
काठमाडौं।नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको दशकदशकका कथावाचन कार्यक्रमको अठारौं श्रृङ्खला मिति २०८१ चैत २९ गतेका दिन सम्पन्न भएको छ ।
कार्यक्रमको आरम्भमा यसै महिना दिवंगत हुनुभएका कथाकार राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय) प्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वर्गीय आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो ।
हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर तीप्रति सम्मान प्रकट गर्दै कार्यक्रम शुरु गर्ने प्रचलन अनुसार यस पटक दिवंगत स्रष्टा युद्धप्रसाद मिश्रको कथा ‘पुनर्मिलन’ ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष ७ संख्या २ (विसं १९९८ जेठ)बाट वाचन गरिएको थियो । उक्त कथा स्रष्टा मिश्रको पहिलो कथा हो । उपन्यासकार शुकदेव उपाध्यायले सो कथा वाचन गर्नुभएको थियो । त्यसपछि अन्य पाँच जना कथाकारहरूले २०२० को दशकदेखि २०५० को दशकसम्ममा प्रकाशित आआफ्ना कथा क्रमैसँग वाचन गर्नुभएको थियो ।
कार्यक्रममा २०२० को दशकका कथा अन्तर्गत कथाकार नरेन्द्रराज पौडेलले ‘घैयाको बाला’ शीर्षकको कथा वाचन गर्नुभएको थियो । सो कथा २०२७ सालमा साहित्यिक पत्रिका ‘विदेह’मा पहिला पटक प्रकाशित भई २०५३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित आफ्नो कथासङ्ग्रह ‘फट्टिकको खम्बा’ मा सङ्गृहीत छ ।
२०४० को दशकमा प्रकाशित सिर्जना अन्तर्गत कथाकार राशि पाण्डेले साहित्यिक पत्रिका ‘उत्साह’ को पूर्णाङ्क २९ (२०४३ साउन) मा प्रकाशित आफ्नो कथा ‘दिल्लीकट लाहुरे’ सोही पत्रिकाबाट वाचन गर्नुभएको थियो ।
२०४० को दशकका कथा अन्तर्गत नै कथाकार मधुबन पौडेलले मधुपर्क मासिकको २०४४ मङसिर अङ्कमा प्रकाशित ‘झझल्को’ शीर्षकको कथा आफ्नो कथासङ्ग्रह नलिनी भाउजू (२०४९) बाट वाचन गर्नृुभएको थियो ।
२०५० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार सुलोचना मानन्धर धितालले ‘एक जोर आँखा’ शीर्षकको रचना वाचन गर्नृुभएको थियो । उक्त कथा पहिला ‘झ्यारखाना’ शीर्षकमा नेपाल भाषामा प्रकाशित भई पछि नेपाली भाषामा भने नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित समकालीन साहित्यमा २०५८ सालमा प्रकाशित भएको थियो ।
२०५० को दशकमा प्रकाशित अर्को कथा ‘गोधूलि’ स्रष्टा अमरकुमार प्रधानले आफ्नो कथासङ्ग्रह ‘अमरका कथाहरू’ बाट वाचन गर्नृुभएको थियो । उक्त कथा पहिलो पटक २०५२ सालमा ‘अनुराग’ नामक पत्रिकामा छापिएको थियो ।
कार्यक्रममा यस अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै अभियानको उद्देश्य बारेमा छोटकरीमा प्रकाश पार्नुभएको थियो । कथाकार÷नियात्राकार भट्टराईले अभियान अन्तर्गतको एउटा अङ्गका रुपमा रहेको दशक–दशकका कथावाचन कार्यक्रम यस विधामा रुचि राख्ने लेखक र पाठकबीच लोकप्रिय हुँदै गएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । यस अभियान अन्तर्गत दशक–दशकका कथावाचनका अतिरिक्त कथा विधाको पुनर्जागरण र विकासमा योगदान हुने अन्य रचनात्मक कार्यहरू गर्ने सोच रहेको पनि उहाँले प्रकाश पार्नुभयो ।
यस अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथा साहित्यको इतिहास लामो नभएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मोतीराम भट्टको समय अथवा गोरखापत्रको प्रकाशनपछि मात्र यस विधामा सिर्जना शुरु भएको हो । तर गोरखापत्रमा प्रकाशित कथा धेरैले पढेका नै छैनन् । राणा शासनकालमा नेपालको राजनीतिले गर्दा विद्रोही भएर केही नेपाली बाहिर गए । भारतका बिभिन्न ठाउँमा तिनीहरूले समूह बनाए र राजनीतिको बिरोध गर्न पत्रिका निकाल्न थालेका हुन् । भारतबाट सुन्दरी, गोर्खाली, गोर्खा संसार र नेपालका माधवी लगायतका पत्रिकाहरू निस्कन थालेका थिए र तिनमा कथा समेटिन लागेका थिए ।” उहाँले भन्नुभयो, “वि सं १९९१ मा शारदाको प्रकाशनपछि यसका लागि कथा लेखिन र छापिन थालेका हुन् । २०१७ सालपछि निस्केका इन्द्रेनी, धरती आदि पत्रिकाका माध्यमबाट भने आधुनिक नेपाली कथाको विकासको शुरुवात भएको हो ।”
आपूmहरूले शुरु गरेको यस अभियानबाट नेपाली कथा विधाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले विशुद्ध साहित्यसेवाको भावले शुरु गरिएको अभियानमा सबैको सहयोग र रचनात्मक सुझाउको अपेक्षा पनि गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा यस अभियानका परिकल्पनाकार पुष्कर लोहनी यसै महिनादेखि ८७ औं वर्षमा प्रवेश गर्नुभएकोमा उहाँको सुस्वास्थ्य, दीर्घायु, सुखशान्ति र सिर्जनशीलताका लागि उपस्थित सबैका तर्फबाट शुभकामना प्रकट गरिएको थियो ।
यो मासिक कार्यक्रम साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ ।




