
मुसा
गोपीराम भण्डारी
फोनको घन्टी उठाउँदै संयोगले भन्यो ‘सर नमस्कार हजुर।’ फोनको आवाज संयोगले मात्र सुन्यो। उसले प्रति उत्तरमा सर, सर भनिरहेको थियो। संवादको अन्त्यमा भन्यो ‘सर म नजान पाए हुन्थ्यो ।’ फोन काटियो।
संयोग कार्यालयमा आएको एकमहिना बितेका थियो। कामको मूल्याङ्कन जनमानसमा राम्रै थियो । सबैतिरबाट प्रशंसा बटुलेको असल कामले नै उसलाई आँखाको कसिङ्गर बनाउछ भन्ने अनुमान नै लगाइएको थिएन ।
बेलुका हाकिमले आफ्नो कार्य कक्षमा बोलाए र भने ‘तपाईंले मलाई सहयोग गर्नुपर्यो।’
सधै सहयोग गरिरहेको संयोगले उत्तरमा भन्यो ‘भइहाल्छ नि ! सर के सहयोग गरौं ?’
हाकिमले भने ‘हेर्नुस् न ग्रामीण कार्यालयबाट धेरै गुनासाहरु आएका छन् । तपाईं राम्रो मान्छे त्यहाँ गएर सम्हालिदिनु पर्यो।’
संयोग छागाबाट खसे जस्तै भयो। ऊसँग जिल्ला हाँक्ने सामर्थ थियो तर सामान्य कर्मचारीले गर्ने कामका लागि दरबन्दी रहुन्जेल थन्किदिनुपर्ने आदेश आयो । उसले गाडीमा फोनमा कसैसँग कुरा गरेको प्रसङ्ग स्मरण गर्यो। ‘प्रयोग गर्ने अनि लात हान्ने त हो।’ उसलाई लागेको थिएन त्यो लात आफैमाथि पर्नेछ।
संयोगले अनुरोध गर्यो ‘सर मलाई सुहाउँदो ठाउँतिर पठाइदिस्यो न, जहाँ समान पदका कर्मचारीको सरुवा भई खाली पनि छ।’
हाकिम रिसाएर भने ‘तपाईँले भनेको जस्तो हुन्छ ?’ संयोगले नम्रताकासाथ भन्यो ‘श्रीमान शून्य सहनशीलतामा काम गर्न नपाइने हो र ?’
हाकिमले भने ‘तपाईं चुप लाग्नुहोस, दरबन्दी बनाउन कति पापड पेलिएको छ तपाईँलाई के थाहा ? हाकिम हुनुस् अनि थाहा हुन्छ। अहिले खुरुक्क आदेशको पालना गर्नुस्। बिरालो होइन, मुसा हुनुस् ।’
संयोग अध्यारो मुख लगाएर बाहिरियो।






