काठमाडौं ।गत वर्ष (२०८० साउन)देखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको पन्ध्रौं श्रृङ्खला मिति २०८१ पुस २६ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
कार्यक्रममा सर्वप्रथम यस अभियानका परिकल्पनाकार कथाकार/नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरुको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरुबारे प्रकाश पार्नुभयो । उहाँले बिभिन्न पुस्ताका कथाकारहरुलाई एउटै मञ्चमा राखी तिनीहरुबीच व्यक्तिगत परिचय र फरकफरक कालखण्डमा प्रकाशित कथाका विषयवस्तु, शैली, प्रयोगबारे एकअर्कालाई जानकारी गराउने पवित्र उद्देश्यबाट यो अभियान शुरु गरिएको कुरा स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो- “यसबाट नेपाली कथासाहित्यको विकासमा केही योगदान हुने हामीले विश्वास लिएका छौं ।”
हरेक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने चलन अनुसार यस पटक स्रष्टा मातृकाप्रसाद कोइरालाको कथा ‘गरीब’ वाचन गरेर उहाँप्रति सम्मान प्रकट गरिएको थियो । उक्त कथा ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष ६ अंक ६ (विसं १९९७ आश्विन महिनाको अंक)बाट आयोजक समितिका सदस्य समिना खनाल पृथाले वाचन गर्नुभएपछि अन्य छ जना कथाकारहरूले २०३० को दशकदेखि २०७० को दशकसम्ममा प्रकाशित आआफ्ना कथा वाचन गर्नुभएको थियो ।
आजको कार्यक्रममा २०३० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार धन्वन्तरि मिश्र (कात्यायन)ले २०३९ मङ्सिर÷माघको उत्साह पत्रिकाबाट‘आदेश’ शीर्षकको आफ्नो कथा वाचन गर्नुभएको थियो ।
त्यसपछि २०४० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार शैलेन्द्र साकारले २०४२ सालमा प्रकाशित कथा ‘मर्नु पनि’ आफ्नै कथासङ्ग्रह ’कालपात्र र अरु कथाहरू’बाट वाचन गर्नुभएको थियो । २०४० को दशककै अर्को कथा ‘भोज जग्गुबाबुको’ कथाकार चन्द्रप्रसाद भट्टराईले गरिमा मासिकको वर्ष ६ अंक ८ पूर्णांक ६८ (साउन २०४५) बाट वाचन गर्नुभएको थियो । उक्त कथा उहाँको आफ्नो कथासङ्ग्रह ‘सहयात्रा’ (२०५९) मा सङ्गृहीत छ ।
२०६० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार डा राजेन्द्र विमलले ‘उधारो जुत्ता’ शीर्षकको आफ्नो कथा हालै प्रकाशित कथासङ्ग्रह ‘झ्यालबाट विश्व चियाउँदा’बाट वाचन गर्नुभएको थियो । सोही दशकको अर्काे कथा ‘अप्रमाणित हत्यारा’ कथाकार डा शेखरकुमार श्रेष्ठले शब्द संयोजन पत्रिकाको २०६८ असोजको अंकबाट वाचन गर्नुभएको थियो ।
२०७० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार पवित्रा अधिकारीले आफ्नो कथासङ्ग्रह ‘देह उत्सव’ (२०७७) बाट ‘अव्यक्त तारा’ शीर्षकको कथा वाचन गर्नुभएको थियो ।
दुई घण्टा लामो सो रमाइलो कार्यक्रमको अन्त्यमा अर्का परिकल्पनाकार साहित्यकार पुष्कर लोहनीले विसं १९९१ मा शारदाको प्रकाशनपछि नेपालमा शुरु भएको कथा लेखनको इतिहास नब्बे वर्षको रहेको बताउनुभयो । उहाँले भन्नुभयो- “त्यस बेला केही सीमित लेखक थिए, पाठक पनि सीमित थिए । प्रजातन्त्रपछि, खास गरी विसं २०१० मा ‘प्रगति’को प्रकाशन शुरु भएपछि गोष्ठीहरू हुन थाले, नयाँनयाँ लेखक निस्कन थाले । कथाकारहरू गोविन्दप्रसाद लोहनी, शंकर लामिछाने, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल गोठाले, दौलत विक्रम विष्ट, रमेश विकल, पोषण पाण्डेको उदय त्यसै कालमा भएको हो । म तिनीहरूको सामीप्यमा रहेको हुँदा यो विकासक्रमलाई नजिकबाट देखेको हुँ । मेरो आफ्नै कथा पनि २०१६ सालमा प्रकाशित भएको हो ।”
उहाँले पन्ध्रौं शृङ्खलासम्म आइपुग्दा यस अभियानले धेरै कथाकारहरूको माया पाउन सफल भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
कार्यक्रम संचालन संयोजक कथाकार मन्दिरा मधुश्रीले संचालन गर्नुभएको कार्यक्रममा कथावाचकहरूका अतिरिक्त श्रोताका रुपमा कथाकारहरू मधुबन पौडेल, दीपक लोहनी र अन्य कथाप्रेमीहरूको उपस्थिति थियो ।
यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ ।
२०७० को दशकसम्ममा पत्रपत्रिका वा पुस्तकमा प्रकाशित आफ्ना कथा वाचन गर्न इच्छुक स्रष्टाहरूले अग्रिममै आयोजकहरूसँग सम्पर्क राख्नुपर्ने यस अभियानका परिकल्पनाकार कथाकार/नियात्राकार चन्द्रप्रसाद भट्टराईले ई खबर नेटलाई जानकारी दिनुभएको छ ।