कृति : नेपाली बाल साहित्यको इतिहास
कृतिकार : प्रमोद प्रधान
नेपाली बाल साहित्यको विवेचना गरिएको यो कृति नेपाली बाल साहित्यको जानकारी राख्ने सबैको लागि अत्यत्न उपयोगी छ । नेपाली साहित्यमा बाल साहित्यको अबस्था बारे बुझ्न यो कृति सहयोगी हुनेछ । बालसाहित्यमा लागेका व्यक्तित्वहरुको बारेमा बिवेचना गरिएको,बालसाहित्यका विविध दृष्टिकोण,सैद्धान्तिक चर्चा,विधागत विवेचना,नेपाली बालसाहित्यका लौह पुरुष र शिर्षस्थ व्यक्तित्वहरुको जीवनी,बालपत्रिकाहरुको बारेमा जानकारी,बाल साहित्यको बारेमा धारणा,प्रचलित बालपत्रिकाको समेत यसमा चर्चा गरिएको छ । नेपाली बाल साहित्यको बारेमा विस्तृत चर्चा भएको पुस्तक हो यो ।बालबालिकाको कलिलो मष्तिष्कलाई सिर्जनशील बनाउनु यस पुस्तकको ध्येय रहेको छ यसको लागि बाल साहित्यको महत्वपूर्ण स्थान हुने भएकोले यसैतर्फ यो कृति लक्षित छ ।
नेपाली बालसाहित्यको इतिहासलाई विंसं.२०६१ मा विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले पहिलो पटक प्रकाशनमा ल्याएको हो ।
कृति : नेपाली कथावलोकन
विधा : समालोचनासंग्रह
समालोचक : प्रतापचन्द प्रधान
समालोचक स्रष्टाको लागि एक द्रष्टा मानिन्छ । नेपाली कथा परम्पराको थालनी र विकास,नेपाली कथाका पूर्वपीठिका र उठान,आधुनिक नेपाली कथाको थालनी र विकासक्रम समेतको जानकारी दिने पुस्तक रहेको नेपाली कथावलोकनमा कथाकारहरु रुपनारायण सिंह,गुरुप्रसाद मैनाली,विपि कोइराला,भवानी भिक्षु,शिवकुमार राई,गोविन्द गोठाले,इन्द्रबहादुर राई र रमेश विकलका कथागत प्रवृत्ति,विशेषता र विश्लेषण गर्ने प्रयास गरिएको छ ।
नेपाली कथावलोकनलाई पहिलो पटक दिपा प्रकाशन,दार्जिलिँगले वि.सं. २०४० सालमा प्रकाशनमा ल्याएको हो ।
कृति :आँधीको आवेग
विधा : कवितासंग्रह
कवि : मनु मन्जिल
मनु मन्जिल बिम्ब कवि हुन् । अनुभूतिमा लछप्पै भिजेर लेखिएका,भावनात्मक रुपले दर्विला र सशक्त,आफ्ना समयका तस्वीर,अलगै पहिचान बनाउन सफल कविता कृति हो आँधीको आवेग । बिम्बमा मज्जैले डुबेर शब्दमा बिम्बात्मक अभिव्यक्ति आएका कविता लेख्न पोख्त छन् मन्जिल । विभिन्न उपमा र प्रतिकहरुद्धारा अनुभूतिलाई सिँगार्छन् उनी । निरंकुश वातावरणमा पनि बिम्ब भेट्छन् । मनका भावनाका उत्ताल तरंगहरुमा पनि बिम्ब देख्छन् । भावनाको तीब्रतम उद्वेगले आएका शक्तिशाली कविताहरु कोर्नु कविको विशेषता लाग्छ । उनी मौलिक बिम्बहरु सिर्जना गर्ने खुवी राख्छन् । कविताको भाषा नै बिम्बात्मक हुनु उनको कविताको विशेषता हो ।
आँधीको आवेगलाई वाणी प्रकाशन,विराटनगरले पहिलो पटक वि.सं.२०६२ सालमा प्रकाशनमा ल्याएको हो ।