काठमाडौं । संघीय संसद्अन्तर्गत आज १ बजे बस्ने प्रतिनिधिसभा बैठक सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस हुने भएको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
रा स्व पा नेता रवि लामिछाने माथि अत्यधिक सरोेकार रहेको समितिको प्रतिवेदनमा उनलाई दोषी औंल्याइन्छ कि औंल्याइँदैन भन्ने सर्वाधिक चासोको विषय रहेको समितिका एक सदस्यका अनुसार प्रतिवेदनमा सर्वसाधारणको बचत दुरुपयोग गर्ने सबैलाई दागी बनाइएको छ ।
यस्तै, आजको बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने छ भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।








