लब खड्का
१.
झार हुनु भन्दा साग हुनु जाति कि कसो
सर्प हुनु भन्दा नाग हुनु जाति कि कसो !
जीवन बिती हाल्छ कालले जिती हाल्छ
रूवाइ हुनु भन्दा राग हुनु जाति कि कसो ।
२.
बालाले रेट्न सक्छ चुराले रेट्न सक्छ
खुकुरीले रेट्न सक्छ छुराले रेट्न सक्छ
प्रतिकार नगर्नुको अर्थ पिडा नहुनु पक्कै हैन
ब्यवहारले रेट्न सक्छ कुराले रेट्न सक्छ ।
३.
नखोज हुलचाल जनले पोल्न सक्छ
कमाए कुकर्मले धनले पोल्न सक्छ
संसार ढाट्ने भ्रममा आफुलाई नढाट्
एक दिन आफ्नै मनले पोल्न सक्छ ।
४.
देख्दा शासकको क्रूरता देश रन लाग्छ मलाई
देशद्रोही छानेर गोली ठोक्न मन लाग्छ मलाई
दैनिक विदेशीय पछि युवा निराश देखेर वृध्दा
आजकल गाँउ वस्ति सहर निर्जन लाग्छ मलाई ।
५.
सागर सुकाउने उदेश्य थियो नि सकिएन
पहाड झुकाउने उदेश्य थियो नि सकिएन
मनका हरेक इच्छा कहाँ पूर्ण हुँदो रैछ र खै
पीर लुकाउने उदेश्य थियो नि सकिएन।