(लघुकथाकार म्यामराज राई हतुवागढी, होम्ताङ–६, भोजपुरका स्थायी वासिन्दा हुन् । पहाड घर भई हाल कर्मक्षेत्र जापानमा कार्यरत राई प्रकृतिले नै सर्जक बनाएको एकदम सरल, सहज र शालीन व्यक्तित्वका हुन् । उनको पछिल्लो लघुकथा सङ्ग्रह बुन्छतबाट दुई कथाहरू प्रस्तुत गरिएको छ । ई खबर नेट)
म्यामराज राई
बुन्छत
किराँत समुदायले शिव – पार्वतीको रूपमा मान्ने पारुहाङ् – सुम्निमा हिमालय पर्वतमा बस्थे । किराँतीहरू हरेक बिहान आफ्नो साक्षात् भगवान्को दर्शनमा जीविका चलाउन सहज होस् भनी आशीर्वाद लिन चाहन्थे । पालैपालो प्रत्यक्ष दर्शनार्थ यात्रा तय पनि गर्थे । यद्यपि आधा बाटोमा प्रायः जङ्गली जनावरको शिकार बन्थे । कोही हुरीबतासको चारो हुन्थे त कोही भने नदी र सागरको खाजा बन्न पुग्थे । आफ्ना सन्तानहरू गन्तव्य पुग्नुअगावै लगातार हराइरहेको पारुहाङ् – सुम्निमाले चाल पाए । उनीहरूको मन बेस्सरी कुँडियो । आँखा रसायो ।
पारुहाङ् दम्पत्ति नजिकैको रुखमुनि बसेर फलाक्न थाले । केही छिनको ध्यानपश्चात् तथास्तु गरेलगत्तै किराँत भूमिमा बाँसजस्तै देखिने बाँसको एक प्रजातिको झाङै उम्रियो । प्रत्येकको आँगनमा प्रसाद स्वरूप बनाउने विधिसहित बुन्छतहरू झरे । सबैले ओल्टाइपल्टाइ हेरे । अचम्म मान्दै बनाउन समेत सिके । एउटा बुन्छतमा तीनजना मान्छेहरू एकअर्कामा अङ्गालो मारेको आकारमा गुजुल्टिएको सानो तर अनौठो चिजजस्तै देखे । तर, खास ठम्याएनन् ।
भोलिपल्ट ।
सूर्यनारायणको दर्शनसॅंगै चौतारोमा भेला भए । बुन्छतहरू सम्मुखमा राखेर छलफल चल्यो ।
“काँ’बाड ? किन आयौको पो ?” उपस्थित मध्ये एकले सोधिहाल्यो ।
“हिमालय पर्वतबाट आयौँ । हामीलाई अँगाल्यो भने तिमीहरूको मनोकाङ्क्षा पूरा हुनेछ ।” एउटा बुन्छतको एउटा टाउकोले गर्विलो आवाजमा बोल्यो ।
गाउॅंलेले शिशुहरूका लागि कोक्रोमा झुन्ड्याए । महिला खालले चोलीको तुनामा, घाँटीमा हारको रूपमा तथा पुरुषहरूले छातीमा हुपसियोले खिलेर वा घाँटीमा धागोले उनेर लगाए । जसरी हुन्छ सबैले पारुहाङ् – सुम्निमाको प्रसाद ग्रहण गरे ।
“साँच्चिकै भन्ने हो भने तिमेरू को हौ के ?” अर्कोको प्रश्न तेर्सियो ।
“म ज्ञानको प्रतीक हूँ । यो शक्तिको र यो चाहिॅं सुरक्षाको ।” यति बोली सुनिएपछि बुन्छतबाट आवाज अलप भयो ।
फुकुवा
‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ् फुरुङ्ग हुँदै मनमनै बोल्यो । आँखाको चस्मा मिलाउॅंदै आफ्नो नोटकपीमा मिति पनि टिप्यो ।
“बाजे, नानी सोरे ? हिजुके दायो, नान्दे खाइतेमासका ?” त्यो मिति किन लेख्नुभएको हो भनेर नानुले उनको हजुरबालाई हठात् जिज्ञासा राखी ।
“फुकुवा देस्।” पासाङ्ले नातिनीतिर नेपालीमा एउटा र अर्को जापानी गरी दुई शब्दमा जबाफ फर्कायो ।
प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन नातिनी बाजे मात्र कोठामा हुन्थे । पर्यटक भिसामा दुई महिना अघि जापान पुगेको पासाङ्ले जति जापानी भाषा जान्दछ । त्यति जति नै उसकी नातिनीलाई नेपाली आउॅंछ । आक्कलझुक्कलमा दुवैजना एउटा भाषामा बोल्थे । नत्र दुईजना, दुई भाषामा हुन्थे । कि त दुई देशका भाषाहरू मिश्रण गरेर एक अर्काबिच सञ्चार प्रवाह गर्थे ।
“फुकुवा त्ते नानी ?” नानुले हजुरबालाई तुरुन्त फुकुवा भनेको के हो भनी चासो राखी ।
पासाङ्ले अलिअलि इन्टरनेट चलाउन सिकेको थियो । किशिदा, मास्क, रेल र सुपरमार्केट आदिको फोटाहरू गुगलमा निकाल्यो । नोटकपीको मिति देखाउॅंदै नातिनीलाई हातको इसाराले बुझाउन थाल्यो, “किशिदा प्रधानमन्त्रीले जापानको रेलयात्रा र सुपरमार्केटमा यो दिनदेखि कोरोनाकालीन मास्क नचाहिने घोषणा गरेको हो ।”