
पुराना पुस्तक
कृति मंजुलका नयाँ कविताहरु
कवि : मंजुल
सम्पादक जगब चौहान
सशक्त विचार र सुन्दर कलाको समिश्रणले लेखिएका कविताहरु कलात्मक र सुन्दर हुन्छन् भन्ने भावना बोक्ने कवि हुन् मंजुल । प्रस्तुत कृति यस्ता भाव अभिव्यक्त गर्ने कविका सुन्दर ३५ थान कविताहरुको सुन्दर कवितामाला हो ।
विषयवस्तुमा विविधता,काब्यात्मक चमकता,बिम्ब र प्रतिकहरुको बेजोड संगम हो मंजुलका नयाँ कविताहरु । रुप विधानमाथि चढेर स्तरीय कविता लेख्नु उनको कवित्वको विशेषता हो । यसमा कविता ह्रदयले लेखिएका छन् । कविमनका अनेक भावना अभिव्यक्तिएका छन् कविताहरुमा । विं.सं २०४० सालदेखि २०४५ सालसम्म मंजुलले लेखेका कविताहरु यसमा छन् । मानवका अनुभूति र प्रकृतिका कविता यसमा छन् । विचार र शैलीको फ्यूजन लाग्छ कृति । कवि र जीवन बीचको सम्बन्धलाई कविताले प्रष्ट्याएका छन् । देशभक्तिको भाव प्रकट भएका कविता पनि छन् । परिवर्तनको भावमा आएका कविता पनि छन् । सुन्दर शब्दसंयोजन र प्रतीकात्मक अभिव्यक्तिको अनुपम उदाहरण बनेका छन् कविता । दाशर््निक चिन्तन,छोटा शब्दहरुमा गहिरा भाव र धारणा व्यक्त गर्न सकेका छन् । विसंगत जीवन विरुद्ध कवि बोलेको छ उसका कवितामा । सामाजिक र राजनीतिक विसंगतिहरु केलाएका कविता छन् । जीवनका भोगाईहरुलाई सुकोमल अभिव्यक्त गर्न कवि सिपालु छन् ।
मंजुलका नयाँ कविताहरुलाई पहिलो पटक वि.सं.२०४५ सालमा साहित्य सन्ध्या परिवारले प्रकाशनमा ल्याएको हो ।
कृति : जनताको साहित्य र साहित्यकार
कृतिकार :हरिबहादुर श्रेष्ठ
विधा : लेख
जनताको साहित्यबारे विशेषत लेखिएको कृति जनताको साहित्य र साहित्यकार हो । यसमा साहित्यको बारेमा चर्चा गरिएको छ । प्रगतिशीलताको कुरालाई स्पष्ट पारिएको छ । हामी आदर्शवादी हुने कि यथार्थवादी हुने भन्ने बारेमा लेखकका धारणाहरु सरल भाषाशैलीमा आएका छन् । राजनीतिबाट साहित्य बिमुख नहुने कुरामा लेखकले जोड दिएका छन् ।
यति मात्र नभएर सर्वसाधारणले पढ्ने पुस्तकको छनौट कसरी गर्ने भन्ने बारेमा पनि कृतिमा चर्चा गरिएको छ । जनताको साहित्यलाई जनताकै हितमा प्रयोग गर्नुपर्नेमा पनि लेखक प्रष्ट देखिएका छन् । कुनैपनि साहित्यको कलापक्ष जनहीतमा कति महत्वपूर्ण छ भन्ने जानकारी दिन समेत लेखक सफल देखिएका छन् ।
कृतिकार बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छे हुन् । उनको साहित्यिक उपनाम हो हरिबहादुर श्रेष्ठ ।
सर्वसाधारणले समेत पढ्ने र बुझ्ने गरी सरल भाषामा लेखिएको जनताको साहित्य र साहित्यकार कृतिलाई पहिलो पटक वि.सं.२०३२ सालमा जनताको साहित्य प्रकाशनले बजारमा ल्याएको हो ।
अर्धसत्य
विधा :उपन्यास
उपन्यासकार: इन्द्रकुमार श्रेष्ठ ‘सरित’
आख्यानको मुख्य विधा उपन्यास । श्रेष्ठको यो उपन्यासमा कथानकता अरु उपन्यासहरुको भन्दा पृथक देखिन्छ । मान्छेका अनेक आयाम र जीवनप्रतिका भोगाईलाई मनोविश्लेषणात्मक रुपमा उपन्यासमा उतारिएको छ । नायक प्रभातको वरिपरि उपन्यास घुमेको छ । उसका पीडा,छटपटी र अन्तद्र्धन्द्धलाई कथानकता दिएर चरित्र चित्रण गर्न पनि उपन्यासकार सफल देखिएका छन् । जीवनभर भौतारिरहने पात्र हो प्रभात । कुण्ठा,निराशा र विकृत मनस्थितिले उसमा घर गरेको छ । दुई श्रीमति हुँदापनि जहिले अतृप्त देखिएको मनोदशा बोकेर बाँचेको छ नायक । मनोवैज्ञानिक विश्लेषण गरेर पात्रहरु प्रति न्याय गरेको छ उपन्यासले ।
जीवनको जटिलतालाई उद्घाटन गरेको छ । सरल,रोचक भाषाशैलीले पाठकको ध्यान तान्नसक्छ । यो उनको पहिलो उपन्यास हो ।
अर्धसत्य उपन्यासलाई पहिलो पटक वि.सं.२०६३ मा विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो ।







