
काठमाडौं। बनारसमा जन्मेर उतै हुर्किएका नेपाली भाषी साहित्यकार, साहित्यिक पत्रिका‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठको जीवन तथा उनका विषयमा लेखिएका आलेखहरूको सँगालो ‘नेपाली–हिन्दी साहित्यका सेतु स् दुर्गाप्रसाद श्रेष्ठ’ एक कार्यक्रमकाबीच सार्वजनिक भयो ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सिक्किमेली साहित्यकार थिरुप्रसाद नेपाल, रोचक घिमिरे, डा.तुलसी भट्टराई, प्रा.डा.गोविन्दराज भट्टराई र दुर्गाप्रसाद श्रेष्ठले पुस्तक सार्वजनिक गरे ।
पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि नेपालले आफू पारिवारिक यात्रामा काठमाडौं आएको बताउँदै यसरी साहित्यिक यात्रामा पनि सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।
डा. तुलसी भट्टराईले नेपालीसँगै हिन्दी साहित्यमा पनि सक्रिय श्रेष्ठका बारेमा बताउँदै उनले २० को दशकमा नेपाल सरकारमा जागिर खाएको उल्लेख गरे । केही वर्षको नेपाल बसाइँपछि बनारस फर्किएर ‘उदय’को सम्पादन गर्दै साहित्य लेखनमा श्रेष्ठ निरन्तर सक्रिय रहेको उनले बताए ।
अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले श्रेष्ठको किताब आउनु आफ्ना लागि अपार आनन्दको विषय भएको बताए ।
प्रा.डा.गोविन्दराज भट्टराईले सार्वजनिक पुस्तकमा श्रेष्ठको जीवनदेखि इतिहाससम्म समेटिएको उल्लेख गर्दै यो ऐतिहासिक दस्तावेज भएको चर्चा गरे ।
कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइराला, नारायणप्रसाद शर्मा, हरि गौतमले बोलेका थिए ।
पुस्तक ओरिएन्टल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।







