आज विश्व कविता दिवस
चार हजार बर्ष अघि बेबिलोनमा पहिलो कविता सृजना भएको भनिन्छ । यसैलाई आधार मान्ने हो भने पनि कविताको इतिहास चार हजार बर्ष पुरानो छ । वास्तबमै साहित्यमा सबैभन्दा बढी लेखिने विधा नै कविता हो । पूर्वियाहरुको कविताको सबैभन्दा जेठो साहित्य भनेको ऋग्वेद मानिन्छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले मार्च २१ लाई विश्व कविता दिवसको रुपमा मनाउने भनि घोषणा गरेसँगै विश्व कविता दिवस मनाउने परम्पराको थालनी भएको देखिन्छ ।
नेपाली साहित्यको क्षेत्रमा हेर्दा कविता सृजनामा लाग्नेहरुको लाम लामै छ । इतिहास खोतल्ने हो भने पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेपछि आधुनिक नेपाल निर्माण भएको मानिन्छ । यसैक्रममा लेखिएको कवि सुवानन्द दासको पृथ्वीनारायण कवितालाई नेपाली साहित्यको प्रथम कविता मानिएको छ । नेपाली साहित्यमा वि.सं.१८७२ सम्मको समयलाई वीरधारा काल पनि भनिन्छ । यसपछि विंसं.१९४० सम्मको समयलाई भक्तिकाल वा भक्तिधारमा मानिएको छ । यसकालका कविहरु इन्दिरस,विद्यारण्यकेशरी,वसन्त शर्मा,यदुनाथ पोखरेल,छविलाल,हरिदास आदि हुन् ।
प्राथमिककालका भक्तिधारा अन्तर्गत रघुनाथ भट्ट पोखरेल र भानुभक्त आचार्यले रामभक्ति धारालाई स्थापित गराएका हुन् ।
प्राचिनकालमा लोकगीत,गाथा हुँदै नेपाली कविताको विकास भएको देखिन्छ ।
साहित्य भौगोलिक सीमाभित्र बाँधिनु हुँदैन् भन्ने हामीलाई लागेको छ । कविका भोगाइ,अनुभव,अनुभूति,उसले वोकेको विचारको प्रतिबिम्ब कवितामा अनुदित भएर आउँछ । यहि कविताको माध्यमले हजारौं वर्षदेखि कविहरुले आफ्ना अनुभव र अनुभूतिहरुको पोयो बाँधेको देखिन्छ ।
बास्तवमा कविताको कुनै रंग हुँदैन् । यो स्वतन्त्र र सार्वभौम हुनुपर्दछ । कविता त विश्वव्यापी हुनुपर्दछ । बास्तवमा कविता त यसरी नै बाँच्ने हो । सीमारहित बाँच्नु पर्दछ कविता ।कविता जीवनको लागि लेखियो भने,कविता मानव हीतमा सिर्जना गरियो भने त्यो उपयोगी हुन्छ।
विश्व कविता दिवसको सम्पूर्ण कवि,कविताका पाठक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।