
धूलिखेल,काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसियसनको ४५ औं वार्षिक साधारण सभा तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेको धूलिखेलमा नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले बार र बेञ्चको सम्बन्धको बारेमा चर्चा गरे।
प्रमुख अतिथि घिमिरेले बार बेञ्चविचको तिक्तता रही आएको बताउँदै आफुहरुले गएर कहिल्यै न्यायाधिश नमागेको बताए ।
“बारको अपमान भएको ठाउँमा बारको अध्यक्ष नबस्ने “भन्दै उनले अगाडि भने -“जबरजस्ती बारको अध्यक्ष विरुद्द प्रतिवेदन खडा गरेर मुद्धा लगाइयो । बेञ्चको गलत प्रवृत्तिको विरुद्ध जहिले पनि बारले आवाज उठाइरहन्छ ।” उनले काभ्रे बारको ४५ औं साधारण सभाको उद्घाटन गर्दै त्यस्तो कुरा व्यक्त गरेका हुन्।
“म न्यायिक प्रणाली सुद्धिकरणको अभियानमा जेलमा बस्न तयार छु । तर गलत कुरा विरुद्ध सम्झौता गर्दिन् । गलत कुराको विरुद्ध हामीले सधैं आवाज वुलन्द गरिरहनुपर्छ । बारको नेतृत्व कमजोर हुँदा लोकतन्त्र पनि कमजोर हुने हुँदा आफुले विधिको शासन विरुद्द कहिल्यै सम्झौता गर्दिन् ।” अध्यक्ष घिमिरेको जोड थियो ।
नेपाल बारको अध्यक्षमाथि लागेको अबहेलनाको मुद्दा बारे जानकारी दिंदै बार महासचिव अञ्जिता खनालले बार र बेञ्चको सुद्धिकरण आफुहरुको प्रयास भएको बताइन् । बे्ञ्च पनि आफ्नो मर्यादामा बस्नुपर्ने उनको जोड थियो ।
“पदले मान्छेलाई फरक भूमिकामा उभ्याउँछ । तर सेवाग्राहीले सजिलो न्याय पाउनुपर्दछ । संविधानको माताहत र व्यवस्थामा सबै चल्नु पर्दछ । वर्तमानमा संविधान धेरै ठाउँमा मिचिएको छ ।” भन्दै बारका पूर्वमहासचिव वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधिश मात्रै ठीक हुँदा पनि असी प्रतिशत समस्या समाधान हुने बताए ।

काभ्रे जिल्ला अदालतका न्यायाधीश माननीय प्रेमप्रसाद न्यौपानेले “समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्नेमा सबैको ध्यान जानु आवश्यक रहेको बताए । उनले सामिप्यताले विवाद हुने भन्दै बार र बेञ्चबीच रगत र मुटुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिए । अदालत सक्षम हुन बार सवल हुनुपर्छ ।” उनले अगाडि भने ।
उच्च अदालत पाटन बारका अध्यक्ष अधिवक्ता विदुर ढुँगाना,काठमाडौं जिल्ला बार उपाध्यक्ष अधिवक्ता पुरुषोत्तम अधिकारी, ललितपूर बार अध्यक्ष बरिष्ठ अधिवक्ता राम श्रेष्ठ,विशेष अदालत बार अध्यक्ष अधिवक्ता टिका बहादुर कुँवर,निवर्तमान बागमति प्रदेश मुख्य न्यायाधिवक्ता अधिवक्ता ज्ञानेन्द्र नेपाल,वरिष्ठ अधिवक्ता शिव प्रसाद सिग्देल,काभ्रे बारका संस्थापक सदस्य अधिवक्ता विष्णुप्रसाद पाण्डे,काभ्रे जिल्ला सरकारी वकिल कृष्णा भण्डारी,अधिवक्ता डेकेन्द्र सुवेदी,पूर्व काभ्रे बारका अध्यक्ष अधिवक्ता रमेश हुमागाईँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त साधारण सभाको बन्द शत्रमा कोषाध्यक्ष नारायणध्वज तामाँगले पेश गरेको आर्थिक प्रतिवेदन तथा अध्यक्ष विष्णुप्रसाद सापकोटाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पारित भएको थियो ।

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्ण सापकोटाले सपथ गराएका थिए । प्रमुख अतिथि नेपाल बारका अध्यक्ष गोपाल कृष्ष्ण घिमिरे र संयोजक सापकोटाले खादा तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नव निर्वाचित कार्यसमितिलाई सबैको तर्फबाट अधिवक्ता डा. मुकुन्द अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने नव निर्वाचित कार्यसमितिको तर्फबाट अध्यक्ष अधिवक्ता हरिशरण दाहालले प्रतिवद्धता मन्तब्य राखेका थिए । यसैगरी आयोजकको तर्फबाट सभाध्यक्ष सापकोटाले प्रमुख अतिथि र विशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

अधिवक्ता तथा काभ्रे बारका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभा अधिवक्ता प्रदीप सापकोटाको सञ्चालनमा भएको थियो । कार्यक्रममा अधिवक्ता विजयभक्त श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा माननीय जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्य,जिल्ला अदालतका स्रेस्तेदार कर्ण बहादुर राई,तहसिलदार कविता दाहाल,बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल,उपत्यका बारका पदाधिकारी एवं पूर्वपदाधिकारी लगायतको उपस्थिति थियो ।






