
समीक्षा
हाम्रै समाजका विभिन्न समय र सम्बन्धका कथाहरुको सङग्रह : ग्याब्रियले
जुमन किरण
हरिश कल्पितद्वारा लिखित ग्याब्रियले २०७७ सालमा प्रकाशित कथासङ्ग्रह हो । यस सङ्ग्रहमा १३ वटा फरक फरक कथाहरू समावेश छन् । मोहजाल कथाबाट सुरु भएको कथाको सिलसिला एडमको प्रेममा आएर टुङ्गिन्छ । यी कथाहरुले मानवीय सम्बन्धको विविध पक्षहरूलाई उजागर गर्छन् । यस सङ्ग्रहमा प्रेम,विछोड,विवाह,इष्र्या,सन्तानका लागि छोरा नै चाहिन्छ भन्ने सामाजिक मानसिक मान्यता र यस सम्बन्धी विषयहरूलाई प्रस्तुत गरिएको छ । कथाहरूमा पात्रहरूको भावनात्मक द्वन्द्ध र समाजका यथार्थ चित्रणहरू पाइन्छन् ।
लेखककी माता श्रीमती प्रेमकुमारी सुवेदीले प्रकाशित गर्नुभएको ग्याब्रियले कथासङ्ग्रह अन्तरदेशीय समाजको प्रतिनिधि कथा पनि हो । यस सङ्ग्रहको छैठौँ कथाले नै मलाई निकै आकर्षित ग¥यो । कथा पढेपछि थाहा पाएँ ग्याब्रियलेको शाब्दिक अर्थ ईश्वर नै मेरो शक्ति हो भन्ने रहेछ ।
यस अघि हरिशको आस्था नामक कथासङ्ग्रह २०५७ सालमा प्रकाशित भएको थियो । यसैले यो अन्तर्राष्ट्रिय कथासङ्ग्रह भन्न सकिन्छ । लेखक जापानमा लामो समय बस्नुभएकोले पनि होला केही कथाहरूमा जापानी जीवनशैलीको झल्को पाइन्छ । त्यसैगरी जापानी भाषा शब्दहरूको पनि प्रयोग गरिएको पाइन्छ । जसले थोरै भए पनि जापानी जीवनशैली बुझ्ने मौका पनि पाइनछ । कथासङ्ग्रहभित्र सम्बन्धहरू असाध्यै स्वार्थी र पैसामुखी बनिरहेको छ । मान्छेहरु देश देशावर घुमिरहेछन् । त्यसैले सम्बन्धहरू खै कोसँग गाँसिन्छ अत्तोपत्तो हुन्न । काम, पैसा, मनोरञ्जन काखी च्यापेर मान्छेले सम्बन्धहरूलाई नयाँ नयाँ परिभाषामा सङ्कुचित पारिरहेछन् भन्ने भाव प्रस्तुत गरिएको छ ।
यसमा १३ कथाहरु छन् ।
मोहभंग कथामा भाउजुले छोरोको दर्जा दिएकी भाउजु जब देवरको विवाह हुन्छ, त्यसपछि उनमा आएका दुखान्त दुर्दिनका विवरण छन् । भोगाइका तीता सन्दर्भहरु छन् । विहे कथा स्वास्थ्यसँग जोडिएको छ । जहाँ विदेशबाट पढेर फर्कको केटासँग विवाहको कुराले पुलकित बनेकी अमिना आफ्नो हुनेवाला दुलाहालाई एड्स जस्तो प्राणघातक रोग लागेको सुनेर उसमा आएका मनोदशाहरु चित्रण गरिएको छ । यसले हामीलाई सन्देश पनि प्रवाह गरेको छ ।
अर्काे कथा पुष्पलता क्यान्सर पीडित पात्रको कथा हो । गजब लाग्छ ज्यान लिने यस्तो रोग लागेको थाहा पाएर पनि आफ्नाको खुशीको लागि उसले आफुलाई सम्हालेर ब्यवहार प्रदर्शन गरेको यसमा देखाइएको छ । यो पुष्पलता र अनुराग पात्रहरुको बीचको वियोगान्तक लाग्ने कथा हो ।
मोहजाल कथामा प्रेमको साँग्लोमा बाँधिएको मान्छे अकस्मात एक्लै जिउन बाध्य हुँदा कस्तो मनोदशाको शिकार हुन्छ, उसका मनभित्र खेल्ने पीडा कति दर्दनाक र कहालीलाग्दा हुन्छन् भन्ने कुरालाई कथाकारले मज्जैले देखाएका छन् । मोहजाल कथा मान्छेका आफ्ना पुर्खा र नाताका विदेशिएका,घर छाडेका सम्बन्धको निकटहरुको कथा भन्न खोजिएको छ । हाम्रो समाजको वर्तमान यथार्थलाई मेल खाने कथा हो यो ।
