
काठमाडौं । चर्चित आख्यानकार रमेश विकलको स्मृति दिवसको अवसरमा साहित्यकार,कलाकार,समाजसेवी लगायतलाई सम्मान तथा पुरस्कार अर्पण गरि मनाइएको छ ।
आयोजक रमेश विकल साहित्यिक प्रतिष्ठान तथा गोकर्णेश्वर नगरपालिकाको सहआयोजनामा भएको उक्त कार्यक्रममा नृत्यशास्त्री भैरवबहादुर थापालाई रमेश विकल बाँगमय पुरस्कार,मासिक एकसय अभियानलाई रमेश विकल सुशीला समाजसेवा पुरस्कार,साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार,अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरियो ।
शनिबार आयोजित कार्यक्रममा रमेश विकल सुशीला संघर्षशील नारी पुरस्कार चिनीमाया माझी,कला संगीत पुरस्कार गायक तथा संगीतकार रामकृष्ण दुवाल,दर्शनाचार्य शोध सम्मान कमला रेग्मीलाई प्रदान गरियो ।
पुरस्कृत व्यक्तित्वहरुको बारेमा सिफारिस समितिका संयोजक महेन्द्र चालिसेले परिचय गराएका थिए ।
रमेश विकल स्मृति प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा संघीय साँसद सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विशिष्ठ अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल,पूर्व संविधान सभा सदस्य तथा प्रदेश मन्त्री रामेश्वर फुयाल,उपप्रमुख सान्नानी लामा रहेको कार्यक्रममा प्रतिष्ठानका महासचिव साहित्यकार विजय चालिसेले स्वागत मन्तब्य राखेका थिए ।




