
लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)अदालतमा पुगेर आत्मसर्मपण गरेका छन्।
रुकुम जिल्ला अदालत पुगेर केसीले आइतबार दिउँसो आत्मसमर्पण गरेका हुन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले सांसद केसी अदालतमा उपस्थित भएको जानकारी दिएका छन् ।
तका अनुसार प्रहरीले केसीलाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले रूकुम पूर्व ल्याएको थियो। तर प्रहरीले केसी आफै अदालतमा उपस्थित भएको दाबी गरेको छ।
३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको भएपनि उनले सजाय भुक्तान गरेका थिएनन्।
गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित भएका थिए।








