी
भत्किसकेछ बाटो हाम्रो जीवनमा
छरिसकेछ घामले उज्यालो अन्तै ।
चिनेर एउटा चौतारी सम्झनाको
लड्न आफ्नै अस्तित्वसंग
क्रमशः आफूले आफैलाई
लिएर हिंडे टाढा म
विस्तारै मधुरो हुँदै निभ्यो
हाम्रो पहिलो भेटमा उज्यालिएको ल्याम्पपोष्ट ।
(यो कविता सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको ठमेल काव्य गोष्ठीमा वाचन गरिएको हो)








