
भर्चुअल लभ
शुकदेव उपाध्यायको अलौकिक प्रेम कथामा आधारित उपन्यास हो भर्चुअल लभ । जुन महिला र पुरुषबीचको प्रेम प्रणयसँग सम्बन्धित छ । उपन्यासका पात्र र परिवेशह्रुको सजीवता नै उपन्यासको विशेषता हो । सरल भाषाले उपन्यासमा प्राण भरेको छ । रोचकताले भरिएको प्रेम कथाले पाठकको मन र ध्यान खिच्छ ।
उपन्यासको कथानकता नै बाल्यकालदेखि युवाअवस्थासम्म समिपमा रहेकाहरु तर वयस्क अबस्थामा विभिन्न कारणवस टाढिएका एक जोडी नारी पुरुषबीचको प्रेमिल सम्बन्धमा आधारित रहेको छ । विना स्वार्थ,विना वासना पवित्र प्रेम गर्छन् उनीहरु एक अर्कालाई । भौतिक रुपमा टाढा छन् र पनि विभिन्न माध्यमबाट नजिक भएर जोडिएका छन् उपन्यासका नायक जीवु र नायिका शानु । मीठो लाग्छ प्रस्तुति । कतैकतै भने अपत्यारिलो देखिने जस्तो भान पर्छ । र पनि प्रेमलाई आदर्शमय देखाइएको छ। प्रेम प्राप्ति मात्र हैन् प्रेम त्याग पनि हो भन्ने भाव उपन्यासले अभिव्यक्त गर्छ ।
सरल भाषाशैली,रोचक रुपमा कथाको प्रस्तुतिमा पाठकले सहजता महसुस गर्नसक्छ ।
भर्चुअल लभलाई सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो ।
९६ गड्डी
उपन्यासकार प्रकाश तिवारी प्रयोगात्मक उपन्यासकार हुन् । उनी कुनैपनि विषयमा खोज र अन्वेषण गरेर लेख्न रुचाउँछन् । जहिले नि हाम्रो समाजमा व्याप्त भ्रष्टाचार,घूसखोरी,अनियमितता जस्ता विकृति र विसंगति उपर सशक्त ढंगले अक्षरको प्रहार गर्छन् । ९६ गड्डी पनि यस्तै विषयमा केन्द्रीत रहेर लेखिएको औपन्यासिक कृति हो । जसमा सदाचार नैतिकता र आदर्शच्यूत हुँदै गएको वर्तमान परिवेशको खोतलखातललाई कथानकता बनाई पाठक सामु पेश गरिएको छ । राजनीतिमा मात्र नभएर नेपालको कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचार कसरी झाँगिदो छ भन्ने कुराको चित्रण गर्न कृति सफल भएको छ । हरक्षेत्रमा गाँजेको भ्रष्टाचाररुपी महारोगलाई उपन्यासले औल्याएको छ । हिजोका विभिन्न राजनीतिक परिवर्तनमा अनेक हण्डर खाने पात्रहरु नै विचलनमा परेर भ्रष्ट भएको कुरा छ ।
सलल बगेको छ उपन्यास । सुन्दर र मीठो शैली छ । सरल भाषाले उपन्यासलाई थप पठनीय बनाएको छ ।
९६ गड्डी उपन्यासलाई पैरवी बुक हाउस प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
प्रेमाश्रु
हिजोको दशवर्षे माओवादीको शसस्त्र युद्ध र त्यसमा होमिएकी एक छापामार केटीको कहानी हो यो । यति मात्र नभएर यसले द्धन्द्धपछिको सामान्य जीवनमा पाएका दुख,पीडाहरुको नालीवेली हो । द्धन्दकालीन समयको सिंगो परिवेशको चित्रण गर्न उपन्यास सफल देखिएको छ । शिब प्रधानकृत यो उपन्यासमा नायिकाले जीवन जीउने क्रममा गरेका दुख र संघर्षका कथाको फेहरिस्त हो यो । यसमा देशको अवस्थाको कारण प्रवासिन बाध्य भएका आम नेपाली युवा युवतीले भोग्नुपरेका पीडाहरुलाई जस्ताको तस्तै जीवन्त रुपमा उतारिएको छ । यो वर्तमान परिवेशको यथार्थपरक उपन्यास हो ।
यसमा ऐतिहासिकता पनि जोडिएको छ । तत्कालिन विद्रोही माओवादी र राज्यपक्षबीचको सम्झौताको पनि यहाँ चर्चा गरिएको छ।
प्रेमाश्रु उपन्यासलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।






