
चर्चामा पुस्तक
झ्यालबाट विश्व चियाउँदै
आख्यान नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधा हो । उपन्यास पछि कथा पढिन्छ । चर्चित कवि,सम्पादक विमल भौकाजीले नेपाल सहित विश्वमा रहेका कथाकारहरु मध्येबाट सत्रवटा देशका कथाकारहरुका कथाहरुलाई सम्पादन गरेर विश्व चियाउँदै नेपाली साहित्यको बजारमा आएको छ । यसमा ४९ कथाकारका कथाहरु रहेका छन् ।
अमेरिका बस्ने ९ जना कथाकार,अष्टे्लियाका२,इजरायल,कतार,क्यानडा,चीन,जर्मनी,पोर्चुगल,दक्षिण कोरिया, लक्जेमवर्ग, स्पेन, हङकङका ११,जापान३,नेपाल १/१,भारतका ७ कथाहरु समावेश भएका छन् । कूल ३ सय ९८ पेजमा संग्रह आएको छ ।
नयाँ तथा पुराना कथाकारहरुको समिश्रण कृतिको विशेषता हो ।
आयतनको हिसावले मध्यम वर्गका कथाहरु यस कृतिमा परेका छन् । समसामयिक विषयचेतले कथाहरुमा विषयवस्तु पाएका छन् । यसैगरी डायस्पोरिक कथाहरु पनि यहाँ पढ्न पाइन्छ । सरल,सुबोध्य भाषाशैलीका कथाहरुले गर्दा सुस्वादु देखिन्छन् कथाहरु ।
झ्यालबाट विश्व चियाउँदैलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।
कलबिख मूच्र्छना
माधव काफ्लेको कलबिख मूच्र्छना संस्मरणसंग्रह हो । निबन्ध,कथा,उपन्यास,संस्मरणमा कलम चलाउने सक्रिय स्रष्टा हुन् काफ्ले । यस कृतिभित्र उनका १८ थान संस्मरणहरु रहेका छन् । बालवयका स्मृतिका पलकहरुमा कैद भएका ,वाल अवयवहरुका पलहरु,डोल्मासँगका संस्मरणहरु यसमा छन् । उतिवेलाको विद्यालयको रुग्ण अबस्था,आर्थिक दुराबस्था लगायतका कुराहरुको जानकारी पाइन्छ यसमा । रामेछापका पहिलो पटक शिक्षक नियुक्ति भएर जाँदाका अनुभव र अनुभूतिहरु,सरुवा हुँदाको मनोभाव,नमिठा पलहरु यसमा परेका छन् । यतिमात्र नभएर पछिल्ला वर्षका केहीथान संस्मरणले पनि यहाँ स्थान बनाएका छन् । द्धन्दकालीन परिवेश पनि यसमा परेको छ ।
संस्मरणहरु आयतनको हिसावले केही लामा भएपनि सरल भाषाशैली,रोचक कथा जस्तै प्रस्तुत गर्ने तरिकाले संस्मरणहरु पठनीय बनेका छन् ।
कलबिख मूच्र्छनालाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।
लाइ -सी
दाजु गुरुङको कथासङ्ग्रह हो लाइ -सी । आफुले देखेभोगेको कथाव्यथा र यथार्थलाई पात्रहरु बुनेर उनीहरु मार्फत प्रष्फुटित गराउने राम्रो खुवी कथाकारमा देखिन्छ । महिला र पु्रुषको सम्बन्ध,बहुसँख्यामा रहेको मध्यमवर्गका पीडाहरु डायास्पोरिक कथाकारले बुनेका छन् सुन्दर रुपमा विवशता र बाध्यतामा परेका मध्यमवर्गीय चाह र इच्छाहरु कसरी मनमै दबिन्छन् भन्ने तर्फ कथाहरुले गजवले चित्रण गरेको छ । विशेषत देश छाड्नेहरुको पीडा पनि कथामा उधिनिएको छ । डायास्पोरिक जीवन विताउनेहरुको चित्रण मज्जाले कथाहरुले गरेका छन ।
यसो हेर्दा हङकङलाई पृष्ठभूमि बाँधिएर लेखिएजस्तो लाग्छ । नारीपात्रहरुको प्रधानता कथाका विशेषता लाग्छ । कथामा मानवीय संवेदना पुरापुर झल्केको छ । समसामयिक चेत,बिम्ब र काव्यात्मकताको अनुभूति गराउन सक्षम,सरल र सुस्वादु भाषाले कथामा प्राण भरेका छन् । पात्र,परिवेश र प्रवृत्तिको त्रिवेणी लाग्छ कथासङ्ग्रह ।
लाइ- सी लाई सांङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।








