काठमाडौं । प्रतिनिधिसभाका सदस्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनको प्रक्रिया अघि बढेको बताइएको छ ।
आइतबार कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बनको प्रक्रिया अघि बढाइएको हो ।
त्यसका लागि आइतबार साँझ कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारी संसद् सचिवालयलाई पठाएको हो ।
सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुने प्रावधान रहेको छ । उक्त दफाले भन्छ-“प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ।”





