
काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले आफ्नो १२औँ वार्षिकोत्सव र मुक्तक दिवसको अवसर पारेर दार्जलिङका मुक्तक लेखक तथा साहित्यकार नन्द हाङखिमलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ नगद राशि ५१ हजारसहित प्रदान गरेको छ ।
सोहीअवसरमा ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ नेपालगंजका साहित्यकार खगेन्द्र गिरी कोपिलालाई नगद राशि ३१ हजारसहित प्रदान गरियो ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले दुवै सर्जकहरूलाई पुरस्कृत गर्दै मुक्तकले सीमित हरफमा असीमित भाव अभिव्यक्त गर्ने बताए । ‘सिर्जना थोरै लेखे पनि कालान्तरसम्म जीवित रहने किसिमको हुनुपर्छ’ भन्दै प्रमुख अतिथि रेग्मीले साहित्यमा समाज देखिनुपर्ने बताए ।
उक्तअवसरमा नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजको सहकार्यमा प्रकाशित मुक्तकसंग्रह ‘मुक्तक मुहिम’ सार्वजनिक गरियो । कृतिभित्र विभिन्न सर्जकका ६७२ वटा मुक्तक समेटिएको छ । कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्कीले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गरे ।

उक्त अवसरमा पुरस्कृतहरू हाङखिम र कोपिलाका प्रा.डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम रोदन, विवश पोखरेल, दुर्गाप्रसाद पोखरेल, ज्ञानुवाकर पौडेल, राधेश्याम लेकाली लगायतले बोले ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता तथा महासचिव यादव भट्टराईको सञ्चालनमा उक्त कार्यक्रम भएको थियो ।





