
एउटा पुरानो बजार,
जहाँ घरहरू
आधा मुर्छाएर बसेका छन्।
सायद,
घर छाड्नेहरूको पीडाले गलेर हो?
वा कसैको लामो प्रतीक्षामा,
निरन्तर आँसु झारेर हो?
यो बजारमा—
मुस्किलले एकाध झ्यालहरू खुल्छन्,
जस्तो कि
बाँकी बचेका मिठा स्मृतिहरू
यी झ्यालबाट
बेपत्ता भाग्न सक्छन्।
मुस्किलले एकाध पसलहरू खुल्छन्,
जस्तो कि
म्याद गुज्रेका सामानहरूको
अब कुनै मूल्य छैन।
यो बजारबाट बेहिसाब हराएका छन्—
खुसी गाँसिदिने नजरहरू,
श्रद्धा चढाउने हातहरू,
भरोसा बोक्ने पाइलाहरू।
लाग्छ, यहाँका
मन्दिरका घण्टामा केवल आर्तनाद बज्छ,
ढुङ्गे धारामा केवल वेदना बग्छ,
फल्चामा केवल सम्झना बास बस्छ।
गाह्रो छ,
यस बजारलाई—
यी घरहरूलाई—
आफ्नो अस्तित्वमा जीवन फुक्न,
र आफ्नो भकारीमा सपना भर्न।
यसैले सायद,
परिवारजन सबै
कतै टाढाको यात्रामा लागेका छन्।
आफ्नो पसिनाको मूल्यमा—
स्वास सापटी माग्न
कुनै मरुभूमिको मैदानमा पुगेका छन्।
अथवा,
धड्कन सापटी माग्न
कुनै परदेशी सहरको कोलाहलमा छिरेका छन्।
…तर अझै,
यहाँको माटोमा सुगन्ध बाँकी छ।
यहाँको माटोमा सपनाका जरा बाँकी छन्।
अलिकति माया घोल्नसके
फेरि ,
जुर्मुराउने छ यो बजार,
जुर्मुराउने छ यो देश।
फल्चा: पाटी