प्रेमी प्रेमिका बीचको आत्मिक बन्धन कति प्रिय हुन्छ ,मान्छेका सम्बन्धका मायावी आयाम कति निकट हुन्छ भन्ने कुराको अनुभूति गराउँने प्रेम कथा हो उहाँ आउनु भो मम्मी? । यसमा प्रेमी दुर्घटनामा परेर मृत्यू हुँदा विक्षिप्त बनेकी गृष्माको मेन्टल समस्यामा परेको निक्कै दर्दनाक वियोगान्तक कथा छ ।
मलाई कोही मन पर्छ तर उसलाई म मन पर्देन् त्यस्तै उसलाई अरु कसैले मन पराउँछ । अर्थात त्रिपक्षीय मायाप्रिति गजवको कथा हो बधाई छ देवयानी । आफ्नै शिक्षकले दिदीसँग विवाह गर्छन् ,तर वियोगान्तक रुपमा कृष्णसर मर्छन् । यसैलाई कथाको मूल विषय बनाइएको छ दुई बर्गहरुको बीचको नाता जोडिएको कथा सृजना गरिएको छ कृष्णसरमा ।
हाम्रो समाजले लिँगको आधारमा छोरा र छोरीलाई गर्ने व्यवहारको साक्षी कथा हो मेरी प्यारी छोरी । हाम्रामा चलेको छोरा नै चाहिन्छ भन्ने पुरातन मान्यता छ । यही मान्यताको आधारमा गर्भवती अबस्थामा भिडियो एक्सरे गर्ने र छोरा भए राख्ने छोरी भए एभोर्सन गर्ने पनि यदाकदा गरिन्छ । यही कथानकता पनि यस कथामा छ । कथा संयोगान्तक बनेर सकिन्छ । आमाले जे भएपनि जन्माउने अठोट गरेर कथा संयोगान्तक बनेर सकिन्छ ।
यसैगरी शिर्षक कथा ग्राबियले दुई देशका प्रेमी प्रेमिका बिचको अन्तरदेशीय सम्बन्धको मीठो कथा हो । यो जापानिज नाम हो । जापानी केटी र यूरोपेली केटाबीच प्रेमसम्बन्ध झाँगिएसँगै विवाह हुन्छ । तर पछि उनीहरुको सम्बन्धमा टकराव आउँछ । अवरोध छाउँछ । यस कथामा धनसम्पत्ति गौण हुने परिवार र सम्बन्ध महत्वपूर्ण हुने कुरा दर्शाउन खोजिएको भान पर्छ ।
यस्तै यस्तै भावभंगीमा पारिवारिक,प्रेम सम्बन्ध,नाता,प्रेमीप्रेमिका लगायतका मानव जीवनका विभिन्न सम्बन्धका आयामहरुमा कथाहरु लेखिएका छन् । अन्तरदेशीय केही कथाहरु पनि समावेश भएका छन् । यसमा मानवीय मूल्य र मान्यतामा ह्रास आउँदा झेल्नुपर्ने संकटका कथा पनि छन् ।
हरिशजीको लेखनशैली सरल छ । त्यसैले गरुङ्गा शब्दहरूको भागले कथालाई सिँगारिएको छैन । यो कथाहरुको सवल पक्ष हो ।उनका कथाहरु परम्परागत शैलीमा व्यक्तिएका छन् । मायाप्रेमलाई झण्डै सबैजसो कथाहरुमा जोडिएको छ । कथाहरु यथार्थको सन्निकट देखिएका छन् । आफ्नै वरिपरिका विषयवस्तु कथाहरुका विशेषता लाग्छन् ।
तर पनि कथामा बिम्बहरु कम देखिन्छन् । व्याकरणीय केही त्रुटीहरु पनि रहेका छन् । यदाकदा कथाकार चिप्लिएका झै लाग्छ । कथाहरूमा नयाँपनको कमी पक्कै महसुस भएकै हो ।पात्रहरुको नामकरणमा समेत अलिक ख्याल गर्न पर्ने देखिएको छ । तर समग्रमा यो कथाले समाजका यथार्थलाई गहिरो ढंगले बोकेको प्रस्तुत गरिएको छ । कथाको कथानकता टिप्ने उनको शैली रामे छ र प्रस्तुति सकारात्मक छ । भन्न सकिन्छ निक्कै सम्भावना बोकेका कथाकार हुन् हरिश ।








