
मुक्तकहरु
दिलिप कुमार तामांग
१.
देश बनाउन गएका तिमी, आफ्नै भुँडी भर्यौ तिमीले
शहीदको सपना खरानी बनाई आफ्नै हातले छर्यौ तिमीले
बेरोजगारी गरीबी र महङ्गीले देश तहसनहस हुँदा पनि
देश, जनता बन्धक बनाई तिनकै खुशी हर्यौ तिमीले ।
२.
खानु लाउनु छैन देशमा बेरोजगारी झनै बढेको छ
उखान टुक्केले दिनदिनै लाखौं जनतालाई छलेको छ
घरमै ग्याँस, पानी, रेल हावा गफ पनि कति हो कति
अन्धो बहिरोले चलाए देश, जनता भोकले मरेको छ ।
३.
भत्ता र सुविधाको लागि राजनीति गर्ने मात्रै भेटियो
देशरजनताको मतलब छैन माटो, पानी बेच्नेुनि देखियो
जनतालाई रोजगारी सुविधा छैन, आफू सत्तामै रमाए
तुइन हटाई पुल बनाएनन्, यिनका बुद्धि पैसाले छेकियो ।
४.
साँढेले ओगटेजस्तो के ओगट्छौ कुर्सी अब
न देशका जनता खुशी छन् के लाउँछौ फुर्ती अब
छोड कुर्सी नलाऊ फुर्ती भ्यागुताको धार्नी पुगे पो
पत्रु भयौ, नलाऊ भो देश बनाउने घुर्की अब ।
५.
म भोकै बस्न सक्छु, लाखौंलाख जनताहरू भोको हुँदा
भ्रष्टहरूले खानु खाए, दुःख लाग्छ जनता भोकले रुँदा
नेता भएर सत्ता सुविधा खाइ देशलाई सधैं बोझ बन्यौ
आफू मरेर देश बचाउने जन्मेन कहिल्यै, दुख्छ माटो छुँदा ।








