
कृष्ण बाउसे
१
आफ्ना नानीहरूका खेल्ने चिज भनेर ल्यायौ र आफल्यौ
सजिला थैला र प्रयोगका जिनिस भनेर ल्यायौ र आफल्यौ
सड्दै नसढ्ने र डढाए आकाशमा बिख भर्ने दुष्टात्मा हुँ म
प्लास्टिक भनेर हेप्यौ नि ! अब नसोचेको सजाय पाउने भयौ ।
२
हिमालको हिउँ र नदीको पानी कार्बनलाई चुसाएपछि
चुरेको शिरका रुख र तनका ढुङ्गा पराईलाई लुटाएपछि
कसमाथि राज गरौँला भन्ने लागेको छ, ए सरकार ?
मान्छेको बस्तीमा भरुभूमिको मसान जगाएपछि !
३
ए वन डढाएर आगो ताप्ने नसामा लट्ठिएका हरू, बिउँझ !
ए फोक्सोभरि विषाक्त धुवाँ तान्न कस्सिएका हरू, बिउँझ !
संसारै जल्न लागेको छ तिम्रो महत्त्वाकाङक्षाको रापमा
ए सधैँ बेहोसीमा जिन्दगी गुजार्न रत्तिएका हरू, बिउँझ !
४
जताततै प्लास्टिकका फोहरको उरुङ लाएर
उद्योग , गाडी र चुरोटको विषाक्त चुम्बा खाएर
ए मान्छे ! जल्छौ कि आफैँले झोसेको आगोमा !
कि जोगाउँछौ संसारलाई आफैँ संयमित भएर ?








